काठमाडौँ — प्रकाश प्रदूषणका कारण विश्वको सबैभन्दा ठूलो र उन्नत टेलिस्कोप प्रभावित बनेको भन्दै वैज्ञानिकहरूले खगोलीय अनुसन्धानमा समस्या आएको गुनासो गरेका छन् । दक्षिण अमेरिकी देश चिलीमा रहेको भेरी लार्ज टेलिस्कोप (भीएलटी) बाट रात्रि आकाश अवलोकनमा बाधा पुगेको खगोल वैज्ञानिकहरूको भनाइ छ
युरोपियन साउदर्न अब्जरभेटरीको चिलीस्थित माउन्ट प्यारनल भन्ने ठाउँमा रहेको भेरी लार्ज टेलिस्कोप अन्तरिक्ष अवलोकनका लागि विश्वकै उन्नत उपरकण मानिन्छ । यो टेलिस्कोप भएको ठाउँनजिक अमेरिकी कम्पनी एईएस इनर्जीले ‘आईएनएनए हाइड्रोजन उत्पादन परियोजना’ शुरु गर्न लागेको छ । यसले प्रकाश प्रदूषण गर्ने हुँदा दूरबिनको अवलोकन क्षमता प्रभावित हुने वैज्ञानिकहरूको ठहर छ । नवीकरणीय ऊर्जा परियोजनामा अधिक प्रकाश उत्पन्न हुने हुँदा टेलिस्कोपबाट देखिने दृष्य धमिलो हुने जोखिम रहेको उनीहरूले औँल्याएका छन् ।
चिलीको एटाकामा मरुभूमिमा रहेको माउन्ट प्यारनल २ हजार ६ सय ६४ मिटर उचाइमा अवस्थित छ । यसलाई पृथ्वीको सबैभन्दा अँध्यारो ठाउँमध्ये एक हो जुन खगोल विज्ञानसम्बन्धी अनुसन्धानका लागि उत्तम मानिन्छ । स्पेस डटकमका अनुसार यो टेलिस्कोप बनाउन सन् १९९० मा ३५ करोड डलर खर्च भएको थियो । आजको मूल्यमा यो रकम ८४ करोड डलर हुन्छ । यसबाट ब्रम्हाण्डका अद्भूत वस्तुहरू अवलोकन गर्न सकिन्छ । यहाँ २७ फिट चौडाइ (८.२ मिटर) का कयौँ टेलिस्पकोपहरू छन् जसले एकीकृत प्रणालीमा काम गर्छन् ।
अमेरिकी आईएनएनए परियोजना स्विकृत भएमा आकाशको प्रकाश १० प्रतिशतले बढ्ने युरोपियन साउदर्न अब्जरभेटरीका महाप्रबन्धक जेभियर बारकन्सले बताएका छन् । ‘विश्वको सर्वोत्कृष्ट अन्तरिक्ष अवलोकन केन्द्रलाई औसत अवलोकन केन्द्र बनाउन यो काफी हुन्छ,’ उनको गुनासो छ, ‘टाढाका तारापुञ्जहरू अवलोकन गर्ने क्षमतामा ३० प्रतिशतले ह्रास आउनेछ ।’ उनले स्पेस डटकमलाई बताएअनुसार हाल यस अब्जरभेटरीबाट सौर्यमण्डलभन्दा परको अन्तरिक्षका विवरण देख्न सकिन्छ । तथापी, आकाश अधिक उज्यालो हुन थालेमा ती विवरण नियाल्न सकिने छैन ।
कुल ३ हजार २१ हेस्टर क्षेत्रफलमा फैलिएको अमेरिकी आईएनएनए परियोजना १० अर्ब अमेरिकी लागतमा निर्माण हुन लागेको छ । यसमा हाइड्रोजन उत्पादनका लागि तीनवटा सौर्य फार्म, तीनवटा वायू फार्म, एउटा ब्याट्रि ऊर्जा भण्डारण प्रणाली र अन्य संरचनाहरू बनाइनेछन् । साउदर्न अब्जरभेटरीको अनुमानमा यस परियोजनाले २० हजार जनसंख्या रहेको शहरले उत्पन्न गर्नेजत्तिकै प्रकाश उत्पन्न गर्नेछ ।
अमेरिकी कम्पनी एईएस इनर्जीले हरित ऊर्जाका रूपमा हाइड्रोजन भविष्यका लागि महत्त्वपूर्ण इन्धन भएको दाबी गरेको छ । यसले शून्य कार्बन उत्सर्जनसम्म पुग्न मद्दत गर्ने कम्पनीको वेबसाइटमा दाबी गरिएको छ ।
