नेपालका जंगलमा खान मिल्ने फल २५६

गोविन्द पोखरेल

काठमाडौँ — नेपालका जंगलमा खान मिल्ने २५६ प्रकारका फल पाइएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको ‘वाइल्ड इडिबल फ्रुट्स अफ नेपाल’मा २५६ प्रकारका खान मिल्ने फल सूचिकृत भएको हो ।

नेपालका जंगलमा खान मिल्ने फल २५६

नास्टका वरिष्ठ वैज्ञानिक अधिकृत लोकरञ्जन भट्ट मुख्य लेखक रहेको यो पुस्तकले खान मिल्ने फलहरुमध्ये ६१ प्रतिशत पहाडी क्षेत्रमा पाइने उल्लेख छ । यसअघि सन् २०२०मा प्रकाशित एक वैज्ञानिक आलेख अनुसारमा नेपालका जंगलमा १९९ प्रकारका खाना मिल्ने फलहरु पाइने उल्लेख थियो ।

पहाडी क्षेत्रको भौगोलिक अवस्था, जलवायु, जैविक विविधता, तापक्रमले पनि जंगली फल धेरै पाइएको उनले बताए । नेपालको कूल भू–भागमध्ये ४४.७४ प्रतिशत वन क्षेत्रले ओगटेको छ ।

यी फल विभिन्न ६८ परिवार अन्तर्गतका ११४ प्रजातिभित्र पर्छन् । सबैभन्दा बढी ‘रोजेसी’ परिवारका छन् । यो परिवारका ४४ प्रकारका फल खान मिल्ने पाइएको भट्टले बताए । ७ वर्षको अनुसन्धानपछि पुस्तक तयार भएको वनस्पतिविद् समेत रहेका भट्टले बताए । ‘संख्या धेरै पनि हुन सक्छ । मैले पुराना अनुसन्धान, फिल्ड भिजिटबाट तथा लिटरेचरहरुको अध्ययनबाट संकलन गरेको हुँ,’ भट्टले कान्तिपुरसित भने ।

नेपालमा ६ सय प्रकारका खान मिल्ने वनस्पतिजन्य उत्पादन छन् । तीमध्ये ३७४ जंगल क्षेत्रबाट प्राप्त हुने पुस्तकमा उल्लेख छ ।

यी फललाई सही सदुपयोग गरे व्यवसायिक उत्पादन पनि गर्न सकिने अनुसन्धानकर्ता भट्ट बताउँछन् । ‘यी फलबाट चुक, अचार, जुस, स्क्वास, वाइन, घिउलगायतका उत्पादन बनाइने गरिएको छ । जस्तै, लप्सीबाट अचार, बेलबाट जुस तथा स्क्वास, चिउरीबाट बटर(घिउ) आदि,’ उनले भने ।

नेपालमा जंगलमा पाइने खान मिल्ने फलहरुको अध्ययन तथा अनुसन्धान अन्य प्रदेशको तुलानामा वाग्मती र गण्डकी प्रदेशमा भएका छन् । अध्ययन पनि ट्याक्सोनोमी र भेटिने क्षेत्रबाट मात्रै भएको पुस्तकमा उल्लेख छ । जंगली फलहरुमा पोषक तत्व हुने गरेपनि यस सम्बन्धी विस्तृत अनुसन्धान नेपालमा भएको छैन ।

नास्टका पूर्वउपकुलपति दयानन्द बज्राचार्यले यी फलहरुमा पाइने रसायन एवं पोषक तत्वहरुको अध्ययन गरेका थिए । उनको निधनपछि यी प्रजातिहरुलाई प्राथमिकता कम हुन थालेको अनुसन्धानकर्ता भट्टको भनाइ छ ।

भट्ट मुख्य लेखक रहेको यो पुस्तक ‘वाइल्ड इडिबल फ्रुट्स अफ नेपाल’मा १६८ वटा फलका रंगिन तस्बिर तथा भेटिएका २५६ प्रजाति हरेकका विवरण समावेश छ ।

नास्टका बायोलोजिकल रिसर्च ल्याबका प्रमुख समेत रहेका वरिष्ठ वैज्ञानिक अधिकृत भट्टले धेरै मात्रामा संकलन र प्रयोगले यीनको अवस्था खतरामा पर्ने औंल्याए । चुरे विनाश,भू–क्षय, पहिरोलगायत प्राकृतिक विपत्तिका कारण पनि यस्ता वनस्पति खतरामा परेको उनले बताए ।

नेपालका जंगल क्षेत्रमा पाइने खान मिल्ने फलबारे पहिलो पटक सन् १९८० मा प्रकाशित भएको थियो । त्यसबेला १३३ प्रकारका खान मिल्ने फलहरु रेकर्ड भएका थिए ।

जंगल क्षेत्र तथा आदिवासी समुदायले जंगल फलहरुलाई परापूर्वकालदेखि प्रयोग गर्दै आएको पनि उनले बताए । यी फलहरुमा पाइने तत्वको अध्ययन र आदिवासी समुदायबीचको सम्बन्धको अध्ययनले अन्य विविध पाटाहरु खुल्न सक्ने उनी बताउँछन् ।

प्रकाशित : पुस ४, २०७८ १४:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?