सिग्नल एपको प्रयोगबारे गम्भीरतापूर्वक समीक्षा गर्ने ट्रम्पको प्रतिक्रिया
काठमाडौँ — अमेरिकाको सिकागोमा प्रधान कार्यालय रहेको म्यासेजिङ एप ‘सिग्नल’मा भएको एक कुराकानीले हाल वासिङ्टन डीसीमा खैलाबैला मच्चाएको छ । 'द एटलान्टिक' पत्रिकाका प्रधान सम्पादक जेफ्री गोल्डबर्गले उच्च पदस्थ अमेरिकीहरूको सिग्नल च्याट ग्रुपमा आफू झुक्किएर जोडिन पुगेको र त्यसमा आफूले के थाहा पाएँ भन्नेबारे खुलासा गरिदिपछि त्यसले हलचल मच्चाएको हो ।
अमेरिकी उपराष्ट्रपति जेडी भान्स, रक्षामन्त्री पिट हेगसेथलगायत १७ जना उच्च अमेरिकी अधिकारीहरू जोडिएको उक्त ग्रुपलाई 'हुथी पीसी स्मल ग्रुप' नाम दिइएको थियो । त्यसमा अति गोप्य अमेरिका-यमन युद्धसँग सम्बन्धित योजनाहरूबारे छलफल भएको थियो । सो च्याट ग्रुपमा पत्रकार गोल्डबर्गलाई भुलबस ‘एड’ गरिएपछि के-के भयो भन्नेबारे रोचक विवरणहरू सार्वजनिक गरेका छन् ।
आफूले सुरूमा सो ग्रुपको सत्यतामा शंका गरेर पत्याउन नसकेको तर त्यहाँ छलफल भएका कुराहरु मिल्दै गएपछि आइतबारसम्म कुनै प्रतिक्रिया नदिइ ग्रुपबाट बाहिरिएको गोल्डबर्गले द एटलान्टिकमा लेखेका छन् । सो लेखले अमेरिकी उच्च पदस्थ व्यक्तिहरू एउटा सामान्य म्यासेजिङ एपमा यो तहको अतिगोप्य सूचना किन आदान-प्रदान गरिरहेका थिए भन्ने प्रश्न उब्जाएको छ ।
अति गोप्य र अनुसन्धानात्मक निकायका व्यक्तिहरूसँगै सैन्य मामिलाका कतिपय विषय सेन्सर गरिएको भए पनि च्याटका विवरणहरू बाहिर आउँदै गर्दा यो घटनाले आधुनिक सञ्चार उपकरणहरू र राष्ट्रिय सुरक्षाबीचको संवेदनशील सन्तुलन र जोखिम उजागर गरिदिएको विश्लेषण भइरहेका छन् । अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ताले एटलान्टिकको लेखमा संलग्न च्याट कुराकानी सत्य भएको पुष्टि गरेका थिए । यसपछि अमेरिकी संसद्मा समेत यस विषयलाई लिएर चर्को आलोचना भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले सिग्नल एपको प्रयोगबारे गम्भीरतापूर्वक समीक्षा गर्ने प्रतिक्रिया दिएको बीबीसीले जनाएको छ ।
घटनापछि उल्लेख्यरूपमा अन्तर्राष्ट्रिय चासो पाएको सिग्नल एप आफ्नो गोपनियता र सुरक्षाको लागि लोकप्रिय छ । क्रिप्टोग्राफर मक्सी मार्लिनस्पाइक र रोबोट विज्ञ स्टुआर्ट एन्डरसनले सन् २०१० मा व्हिस्पर सिस्टम्सको नाममा यो प्लाटफर्म सुरू गरेका थिए । पहिले यस एपको नाम टेक्स्टसेक्योर र रेडफोन हुँदै सन् २०१४ मा आएर सिग्नल नामक म्यासेजिङ एप बनेको हो ।
ओपन-सोर्स इन्क्रिप्टेड मोडल अर्थात् प्रयोगकर्ताको डेटाको सुरक्षा र गोपनियता दुइटै सुनिश्चित गरिएको हुनाले गोपनियता खोज्नेहरूको रोजाइमा यो एप पर्ने गरेको छ । यस एपमा भएका कुराकानीहरू इन्ड-टु-इन्ड इन्क्रिप्टेड हुने भएकाले त्यहाँ जसलाई म्यासेज पठाइएको हो, उसले मात्र पढ्न सक्छन् । सिग्नल आफैंले पनि ती सन्देशहरू पढ्न सक्दैन ।
सन् २०१८ मा व्हाट्सएपका सहसंस्थापक ब्रायन एक्टनले ५ करोड अमेरिकी डलरको लगानी गरेपछि यस एपले आफ्नो सेवा अझै बिस्तार गर्ने मौका पायो । सन् २०२४ को अन्त्यसम्ममा यसमा झन्डै ७ करोड सक्रिय प्रयोगकर्ता थिए । लगभग २२ करोडभन्दा धेरै डाउनलोड भइसकेको यो एप गैरनाफामूलक कम्पनीको रूपमा रहेको छ । व्यापारिक दबाब कम भएकाले प्रयोगकर्ताको तथ्यांक दुरूपयोगको सम्भावना न्यून हुने भन्दै प्रविधि क्षेत्रका जानकारहरूले यो एप चलाउने गरेका छन् ।
