काठमाडौँ — देशभरका डेटा सेन्टर तथा क्लाउड सेवा प्रदायक कम्पनीहरूलाई सरकार मातहत सूचीकृत हुन सूचना प्रविधि विभागले आग्रह गरेको छ । विभागले हालै सूचना जारी गरेर कम्पनीहरूलाई आवश्यक कागजातसहित अनिवार्य रूपमा विभागमा सूचीकृत हुन भनेको हो ।
डेटा सेन्टर तथा क्लाउड सेवा (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०८१ मा डेटा सेन्टर तथा क्लाउड सेवा प्रदायकले सेवा प्रदान गर्नुपूर्व विभागमा सूचीकृत हुनुपर्ने व्यवस्था छ । निर्देशिका प्रारम्भ हुनुअघि सञ्चालनमा रहेका यस्ता कम्पनीहरू पनि विभागमा सूचीकृत हुनुपर्ने उल्लेख छ । सोही बमोजिम विभागले डेटा सेन्टर र क्लाउड सेवा प्रदायक संस्थाहरूलाई सूचीकृत हुन निवेदन माग गरेको हो ।
निर्देशिकाको दफा ३ मा डेटा सेन्टर वा क्लाउड सेवा सञ्चालन गर्न चाहने संस्थाले कम्पनी/फर्म दर्ताको प्रमाणपत्र, आगलागी सुरक्षाको सुनिश्चितता, संस्थाको सुरक्षा र गोपनीयता नीति, बिजनेस कन्टिन्युटी प्लानसम्बन्धी कागजात, डेटा सेन्टर रहने स्थानको नक्सा, डेटा सेन्टरको तह (टियर) सम्बन्धी विवरण, आईपी पुलको विवरणजस्ता दर्जनभन्दा बढी कागजपत्रसहित विभागमा निवेदन दिनुपर्छ । हाल सञ्चालनमा रहेका डेटा सेन्टर र क्लाउड सेवा प्रदायकले ६ महिनाभित्र विभागमा सूचीकृत भइसक्नुपर्ने निर्देशिकामा उल्लेख छ ।
डेटा सेन्टर र क्लाउड दुवै सेवा सञ्चालन गर्न चाहने सेवा प्रदायकले छुट्टाछुट्टै रूपमा सूचीकृत हुनुपर्ने निर्देशिकामा स्पष्ट पारिएको छ । ‘सूचीकृत भएका डेटा सेन्टर तथा क्लाउड सेवा प्रदायकहरूले प्रत्येक वर्षको पुस मसान्तभित्र विभागले तोकेको माध्यममार्फत विवरण अद्यावधिक गर्नुपर्नेछ,’ दफा ४ मा भनिएको छ । डेटा सेन्टर तथा क्लाउडनमा भण्डारण गरिएका डेटाको दुरुपयोग गरेको पाइए वा तोकिएका सर्त पालना नगरे डेटा सेन्टरलाई सूचीबाट हटाइने निर्देशिकामा भनिएको छ ।
विभागले निवेदनको ढाँचा आफ्नो वेबसाइट वा निर्देशिकामा उल्लेख भएअनुसार गर्न अनुरोध गरेको छ ।
