जीव विज्ञान र जैविक प्रविधि सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

फाल्गुन १६, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — चितवनमा जीव विज्ञान र जैविक प्रविधि सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । यही फागुन १९ देखि २२ गतेसम्म ‘आईसीबीबी–२०२२’ सम्मेलन हुन लागेको हो ।

नेपाल विश्वविद्यालय विकास बोर्ड र रिसर्च इन्स्टिच्युट फर बायोसाइन्स एन्ड बायोटोक्नोलोजी(आरआईबीबी)को संयुक्त आयोजनामा सम्मेलन हुन लागेको हो । सम्मेलनमा परम्परागत खाद्यान्न र पोषण विज्ञान, बायोमेडिसिन र ट्रान्सलेसनल रिर्सच, पानी, वन्यजन्तु र वातावरण,  प्रोटिन विज्ञान र यसको प्रयोग र विद्यार्थीहरुबीचको संवाद गरी ५ वटा विभिन्‍न सत्रहरु हुने छन् । 

सम्मेलनले जीव विज्ञान र जैविक प्रविधिको क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने आयोजकले जनाएको छ । ३४ जनाले विभिन्न विधामा प्रस्तुति दिनेछन् । यो सम्मेलनमा करिब ३० जनाले आफूले गरेको अनुसन्धानको पोस्टर प्रस्तुति दिने सम्मेलन आयोजक समितिकी शुभेक्षा बास्तोलाले जानकारी दिइन् । सम्मेलनको दौरान विद्यार्थीहरुलाई विज्ञान सम्बन्धीको जानकारी र पानी परीक्षण उपकरण सम्बन्धी गोष्ठि हुने उनले बताइन् ।

यसअघि पहिलो सम्मेलन काठमाडौंमा, दोस्रो धुलिखेल र तेस्रो सम्मेलन पोखरामा भएको थियो ।

कान्तिपुर

Link copied successfully