नेपालमा पनि आईसीटी ल्याब पोखरासँगको सहकार्यमा 'माइक्रोसफ्ट एआइ फेस्ट नेपाल २०२५' मनाउन लागिएको छ ।
काठमाडौँ — चर्चित प्रविधि कम्पनी माइक्रोसफ्टले अप्रिल ८ (चैत २६) मा विश्वव्यापी रूपमा 'माइक्रोसफ्ट एआई स्किल्स फेस्ट २०२५' आयोजना गर्ने घोषणा गरेको छ । अष्ट्रेलियामा बिहान ९ बजे सुरु भई अमेरिकामा बेलुका ४ बजे सम्पन्न हुने यो २४ घण्टे विश्वव्यापी कार्यक्रममा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी सिकाइ गतिविधिहरू समावेश गरिनेछन् ।
कार्यक्रम आयोजना गरेर माइक्रोसफ्टले '२४ घण्टाभित्र सबैभन्दा धेरै प्रयोगकर्ताले एआईसम्बन्धी ज्ञान लिने गिनिज वर्ल्ड रेकर्ड्स'को उपाधि हासिल गर्न प्रयास गर्दै छ ।यो विश्वव्यापी उत्सवको हिस्सा बन्न माइक्रोसफ्टले संसारभरिका युवाहरूलाई आह्वान गरेको छ ।
नेपालमा पनि राष्ट्रिय आविष्कार केन्द्र (आईसीटी ल्याब पोखरा) सँग सहकार्य गरी 'माइक्रोसफ्ट एआइ फेस्ट नेपाल २०२५' मनाउन लागिएको छ । यसका लागि नेपालभरबाट अनलाइन र कम्तीमा एक हजारजना पोखरा, काठमाडौँ र दाङमा प्रत्यक्ष सहभागी हुने अपेक्षा गरिएको छ ।
अप्रिल ८ को कार्यक्रममा भाग लिने सबै सहभागीहरू ५० दिनको नि:शुल्क एआई सिकाइ तथा शिक्षण यात्रामा सहभागी हुन पाउनेछन् । अप्रिल ८ को उद्घाटन समारोहपछि एआई स्किल्स फेस्ट थप ५० दिनसम्म (मे २८ सम्म) जारी रहनेछ । विद्यार्थी, शिक्षक, व्यवसायी, टेक पेशेवर लगायत एआईबारे जानकारी लिन चाहने जो कोहीले रोचक र चुनौतीपूर्ण तालिमहरू लिन पाउनेछन् ।
सिकाइ यात्रामा ह्याकाथन, प्रत्यक्ष तथा भर्चुअल तालिम, आफ्नो उपयुक्त समयमा अध्ययन गर्न सकिने सामग्री, मागअनुसार तालिम, सामुदायिक कार्यक्रम, 'माइक्रोसफ्ट लर्न च्यालेन्जेज' लगायतका थुप्रै गतिविधिहरूमा सहभागी हुन सकिने माइक्रोसफ्ट युकेका प्रिन्सिपल इन्जिनियर तथा राष्ट्रिय आविष्कार केन्द्र नेपालका सल्लाहकार हरिकृष्ण न्यौपानेले जानकारी दिएका छन् ।
