जिब्ली शैलीका इमेजले ओपेनएआईको जीपीयू नै पग्लिन थाले !

मियाजाकी हायाओ भन्छन्- एआईबाट बनेका चित्र जीवनमाथिकै अपमान हो ।

चैत्र १८, २०८१

कान्तिपुर संवाददाता

Ghibli-style images began to melt OpenAI's GPU!

काठमाडौँ — अहिले जिब्ली शैलीको एआई इमेज सामाजिक सञ्जालभर ट्रेन्डिङमा छन् । तपाईंहरूले पनि च्याटजीपीटीबाट आफ्ना र प्रियजनसँगका तस्बिरलाई जिब्ली स्टाइल इमेजमा पक्कै कन्टर्भ गरिसक्नुभयो । विश्वभर यस्ता इमेज जेनेरेट गरिमाग्नेको संख्या असाध्यै बढेपछि च्याटजीपीटीले केही समयका लागि यसमा रोक लगाउनुपर्ने स्थिति आएको थियो ।

च्याटजीपीटी निर्माता ओपेनएआईका प्रमुख साम अल्टम्यानले अस्थायी प्रतिबन्ध लगाएको विषयमा एक्समा लेखेका थिए । ‘मानिसहरूले च्याटजीपीटमा चित्र बनाएको देख्दा रमाइलो लागिरहेको छ तर हाम्रा जीपीयू (ग्राफिक प्रोसेसिङ युनिट) पग्नि थालिसके,’ अल्टम्यानले लेखेका थिए, ‘यसलाई थप प्रभावकारी बनाउन अहिलेलाई हामी अस्थायी रूपमा सिमित संख्यामा मात्रै जिब्ली स्टाइल इमेज बनाउन जाँदै छौँ । चाँडै नै यस्तो सीमितता हटाएर प्रभावकारी बनाउने आशा गरेका छौँ । च्याटजीपीटमा दिनको तीनवटा मात्रै यस्तै इमेज जेनेरेट गर्न सकिने बनाउँछौँ ।’  

अल्टम्यान आफैंले पनि एक्सको प्रोफाइलमा जिब्ली शैलीको आफ्नो इमेज राखेका छन्  ओपेनएआईले गत मंगलबार उच्च गुणस्तरको इमेज जेनेरेटर टुलका रूपमा च्याटजीपीटीभित्र यस्तो सुविधा थपेको थियो । यसले एनिमेटेड, वाटरकलर र एक्रिलिक शैलीका चित्र बनाइदिन्छ । इन्टरनेटमा यस्ता चित्र भाइरल भएपछि जापानी एनिमेसन कम्पनी ‘स्टुडियो जिब्ली’ले प्रतिलिपि अधिकारसम्बन्धी चिन्ता जाहेर गर्ने अनुमान गरिएको छ । 

स्टुडियो जिब्लीका संस्थापकमध्ये एक वरिष्ठ एनिमे निर्देशक मियाजाकी हायाओले एउटा पुरानो भिडियोमा एआईबाट बनेका चित्रलाई ‘जीवनमाथिकै अपमान’ भन्ने अभिव्यक्ति दिएका थिए । उनको त्यो भिडियो पनि अहिले सामाजिक सञ्जालमा चर्चित बनेको छ । त्यसमा उनले मानिसका भावना एआईले कहिले पनि बुझ्न नसक्ने धारणा राखेका छन् । 

कान्तिपुर

Link copied successfully