विपद् व्यवस्थापनमा स्मार्ट-पालिका - विज्ञान र प्रविधि - कान्तिपुर समाचार

विपद् व्यवस्थापनमा स्मार्ट-पालिका 

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना भाइरसको उच्च जोखिम रहिरहेको अवस्थामा भारत तथा अन्य देशबाट स्वदेश फर्किने नेपाली नागरिकको स्वास्थ्यमा हुन सक्ने जोखिमलाई कम गर्न स्मार्ट-पालिकाले विपद् व्यवस्थापन प्रणालीको सुरुआत गरेको छ।

देशका ७० भन्दा बढी स्थानीय सरकारलाई प्रविधिमैत्री कोभिड-१९ व्यवस्थापन प्रणाली स्मार्टपालिकाले नि:शुल्क हस्तान्तरण गरेको छ।

लामो समयको अध्ययन, अनुसन्धान तथा खोजपश्चात् स्मार्टपालिकाले स्वचालित माइग्रेसन, होम क्वारेन्टाइन तथा सीप व्यवस्थापन प्रणाली सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको धनगढी उप-महानगरपालिकामा सुरुवात गर्ने भएको हो । माहामारीको ख्याल गर्दै कोभिडको प्रभाव न्यून गर्दै जनस्वास्थ्यलाई अनुकूल गराउने तथा विदेशमा रहेका नेपाली नागरिकलाई नेपाल भित्र्याउँदा उच्च जोखिम हुने हुँदा रोगी तथा स्वस्थ व्यक्तिलाई सचेत गराउने उद्देश्य स्वरुप यो विपद व्यवस्थापन प्रणाली लागू गरिएको मेयर नृप वडले जानकारी दिए ।

हाल, 'यूएनडीपी एसिलेटर ल्याब्स' नेपालको प्राविधिक संलग्नतामा धनगढी उप-महानगरपालिकाको उक्त प्रणालीमा रोजगार क्षति मापन तथा अवसर सृजना गर्ने उद्देश्यले 'माइग्रेन्ट स्कि्स म्यापिङ मोड्युल'को प्रयोग हुने भएको छ।

स्मार्ट-पालिकाले विगत लामो समयदेखि स्थानीय सरकारलाई सूचनाप्रविधिमैत्री नगर र जनतालाई प्रविधिमा सचेत गराउँदै विभिन्न प्रणालीको विकास गर्दै आएको छ। धनगढी उप-महानगरपालिकाले जस्तै देशभरिका स्थानीय सरकारले स्वचालित प्रणाली प्रयोग गरेमा रोगको जोखिम न्यूनीकरण हुने र स्वचालित प्रविधिले नै धेरै काम गरिदिने हुँदा व्यवस्थापनमा सरलता आउने स्मार्ट-पालिकाका प्रमुख कार्यकारी मनोज भट्टराई बताउँछन् ।


प्रकाशित : श्रावण २२, २०७७ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्

‘जोखिम घटाउने मुख्य जिम्मेवारी सर्वसाधारणकै हातमा’

‘लक्षणसहितका संक्रमित बढेर अस्पताल भर्ना गर्नुपर्‍यो भने सम्हाल्न नसकिने स्थिति आउन सक्छ । एकपछि अर्को जटिल अवस्था आउन सक्छ । हामीले सोचेभन्दा खराब स्थिति नआओस् भनेर तयार हुनुपर्छ ।’
फातिमा बानु

काठमाडौँ — कोभिड–१९ संक्रमण नियन्त्रण गर्न जारी गरिएको लकडाउन सरकारले हटाइसकेको छ तर संक्रमित थपिने र ज्यान जाने क्रम निरन्तर छ । काठमाडौं उपत्यकामा पछिल्लो समय लक्षणसहितका संक्रमित धेरै देखिइरहेका छन् । बुधबार मात्रै उपत्यकामा थप १०२ जनामा संक्रमण देखिएको छ ।

तीव्र रुपमा स‌ंक्रमण बढिरहे मुलुककै राजधानी काठमाडौंसहितका अस्पतालमा भेन्टिलेटर र आईसीयू नपुग्ने अवस्था देखिएको छ । यसै विषयमा शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका विशेषज्ञ डा. शेरबहादुर पुनसँग कान्तिपुरका लागि फातिमा बानुले गरेको कुराकानी :

लकडाउन हटेपछि संक्रमणको जोखिम झन् बढेको हो ?

लकडाउनअघि नेपालमा कोभिड–१९ का संक्रमित २ जना मात्रै थिए । पछिल्लो समय औसत दिनमा डेढ सय जनाका दरले संक्रमित बढिरहेका छन् । संक्रमितको संख्या ओरोला नलाग्दै बिनातयारी लकडाउन हटाइयो । पछिल्लो समय संक्रमणको जोखिम बढेकै हो ।

के कारणले जोखिम बढेको हो ?

