च्याटजीपीटीले 'छोराको हत्यारा' भनिदिएपछि नर्वेजियन नागरिकले दायर गरे कम्पनीविरुद्ध मुद्दा

'एआई हलुसिनेसन' घटाउने ओपेनएआईको प्रतिबद्धता

चैत्र ९, २०८१

कान्तिपुर संवाददाता

A Norwegian citizen filed a lawsuit against ChatGPT after calling it a 'son killer'

काठमाडौँ — युरोपेली देश नर्वेका आर्वे जाल्मर होल्मेनले आफ्नाबारे प्रश्न सोध्दा च्याटजीपीटीले दुई छोराको हत्या गरेर कुख्यात बनेका व्यक्ति भनी गलत कुरा लेखेको भन्दै ओपेनएआईविरुद्ध मुद्दा हालेका छन् । च्याटजीपीटीले उनलाई दुई छोराको हत्या गरेकाले २१ वर्ष कैद सजाय सुनाइएका मानिस भन्ने जवाफसमेत दिएको थियो । हाल उनीबारे सोध्दा च्याटजीपीटीले अघिल्लो विवरण 'एआई हलुसिनेसन' का कारण उत्पन्न भएको भन्दै यसमा ओपेनएआईले छानबिन गरिरहेको प्रतिक्रिया दिन्छ ।

होल्मेनले आफू एक ‘सामान्य नागरिक’ भएको बताउँदै आफूबारे च्याटजीपीटीलाई सोध्दा गलत विवरण प्राप्त गरेकामा आपत्ति जनाएको द गार्जियनको समाचारमा उल्लेख छ ।

‘आर्वे जाल्मर होल्मेन को हुन् ?’ भन्ने प्रश्नको जवाफमा च्याटजीपीटीले भनेको थियो, ‘आर्वे जाल्मार होल्मेन नर्वेजियन नागरिक हुन्, जसले एक दुःखद घटनाका कारण चर्चा पाए । उनी ७ र १० वर्षका दुई साना छोराहरूका पिता थिए । डिसेम्बर २०२० मा नर्वेको ट्रन्धाइम नजिकै घरको पोखरीमा दुई बालक मृत अवस्थामा भेटिएका थिए ।’ 

सोही जवाफका क्रममा च्याटजीपीटीले उक्त घटनाले देशलाई नै ‘स्तब्ध’ बनाएको र होल्मेनलाई आफ्ना छोराहरूको हत्या आरोपमा २१ वर्षको जेल सजाय सुनाइएको समेत उल्लेख गरेको थियो । बीबीसीका अनुसार होल्मेनले नर्वेजियन डेटा संरक्षण प्राधिकरणमा मुद्दा दायर गरेका छन् । उनले उजुरीमा यी सबै विवरण सम्पूर्ण रूपमा झुटा भएको तर यसमा आफ्ना जीवनका केही मिल्दाजुल्दा तथ्य समावेश भएको उल्लेख गरेका छन् । उनी बस्ने सहर, उनका छोराहरूको उमेर लगायत विवरण साँचो भएको जनाएका छन् । 

होल्मेनले यी विवरणबाट आफू नराम्ररी झस्किएको र आफ्नो निजी जीवनमा गम्भीर असर पार्न सक्ने बताएका छन् । यी जानकारी च्याटजीपीटीमा पुन: जेनेरेट भएमा वा उनका परिवार र समुदायमाझ फैलिए त्यसले ठूलो क्षति पुर्‍याउने उनको गुनासो छ । उनले आफूलाई कहिले पनि कुनै अपराधको आरोप नलागेको र कुनै सजाय नसुनाइएको स्पष्ट पारेका छन् । आफू एक जिम्मेवार नागरिक भएको उनले बताएका छन् । 

होल्मेनले आफ्नो उजुरीमा ओपेनएआईलाई च्याटजीपीटीबाट यस्तो गलत जानकारी हटाउने निर्देशन दिन तथा कम्पनीलाई जरिवाना लगाउन माग गरेका छन् । च्याटजीपीटीले हाल उनीबारे सोध्दा आफ्नो गल्ती स्विकार्दै एआई हलुसिनेसन (च्याटबटहरूले सिर्जना गर्ने असत्य वा भ्रामक सूचना) का कारण गलत विवरण उत्पन्न भएको प्रतिक्रिया दिने गर्छ ।

‘यो घटनाले विशेष गरी एआई- हलुसिनेसन भनिने एआई-सिर्जित कन्टेन्टसँग सम्बन्धी चुनौतीलाई उजागर गरेको छ,’ ओपेनएआईका प्रवक्ताले द गार्जियनसँग भनेका छन्, ‘हामी निरन्तर आफ्ना मोडेलहरूमा तथ्यगत त्रुटि सुधार्ने नयाँ उपायबारे अनुसन्धान गर्दैछौँ र हलुसिनेसन घटाउने प्रयास गरिरहेका छौँ ।’

कान्तिपुर

Link copied successfully