यसमा बढीमा एक हजार जनासँग ग्रुप च्याट र ८ जनासँग भिडियो कल गर्न मिल्छ । यो एपले प्रयोगकर्ताको कुनै पनि डेटा आफूसँग राख्दैन । उदाहरणका लागि फेसबुक म्यासेन्जरमा भएका सबै कुराकानीमा मेटाको पहुँच हुन्छ । आफ्ना प्रयोगकर्ताबारे धेरै तथ्यांक जम्मा गरेर फेसबुकले कतिपय अवस्थामा बिक्रीसमेत गरेको विषय सार्वजनिक भइसकेका छन् । सिग्नलले भने आफ्ना प्रयोगकर्ताबारे कुनै पनि तथ्यांक अरूलाई नदिने घोषणा गरेको छ ।
यो एपमा सुरक्षालाई पनि विशेष महत्त्व दिने गरिएको कम्पनीको दाबी छ । सन् २०१५ मै चर्चित अमेरिकी व्हिसलब्लोअर (सूचना स्रोत) एडवार्ड स्नोडेनले यो एपको तारिफ गरेका थिए । सन् २०२१ मा विश्वकै धनाढ्य इलन मस्क र ट्वीटर (हालको एक्स)का संस्थापक ज्याक डर्सीले पनि यसलाई सुरक्षित म्यासेजिङ एप भएको बताएका थिए । सन् २०२१ मा व्हाट्सएपले आफ्नो गोपनियतासम्बन्धी नीतिमा परिवर्तन गरेपछि सिग्नलको प्रयोग झनै बढ्यो ।
स्वीकृत एपको सूचीमै थिएन सिग्नल
सैन्य गतिविधिजस्ता संवेदनशील विषयमा साधारणतया अमेरिकी सरकारको सुरक्षित म्यासेजिङ प्लाटफर्ममा मात्र छलफल गर्न मिल्ने अमेरिकी सरकारको कानुन रहेको यसमा सिग्नल एपको प्रयोगले अमेरिकी कानुनको उल्लंघन भएको एटलान्टिकको दाबी छ । अमेरिकी सरकारको स्वामित्वमा रहेका डिभाइसहरूमा स्वीकृत एपहरू मात्र इन्स्टल गर्न पाइने र सिग्नल एप यस्तो कुराकानीका लागि सिफारिस गरिएको एप नभएको एटलान्टिकले जनाएको छ ।
अमेरिकी सरकारी कामकाजका लागि माइक्रोसफ्ट टिम्स च्याट, ट्रुप म्यासेन्जर, थ्रीमा, विकरजस्ता कम लोकप्रिय एपहरू स्वीकृत छन् । उच्च पदस्थ सैन्य गतिविधिसम्बन्धी छलफलका लागि भने अमेरिकी सरकारको ‘सेन्सेटिभ कम्पार्टमेन्टेड इन्फर्मेसन फ्यासिलिटी’ अर्थात ‘स्किफ’ प्रयोग गर्ने अमेरिकी सरकारले व्यवस्था गरेको छ । एक त बैठक वा सामान्य भेटघाटबारे गफ गर्न मात्रै प्रयोग हुने एपमा कसरी अन्तर्राष्ट्रिय कूटनीति र सैन्य गतिविधिमै असर गर्ने किसिममा कुराकानी भइरहेको छ र उच्चपदस्थका सबै औपचारिक कुराकानी आर्काइभ गर्नुपर्ने नीति विपरीत आफसे आफ डिलिट हुने गरी म्यासेन्जर किन प्रयोग भएको छ भन्नेमा पनि एटलान्टिकले प्रश्न उठाएको छ ।
अमेरिकामा हिलारी क्लिन्टनले विदेशमन्त्री छँदा कतिपय औपचारिक कुराकानी स्वीकृत सरकारी सर्भर र प्लाटफर्मको साटो व्यक्तिगत इमेलमार्फत गरेको कारण आलोचना सहनु परेको थियो । यो घटना सन् २०१६ को राष्ट्रपतीय चुनावको मुखमा खुलासा भएपछि चुनावमा क्लिन्टनको पराजयका प्रमुख कारणमध्ये एक पनि बन्यो । पछिल्लोपटक सिग्नल कुराकानीमा उपराष्ट्रपति भान्सले युरोपलाई फ्री-लोडर अर्थात् सित्तैको खाने भनेका छन् । उनले राष्ट्रपति ट्रम्पका कतिपय कुरामा प्रश्नसमेत गरेकाले अब ट्रम्पले त्यसबारे कस्तो प्रतिक्रिया दिन्छन् भन्नेमा सर्वत्र चासो छ ।
–एजेन्सीको सहयोगमा