लकडाउन गर्दैमा संक्रमण रोकिने भन्ने होइन । संक्रमण फैलिन नदिनका लागि तयारी गर्न र जनमानसलाई यसबारे बुझाउन लकडाउन गरिने हो । सरकारले यसैका लागि १२० दिन लकडाउन गर्‍यो । रोकथामका लागि केही तयारी पनि भए । तर रोकथाम तथा नियन्त्रणका लागि आममानिसले पूरा गर्नुपर्ने जिम्मेवारीमा लापरबाही देखिएको छ । भीडभाडमा भौतिक दूरी कायम गर्ने, मास्क लगाएर हिँड्ने, हात धुनेजस्ता आधारभूत नियम पनि पालना नगरिदिँदा संक्रमणको जोखिम बढेको हो । लकडाउन खुल्यो भन्ने शब्दलाई जनमानसले बुझेकै छैनन् । यसलाई उनीहरूले संक्रमणमुक्त भयौं भन्ने बुझेर मनलाग्दी रूपमा हिँडिरहेका छन् ।

केहीले बुझेर पनि अटेरी गरिरहेका छन् । डराउने, सावधानी अपनाउने समूह पनि छ । पहिले रोग लाग्यो कि मरिन्छ भन्ने डर थियो । अहिले रोग लाग्लाभन्दा पनि रोग लागेपछि समाजले बहिष्कार गर्ला भन्ने डर बढी छ । यो रोगबारे समाजमा जनचेतना पर्याप्त छ तर सावधानीका उपाय व्यवहारमा लागू गर्न अटेरी गर्दा लकडाउन हटेपछि संक्रमणको जोखिम बढेको हो । यस्तै बानी व्यहोरा र चालचलनमा रहने हो भने भोलिका दिनमा समुदायमै संक्रमण फैलिने सम्भावना उच्च छ ।

उसो भए लकडाउन खोल्नै नहुने थियो ?

महामारी नियन्त्रण गर्न लकडाउन अन्तिम उपाय होइन । यो खोल्नैपर्ने थियो । सधैं लकडाउन गर्दा मुलुकमा आर्थिकलगायतका धेरै समस्या आउँछन् । तर लकडाउन गर्ने र खोल्ने दुवै तरिका मिलेन । लकडाउनभर सिकेका कुरा अब व्यवहारमा उतार्नुपर्छ । संक्रमणको झन् जोखिम भएकाले पहिलेभन्दा बढी सावधानी अपनाउनुपर्छ ।

पछिल्ला दिनमा लक्षणसहितका संक्रमित बढेका छन् नि ?

पहिले पीसीआर पोजिटिभ आएका ९९ प्रतिशत संक्रमित लक्षणविहीन हुन्थे । अहिले अस्पतालमा लक्षणसहितका बिरामी आउन थालेका छन् । उनीहरूमा ज्वरो रुघाखोकी, सास फेर्न गाह्रो हुने खालका लक्षण छन् । तर, यो कोभिड–१९ कै लक्षण हो भन्न हतार गर्नु हुँदैन । स्क्रबटाइपस, इन्फ्लुएन्जा, स्वाइनफ्लुलगायत अन्य संक्रामक रोगमा पनि यस्तै लक्षण देखिन्छन् । यी रोगका सर्ने तरिका र बच्ने उपाय पनि उस्तै हुन् । साउन, भदौ फ्लुको मौसम पनि हो । अहिले कोभिड–१९ नभएको भए यस्ता लक्षण लिएर आउने बिरामीलाई हामीले फ्लुकै उपचार गरिरहेका हुन्थ्यौं । कोभिड र गैरकोभिडमा स्वाद र गन्ध थाहा नपाउने लक्षण मात्रै फरक छ । त्यसैले लक्षण नदेखिएकामा अचानक कसरी लक्षण देखिन थाल्यो, कसरी ‘ट्वीस्ट’ आयो भनेर पहिचान गर्न कोभिड–१९ सँगै अन्य फ्लुको पनि परीक्षण गरेर हेर्नुपर्छ अनि मात्रै केही निष्कर्ष निकाल्न सकिन्छ ।

लकडाउन खुलेको अवस्थामा जोखिम कम गर्न जनजीवन कस्तो हुनुपर्छ ?

लकडाउन हटेपछि आममानसको जिम्मेवारी झनै बढेको छ । घरबाहिर आवतजावत धेरै छ, भेटघाट बढेको छ । बजार, रेस्टुरेन्ट र सार्वजनिक यातायात खुला छ । तर सर्वसाधारणले सही तरिकाले सावधानी अपनाइरहेको देखिँदैन । जोखिम न्यूनीकरण गर्ने मुख्य जिम्मेवारी उनीहरूकै हातमा छ । लापरबाही गर्ने हो भने भोलि जे जस्तो नतिजा आउँछ, त्यसको भागीदार उनीहरू नै हुनेछन् । यो महामारी राज्य र जनता दुवैले मिलेर लड्नुपर्ने लडाइँ हो । सावधानीबारे सबैले सुनेका, बढेका र बुझेका छन् । व्यवहारमा लागू गरिदिए ठूलो खतरा हुनबाट बच्न सकिन्छ ।

संक्रमण बढ्यो भने कस्तो खतरा हुन सक्छ ?

