अनसनको तेस्रो दिनमै उनको स्वास्थ्यमा विभिन्न समस्याहरू देखिएपछि उनलाई अस्पताल भर्ना गर्ने तयारी गरिएको हो ।
कैलाली — धनगढीको कृष्ण मन्दिरमा २४ औं सत्याग्रह (आमरण अनसन) मा रहेका डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या आएको छ । अनसनको तेस्रो दिनमै उनको स्वास्थ्यमा विभिन्न समस्याहरू देखिएपछि उनलाई अस्पताल भर्ना गर्ने तयारी गरिएको हो ।
उनका सहयोगी डा. अमृत जैसीका अनुसार डा. केसीको शरीरमा सुगरको मात्रा निकै घटेर ५० पुगेको छ । ब्लड प्रेसर (रक्तचाप)समेत न्युन देखिएको छ। शरीरमा सुगर र रक्तचापको मात्रा कम हुँदा थप जटिलता आउन सक्ने भन्दै स्वास्थ्यकर्मीहरूले उनलाई तत्काल अस्पतालको भर्ना गरेर निगरानीमा राख्न सुझाव दिएका छन् ।
उनका अनुसार डा. केसीलाई थप उपचार र स्वास्थ्य निगरानीका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लैजाने तयारी भइरहेको छ। अस्पतालमा उनको लागि बेडको व्यवस्थापन मिलाइँदै गरेको र केही बेरमै उनलाई अस्पताल भर्ना गरिने सहयोगी डा. जैसीले जानकारी दिए ।
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका विभिन्न मागहरू राख्दै डा. केसीले धनगढीको कृष्ण मन्दिरमा आफ्नो २४ औं अनसन सुरु गरेका थिए।
