उड्ने कारको माग बढेको बढ्यै

फाल्गुन १३, २०८१

कान्तिपुर संवाददाता

The demand for flying cars has increased dramatically

काठमाडौँ — केही दिनयता उड्ने कारको भिडियो सामाजिक सञ्जाल र सञ्चारमाध्यममा भाइरल भइरहेको छ । यससँगै कार निर्माता कम्पनीले ठूलो संख्यामा प्रि-अर्डर (खरिद प्रस्ताव) प्राप्त गरिरहेको जनाएको छ । जब ट्राफिक जाममा अड्किएको कार तुरुन्तै आकाशमा उड्न सक्छ भने त्यसप्रति मानिसहरूको चासो बढ्नु स्वाभाविक नै हो ।

सन् २०१५ मा स्थापना भएको अमेरिकी कम्पनी अलेफ एरोनटिक्सले यही साता आफ्नो पहिलो उड्ने कार सार्वजनिक गरेको हो । कम्पनीले यसलाई विश्वकै पहिलो उड्ने कारका रूपमा प्रचार गरिरहेको छ । कम्पनीले सार्वजनिक गरेको भिडियो फुटेजमा एउटा कालो रङको कार जमिनबाट सिधा टेकअफ गरेर आकाशमा उडेको देखिन्छ । बीबीसीका वरिष्ठ प्रविधि पत्रकार क्रिस भालान्स यो कुनै दृष्टिभ्रम नभएर साँच्चै उड्ने कार भएको आफ्नो रिपोर्टमा औंल्याउँछन् । 

अलेफ एरोनटिक्सले उक्त उड्ने कारको सुरुवाती मूल्य तीन लाख डलर (करिब ४ करोड रुपैयाँ) तोकेको छ । यो पूर्ण रूपमा विद्युतीय कार हो । यसलाई अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले ‘स्पेसल एयरवर्दिनेस सर्टिफिकेट’ प्रदान गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । परीक्षण उडानमा एक चालक कारभित्र रहेको कम्पनीको दाबी छ । 

यो कार उड्न र गुड्न दुवै सक्छ । यसको अनुमानित ड्राइभिङ रेन्ज ३२२ किलोमिटर र हवाइ दूरी ११० किमी रहनेछ । यसको अर्थ एकपटक चार्ज गरेपछि यसलाई निरन्तर ११० किमीसम्म उडाउन सकिन्छ । तर, यो कारमा मात्र दुई जना मात्रै अट्न सक्छन् । 

अलेफका प्रमुख कार्यकारी अधिकृत जिम दुखोभ्नीका अनुसार यो कारप्रति मानिसहरूको चासो अत्यधिक बढेको छ । कम्पनीले हजारौं प्रि-अर्डर पाइसकेको र एक वर्षभित्र कारको उत्पादन सुरु गर्ने लक्ष्य राखेको उनले बीबीसीसँग भिडियोमा भनेका छन् । ‘यो कार चलाउन तपाईंलाई सडकसँगै हवाइ नियमबारे पनि जानकारी हुन आवश्यक छ,’ उनी भन्छन्, ‘हामी सुरक्षाप्रति अत्यन्तै संवेदनशील छौं र उपभोक्ताहरूका लागि कार पर्याप्त सुरक्षित नभएसम्म यसलाई सार्वजनिक रूपमा देखाउन चाहँदैनौं ।’ 

दुखोभ्नीले हालैको परीक्षण उडानलाई राइट दाजुभाइको ऐतिहासिक ‘किट्टी हक’ उडानसँग तुलना गर्दै मानव जगतका लागि यो नयाँ यातायात सम्भव रहेको बताएका छन् । सन् १९०३, डिसेम्बर १७ मा राइट दाजुभाइले ‘राइट फ्लायर’ नामको विमान बनाएर नर्थ क्यारोलाइनामा १२ सेकेन्ड उडेको घटनालाई किट्टी हक उडान भन्ने गरिन्छ । यो घटना आधुनिक उड्डयनको सुरुवात मानिन्छ किनभने त्यसले हवाइ यातायात प्रणालीको आधार खडा गरेको थियो ।   

उड्ने कार बनाउने काममा अलेफ एरोनटिक्स एक्लो छैन । टेस्ला, ह्युन्डाइ, एयरबसजस्ता ठूल्ठूला कम्पनीहरू पनि उड्ने कार बनाउन लागिपरेका छन् । जापान, चीन र युरोपका केही कम्पनीहरू पनि परीक्षण चरणमा पुगिसकेका छन् । तर, यस्तो सवारी साधनका लागि प्रविधि मात्रै नभएर कानुनी प्रक्रिया पनि निकै चुनौतीपूर्ण छ । अमेरिकामा ट्राफिक नियम, उडान अनुमति र सुरक्षा मापदण्डहरू पूरा गर्न संघीय उड्डयन प्रशासनको कडा निर्देशन पालना गर्नुपर्छ ।

तथापि, सबै कुरा योजनाअनुरुप अघि बढेमा केही वर्षभित्रमै उपभोक्ताका लागि निजी उड्ने कारहरू व्यावसायिक रूपमा उपलब्ध हुन सक्छन् । तपाईँ पनि कुनै दिन घरबाट सिधै हवाइ मार्ग हुँदै कार्यालय जान सक्नु हुनेछ ।

कान्तिपुर संवाददाता

Link copied successfully