लगभग सबै मुलुकमा कोभिड–१९ को संक्रमण फैलिसक्यो । केही मुलुकबाहेक कतै भयावह स्थिति आएको छैन र नेपालमा पनि आउँछ नै भन्ने छैन । हाम्रो देशका अस्पतालको अवस्था र स्वास्थ्य पूर्वाधार कस्तो छ, सबैलाई थाहै छ । भयावह स्थिति आयो भने थेग्न सकिँदैन । उपत्यकामा जनघनत्व बढी छ, आवतजावत बढी छ । त्यसैले जोखिम पनि यहाँ नै बढी छ । संक्रमण बढ्यो भने यहाँका अस्पतालले धान्न सक्छन् जस्तो लाग्दैन ।

लक्षणसहितका संक्रमित बढेर अस्पताल भर्ना गर्नुपर्‍यो भने सम्हाल्न नसकिने स्थिति आउन सक्छ । एकपछि अर्को जटिल अवस्था आउन सक्छ । हामीले सोचेभन्दा खराब स्थिति नआओस् भनेर तयार हुनुपर्छ । सतर्कता अपनाउनुपर्छ । कोभिड–१९ सँगै अहिले अन्य संक्रामक रोग थपिन थालेका छन्, त्यसलाई नजरअन्दाज गर्नु हुँदैन । भाइरसले कुनै पनि बेला रूप फेर्न सक्छ, जटिलता पैदा हुन सक्छ र यो जनस्वास्थ्यकै लागि ठूलो चुनौती खडा हुन सक्छ ।

अन्य मुलुकसँग तुलना गर्दा नेपालमा संक्रमणको स्थिति कस्तो छ ?

अहिलेसम्म अन्य मुलुकको तुलनामा हाम्रो स्थिति खराब छैन । निको भएर गएका संक्रमित फर्केर आएका छैनन् । अन्य मुलुकमा जस्तो कडा रोगी र वृद्धवृद्धाको मृत्युदर यहाँ छैन । वृद्धवृद्धा हुँदैमा मानवीय क्षति हुन्छ भनेरचाहिँ बुझ्नु हुँदैन । उमेर हद नहुनु रोगबाट बच्नु भन्ने होइन । पक्षघात, क्षयरोग या अन्य कडा रोग छ भने युवालाई पनि यो रोगको खतरा उत्तिकै छ ।

नेपालमा मृत्यु भएका संक्रमितको तथ्यांकले पनि यही देखाएको छ । समुदायमा संक्रमण फैलिएको छ, छैन भन्ने अहिले तर्क–वितर्क चलिरहेको छ । अहिलेको संकेत हेर्दा हामी समुदाय संक्रमणको मुखैमा छौं । ठोकुवा गरेर भन्नचाहिँ एकपटक समुदायमा परीक्षण गर्नुपर्छ । संक्रमण फैलिएको क्षेत्रमा, उपत्यका जस्तो मानिस धेरै आवतजावत हुने ठाउँमा परीक्षण गर्न आवश्यक छ । अन्तर्राष्ट्रिय उडान बन्द हुँदासम्म धेरै जोखिम छैन ।

कोभिड–१९ संक्रमणका कारण नेपालमा मृत्युदर कम देखिएको हो ?

हाम्रो देशमा संक्रमण फैलिरहेकाले अहिले नै मृत्युदर कम या धेरै भनेर हिसाब गरिहाल्न मिल्दैन । प्रायः दिनमा एक जना संक्रमितको मृत्यु भइरहेको छ । अन्य मुलुकको तुलनामा मृत्युदर कम नै हो भन्न सकिन्छ । मृत्युदर कम हुनुका धेरै कारण पत्ता लाग्नै बाँकी छ । दक्षिण एसियाली मुलुकमा यो भाइरस कमजोर रूपमा छ पनि भनिएको छ तर यो अनुमान मात्रै हो । यहाँको वातावरण र जीवनशैलीका कारण पनि यो भाइरसले कडा रूपमा असर नगरेको हो कि पनि भन्न सकिन्छ । तर यसको कुनै वैज्ञानिक प्रमाण छैन ।

संक्रमण रोक्न राज्यको प्रणाली कस्तो हुनुपर्छ ?

अहिलेको अवस्थामा सर्वसाधारणले सावधानी अपनाउनु नै मुख्य उपाय हो । परीक्षणको दायरा बढाउनुपर्छ । लक्षणसहितका संक्रमित बढेकाले अस्पतालमा आईसीयू र भेन्टिलेटरको संख्या पनि बढाउन आवश्यक देखिन्छ ।

प्रकाशित : श्रावण २२, २०७७ ०९:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×