काठमाडौँ — डीएनए परीक्षणमार्फत कुनै पनि व्यक्तिको पुर्ख्यौली इतिहास र वंशाणुगत स्वास्थ्यबारे पत्ता लगाउन मद्दत गर्ने एक अमेरिकी कम्पनी टाट पल्टिएसँगै लाखौं प्रयोगकर्ताहरूले आफ्ना आनुवांशिक डेटा कम्पनीको प्रणालीबाट हटाउन कसरत गरिरहेका छन् । करिब १ करोड ५० लाख मानिसको डीएनए विवरण संकलन गरिसकेको ‘ट्वान्टी थ्री एन्ड मी’ नामक प्रख्यात बायोटेक कम्पनीले यो साता ब्यांकरप्सी संरक्षणका लागि संघीय अदालतमा निवेदन दर्ता गरेको छ ।
लामो समयदेखि चलिरहेको आर्थिक संकटपछि कम्पनीले गत मार्च २४ मा युनाइटेड स्टेट्स कोडअन्तर्गत च्याप्टर ११ को ब्यांकरप्सीसम्बन्धी निवेदन संघीय अदालतमा दर्ता गरेको हो । च्याप्टर ११ ब्यांकरप्सीसम्बन्धी प्रावधानले कुनै पनि कम्पनी, व्यवसाय वा व्यक्तिलाई ऋण पुन: संरचना गर्ने मौका प्रदान गरेको छ । यसको उद्देश्य कम्पनीलाई पूर्ण रूपमा बन्द नगरी आर्थिक रूपमा पुनः स्थापनाको अवसर प्रदान गर्नु हो ।
ब्यांकरप्सी दर्ता भएसँगै कम्पनीकी प्रमुख कार्यकारी अधिकृत एनी वोज्स्कीले राजीनामा दिएकी छन् भने कम्पनीले ४० प्रतिशत कर्मचारी कटौती गरिसकेको छ । कुनै बेला साढे ३ अर्ब डलर बजार मूल्यांकन भएको यो कम्पनीलाई १.१ करोड डलरमा खरिद गर्ने प्रस्ताव आएका थिए । तर, सञ्चालक समितिले यस्ता आकर्षक खरिद प्रस्ताव त्यसबेला अस्वीकार गरेको थियो । हाल कम्पनीको भविष्य नै अनिश्चित बनेको छ ।
विगतमा ट्वान्टी थ्री एन्ड मीको सेवा लिएका लाखौं ग्राहक आफ्नो जिनेटिक डेटा (आनुवंशिक विवरण) को सुरक्षाबारे चिन्तित छन् । सन् २०२३ मा कम्पनीको वेबसाइट ह्याक भएर डेटा लिक भएपछि ६९ लाख ग्राहकको अतिवैयक्तिक विवरण बाहिरिएको थियो । उक्त घटनासम्बन्धी मुद्दामा कम्पनीले ३ करोड डलर जरिवाना तिर्नुपरेको थियो ।
ब्यांकरप्सी प्रक्रिया अघि बढेमा यो कम्पनी बिक्रीका लागि राखिनेछ । यसको अर्थ कम्पनीको डेटासेट सबैभन्दा बढी बोली लगाउनेले खरिद गर्नेछन् । यसरी आफ्ना आनुवंशिक विवरण बिक्रीमा राखिन लागेको भन्दै प्रयोगकर्ताहरू आत्तिएर आफ्ना विवरण डिलिट गरिदिन कम्पनीलाई अनुरोध गरिरहेको सीएनबीसीको समाचारमा उल्लेख छ ।
‘अनलाइन ट्राफिक विश्लेषण गर्ने सिमिलर वेबका अनुसार कम्पनीले ब्यांकरप्सी घोषणा गरेको दिन १५ लाख प्रयोगकर्ताले कम्पनीको वेबसाइट भिजिट गरेका थिए,’ सीएनबीसीले लेखेको छ, ‘यो भनेको अघिल्लो दिनको तुलनामा ५२६ प्रतिशतले बढी हो । हेल्प पेजमा रहेको डेटा डिलिट गर्नेसम्बन्धी जानकारीमा मात्रै करिब ४ लाख भिजिट देखिएको थियो ।’
क्यालिफोर्नियाका महान्यायाधिवक्ता रब बोन्टाले समेत ट्वान्टी थ्री एन्ड मीका ग्राहकरूलाई सतर्क रहन विज्ञप्ति जारी गरेका छन् । उनले आनुवांशिक जानकारी गोपनीयता ऐन र क्यालिफोर्निया उपभोक्ता गोपनीयता ऐनअन्तर्गत उपभोक्तालाई आफ्ना आनुवांशिक डेटा मेटाउने अधिकार रहेको स्मरणसमेत गराएका छन् । प्रयोगकर्ताले कम्पनीको वेबसाइटमा गएर आफ्ना डेटा डिलिट गर्ने तरिकाबारे बोन्टाले क्यालिफोर्निया महान्यायाधिवक्ताको वेबसाइटमा राखेका छन् ।
