१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

प्लास्टिकजन्य फोहोरबाट बिक्रेट उत्पादनको परीक्षण सफल [भिडियो]

गोविन्द पोखरेल

काठमाडौँ — प्लास्टिकजन्य फोहोरलाई ऊर्जाको रुपमा प्रयोग गर्न सकिन्छ कि सकिँदैन भनेर गरिएको अनुसन्धानले सफलता पाएको छ । नेपाली अनुसन्धानकर्ता रमेशमान सिंहको नेतृत्वमा प्लास्टिकजन्य फोहोरबाट ब्रिकेट उत्पादन परीक्षण गरेसँगै उक्त अनुसन्धानले सफलता पाएको हो ।

प्लास्टिकजन्य फोहोरबाट बिक्रेट उत्पादनको परीक्षण सफल [भिडियो]

भक्तपुरको ठिमीस्थित क्ले क्राफ्टमा गरिएको परीक्षण सफल भएको हो । परीक्षणको क्रममा यो ब्रिकेट किफायती समेत देखियो । माटोको भाँडा पकाउन ८० केजी दाउरा लाग्नेमा यो खालको ब्रिकेट ३२ केजी मात्रै लाग्ने देखियो । यस्तै एक घन्टा समय पनि खपत हुने उनले बताए ।

'उद्योगमा ८५० डिग्री तापक्रम बनाएर तताउन ७ घन्टा लाग्थ्यो, हामीले बनाएको ब्रिकेटबाट ६ घन्टामै उक्त तापक्रम पुग्यो,' अनुसन्धानकर्ता सिंहले भने । उनले दाउराको विकल्पमा ब्रिकेट उपयुक्त हुने दाबी गरे ।

फोहोरबाट ऊर्जा बनाउने उद्देश्य अन्तर्गत प्लास्टिकमा परीक्षण गरिएको थियो । प्रयोग गरिएको ब्रिकेटमा प्लास्टिक र कागज ५०/५० प्रतिशतको अनुपातमा राखिएको थियो ।

कागज र प्लास्टिकको प्रयोग गरेर ब्रिकेट बनाउन गरिएको मेसिन । मेसिनमा हाइड्रोलिक चाप दिइन्छ ।

यो अनुसन्धानले सहरी क्षेत्रमा बढिरहेको प्लास्टिकजन्य फोहोरबाट इन्धान उत्पादनमा सघाउन पुर्‍याउने उनले बताए । 'फोहोरलाई कसरी व्यवस्थापन गर्ने भन्ने प्रश्न उठिरहेको छ । अब यिनीहरुलाई ब्रिकेट बनाएर पनि व्यवस्थापन गर्न सकिन्छ भन्ने प्रमाणित भयो,' अनुसन्धानकर्ता सिंहले भने, 'हामीले गरेको अनुसन्धानको परीक्षण सफल भएको छ । अब यसलाई ओद्योगिक उत्पादनमा लैजान सकिन्छ । यसले उत्सर्जन पनि कम गर्छ । '

कागज र प्लास्टिकको प्रयोगबाट तयार गरिएको ब्रिकेट

उद्योग तथा कलकारखानाहरुमा कोइला, दाउरालगायतका परम्परागत इन्धनहरु प्रयोग हुँदा धेरै मात्रामा हरित गृह ग्यास उत्सर्जन गर्छन् । फोहोरलाई इन्धनको रुपमा प्रयोग गर्दा उत्सर्जन घट्ने र फोहोर व्यवस्थापनमा सहज हुन्छ । फोहोरबाट 'रिफ्युज्ड डिराइभ्ड फ्युल' बनाउन उनले जोड दिएका छन् ।

प्लास्टिकजन्य फोहोरबाट अन्य मुलुकहरुमा पनि इन्धन उत्पादन गर्ने अभ्यास भएपनि नेपालमा भने पहिलो हुन सक्ने अनुसन्धानकर्ताहरुले दाबी गरेका छन् । 'धेरै विकासित मुलुकहरुमा यसको प्रयोग भइरहेको छ । नेपालमा भने पहिलो पटक हामीले प्लास्टिकलाई प्रयोग गरेका हौं, ' उनले भने ।

हाल विभिन्न तापक्रममा उत्पादन गरिएको ब्रिकेटको परीक्षण पनि भइरहेको छ । १२० डिग्री सेल्सिएसदेखि ३ सय डिग्रीसम्मको तापक्रम दिएर अनुसन्धान गरिरहेको उनले जानकारी दिए । परीक्षणको क्रममा उत्पादित २५० केजी ब्रिकेट इँटा भट्टामा प्रयोग गर्दा नतिजा राम्रो देखिएकाले उनीहरु उत्साहित बनेका छन् ।

बिहीबार सिंहको अनुसन्धान टोलीले विभिन्न तापक्रममा प्लास्टिकमात्रै प्रयोग गरेर ब्रिकेट उत्पादन गरेको छ । यो ब्रिकेटको पनि चाँडै नै परीक्षण गरिने उनले बताए ।

यसरी उत्पादन गरिन्छ प्लास्टिकबाट ब्रिकेट:

प्लास्टिकजन्य फोहोर तथा प्रयोग नहुने कागज तथा कार्टुनहरुलाई संकलन गरेपछि त्यसलाई छुट्टाइन्छ । स्रेडिङ मेसिनमा हालेर स-साना टुक्रमा पारिन्छ । स-साना टुक्राहरुहरुलाई मिसाएर स्क्रू एक्ट्रुडर ब्रिकेटिङ मेसिनामा हालेपछि ब्रिकेट तयार गरिन्छ ।

विभिन्न तापक्रम दिएर मेसिनबाट उत्पादित यी प्लास्टिकका ब्रिकेटको परीक्षण गरेर प्रयोग गर्न मिल्ने/नमिल्ने निष्कर्ष अनुसन्धानकर्ताहरुले दिने गर्छन् ।

स्क्रू एक्ट्रुडर ब्रिकेटिङ मेसिनामा स्रेडिङ् गरिएको प्लास्टिक हालिँदै

नाष्टका अवकाशप्राप्त वैज्ञानिक अधिकृत समेत रहेका सिंहले सन् १९८०को दशकदेखि यस क्षेत्रमा अनुसन्धान गर्दै आइरहेका छन् । हाल भइरहेको अनुसन्धानमा सिंहले स्‍नातकोत्तर तहका विद्यार्थीहरूलाई शोध कार्य गराइरहेका छन् ।

प्लास्टिकको प्रयोग गरेर तयार गरिएको ब्रिकेट ।

नेपालमा हाल भुस, कागज, जैविक वस्तु, झार,कोइला, चारकोल प्रयोग गरेर ब्रिकेटको उत्पादन हुने गरेको छ । प्लास्टिक र कागज मिसाएर बनाइएको ब्रिकेटलाई हाड्रोलिक चाप दिएर बनाइन्छ ।

ऊर्जाको खपत र उत्सर्जन पनि कम हुने भएकाले अनुसन्धानकर्ताहरुले दाउरा र कोइलाको विकल्पमा यसको प्रयोग गर्न सुझाव दिएका छन् ।

प्रकाशित : आश्विन ७, २०७८ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?