सन् २००६ मा स्थापना भएको ट्वान्टी थ्री एन्ड मीले उपभोक्तालाई अनुवांशिक विवरणका आधारमा आफ्ना पुर्खा वा वंश खोजी गर्ने उपाय उपलब्ध गराउँदै आएको थियो । यसमा उपभोक्ताले कम्पनीको वेबसाइटमा गएर आफ्नो एकाउन्ट क्रिएट गरेर ‘डीएनए टेस्टिङ किट’ खरिद गर्नुपर्थ्यो । सो किट उपलब्ध भएपछि त्यसभित्र रहेको ट्युबमा र्याल वा थुक जम्मा गरेर कम्पनीको ल्याबमा पठाउनुपर्थ्यो । ल्याबमा र्यालबाट डीएनए पत्ता लगाइन्थ्यो ।
डीएनए थाहा भएपछि कम्पनीले ‘जिनोटाइपिङ’ विधिमार्फत ग्राहकको समग्र जिनोमभित्रका ‘जेनेटिक भेरियन्ट’ विश्लेषण गरेर ४ देखि ६ सातामा रिपोर्ट उपलब्ध गराउने गरेको थियो । जिनोटाइपिङ प्रक्रियाका लागि कम्पनीले माइक्रोएरे चिप प्रयोग गर्ने गरेको वेबसाइटमा भनिएको छ । सो चिपले एकै समयमा धेरै आनुवांशिक भिन्नताको विश्लेषण गर्न सक्ने उल्लेख छ ।
यसरी जिनोटाइपिङबाट पत्ता लागेका अतिव्यक्तिगत विवरणलाई कम्पनीले सहजै बुझिने गरी भिजियोलाइजेसन र इन्टर्याक्टिभ फर्म्याटमा ट्वान्टी थ्री एन्ड मीको एकाउन्टमा राख्ने गरेको छ । रिपोर्टमा पुर्खाहरूको संरचना, मातृ र पितृत्वको हाप्लोग्रुप (एकै पुर्खा भएका समूह) सँगै निएन्ड्रथल वंशका विभिन्न पक्षबारे जानकारी समावेश गरिन्छ । योसँगै व्यक्तिको आनुवांशिक स्वास्थ्य जोखिम, शरीरमा वंशाणुगत रोगको अवस्था र सम्भावनाबारे पनि जानकारी दिने कम्पनीको दाबी छ ।
वंशज इतिहासभन्दा स्वास्थ्य अवस्थाबारे बढी केन्द्रित रहेको र बिमा तथा स्वास्थ्य संस्थासँग मिलेर ग्राहकलाई सेवा लिन प्रेरित गरेको भन्दै पछिल्लो समय यो कम्पनीको आलोचना हुने गरेको थियो । आनुवांशिक डेटाहरू स्वास्थ्य सेवा उद्योगमा प्रयोग गर्न पाइन्छ कि पाइँदैन भन्ने प्रश्न उठेसँगै कम्पनीका किट खरिद गर्नेको संख्या घटेको थियो । साथै, सन् २०२३ को डेटा लिकको घटनाले पनि ट्वान्टी थ्री एन्ड मीको प्रतिष्ठामा धक्का पुगेको थियो । आनुवंशिक परीक्षण किटको मागमा कमी आएसँगै कम्पनीको आम्दानी खस्किएको थियो । साथै, शेयर मूल्यमा भारी गिरावट लगायत कारणले पनि कम्पनी हाल टाट पल्टिने अवस्थामा आइपुगेको सीएनएनको विश्लेषणात्मक समाचारमा उल्लेख छ ।
‘आर्थिक संटकपछि सम्पत्ति बिक्री गर्नुपर्ने अवस्थामा आइपुगेका जिनेटिक टेस्टिङ कम्पनीहरू यो मात्रै एक्लो वा पहिलो होइन,’ सीएनएनले लेखेको छ, ‘यसअघि सन् २०२० मा ब्ल्याकस्टोन नामक प्राइभेट इक्विटी फर्मले एनसेस्ट्री डटकम अधिग्रहण गरेको थियो ।' न्यु योर्क विश्वविद्यालयको स्टर्न स्कुल अफ बिजनेसका प्राध्यापक बसन्त धारले सीएनएनसँग कुराकानीमा जिनेटिक डेटाको म्याद नगुज्रिने भएकाले यस्ता विवरण जहिलेसुकै दुरुपयोग हुन सक्ने जोखिमबारे औंल्याएका छन् ।
'जिनेटिक डेटा विज्ञापन बजारमा बिक्री भएमा प्रयोगकर्तालाई आफूबारे थाहै नभएको आफ्नै स्वास्थ लक्षणबारे विज्ञापन आउन सक्छ,’ प्राध्यापक धारले थप भनेका छन्, ‘आनुवांशिक विवरण संकलन गर्नेहरूलाई तपाईंबारे अथाह जानकारी हुन्छ, त्यो उनीहरूले दुरुपयोग गर्न सक्छन् ।’
