पश्चिमी नाकाबाट कामको खोजीमा भारत पस्नेको लर्को

कैलाली र कञ्चनपुरका सीमावर्ती नाकाबाट दैनिक सयौं नेपालीहरू बर्खायाममा कामको खोजीमा भारत पस्न थालेका छन् ।

श्रावण ८, २०८३

चित्रांग थापा र भवानी भट्ट

A rush of people entering India through the western border in search of work

धनगढी र कञ्चनपुर — कैलालीको त्रिनगर र कञ्चनपुरको गड्डाचौकी सीमानाकामा केही दिनयता कामको खोजीमा भारतका विभिन्न सहर पस्नेको लर्को लाग्ने गरेको छ। हरेक दिन दिउँसो २/३ बजेदेखि अबेर साँझसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका बिभिन्न जिल्लाबाट आएकाहरु कामको खोजीमा भारत पसिरहेका छन्।

गाउँघरमा रोजगारी नपाएर कामको खोजीमा भारत पस्नेहरू वर्षभरि नै भारत जाने गरेका हुन्छन्। तर वर्षेनी यही बेला भने वर्षेबाली धान रोपाइँ सकेर पहाड–तराई जताततैबाट भारत पस्ने कामदारको यहाँका सीमानाकामा ठूलो भीडभाड हुने गरेको हो।

कैलालीको घोडाघोडी नगरपालिका–८ सुख्खडका पुनाराम चौधरी गाउँमै घर बनाउने मिस्त्रीको काम गर्छन्। सानैदेखि मिस्त्री काम सुरु गरेका उनलाई घरपरिवारको गुजारा चलाउन भारतको रोजगारी पनि एउटा सहारा बनेको छ। तर बर्खायाममा मिस्त्रीको काम नपाइने भएकाले उनी भारततिर लाग्छन् र अन्य रोजगारी गर्छन्।

यस वर्ष पनि उनी बुधबार छिमेकी ७ जनासँगै उत्तराखण्डको अल्मोडातिर हिँडे। बर्खायामभरि भारतमै काम गर्ने योजनासहित उनी गड्डाचौकी नाका हुँदै भारत पसेका हुन्। ‘बर्खामा यहाँ त केही काम पाइँदैन। तीन/चार महिना घरपरिवारको गुजारा कसरी गर्नु ?’ चौधरीले भने, ‘अल्मोडामा उतै काम गर्ने आफन्त र चिनेजानेका साथीहरू छन्। काम राम्रो छ, आउनु भनेका छन्। त्यही भएर साथीभाइसँगै जान लागेको हुँ।’

उनी छिमेकी भुखाली चौधरी, सन्तोष चौधरी लगायत ७ जनासँगै अल्मोडा हिँडेका हुन्। अल्मोडामा पनि घर निर्माण, सडक निर्माण लगायतका काम पाइने आशामा उनीहरूले खेतीपातीको काम सकेर भारत पस्ने निधो गरेका हुन्।

मंगलबार धनगढीको त्रिनगर नाकामा बैतडीको दुर्गम सिगास गाउँपालिका–३ का रमेश नेपाली आफ्नी वृद्ध आमा र लालाबालासहित भारत पस्दा एसएसबीको जाँच लाइनमा गर्मीले पसिनाले निथ्रुक्क भएको अवस्थामा भेटिए। उनीहरू भारतको महाराष्ट्रस्थित पुणे पुग्ने हतारमा थिए। केही वर्षदेखि भारतमै काम गर्दै आएका रमेश उतै काम पाउने भएपछि परिवारसहित लामो बसाइका लागि भारत गएका हुन्।

हालका वर्षमा नेपाली कामदार पटके कामका लागि मात्र होइन, लामो अवधिसम्म भारतमै बस्ने गरी पनि जान थालेका छन्। कामको खोजीमा यसरी वर्षायाममा भारतका दुर्गम क्षेत्रमा पुग्ने अधिकांशको एउटै पीडा छ— ‘गाउँघरमा काम छैन, गुजारा चलाउनै मुस्किल छ। जे-जस्तो काम पाइए पनि भारत नपसी हुँदैन।’ पहाडतिर बाँदर, बँदेल र दुम्सीले खेतीपातीसमेत भित्र्याउन नदिने उनीहरू बताउँछन्।

पुरुषसँगै उनीहरूका आफन्त महिला पनि कामको खोजीमा भारत जानेको संख्या बढ्न थालेको छ। विगतमा सुदूरपश्चिमका पहाड र तराईबाट भारत पस्ने अधिकांशको रोजगारी गन्तव्य सीमावर्ती हिमाञ्चल, उत्तराखण्ड, दिल्ली र पञ्जाब थियो। तर हालका वर्षमा महाराष्ट्रका मुम्बई र पुणे, कर्नाटकको बेङ्गलुरु, चेन्नई तथा गुजरातका अहमदाबाद र सुरततिर पनि रोजगारीको गन्तव्य विस्तार हुँदै गएको छ।

पश्चिम तराईका थारू समुदायका कामदार पनि ठूला सहरका होटल, रेस्टुरेन्ट तथा निर्माण क्षेत्रमा कार्यरत छन्। कञ्चनपुरको लालझाडी–२ का रामसिंह बडायक र पुनर्वास नगरपालिका–१ का शिल्पी राना दुवै काठ मिस्त्री हुन्। उनीहरू भारतको पुणे जान मंगलबार कैलालीको त्रिनगर पुगेका थिए। हिमाञ्चलको शिमलालगायतका क्षेत्रमा स्याउ टिप्न तथा विकास निर्माणका कामका लागि नेपाली कामदार जाने गरेका छन् भने उत्तराखण्डका पहाडी भेगमा पनि विकास निर्माणकै कामका लागि जाने गरेका छन्। 

बर्खायाममा उत्तराखण्ड र हिमाञ्चल लगायतका उच्च पहाडी भेगमा बाढी–पहिरोको जोखिम उच्च हुने गरेको छ। वर्षेनी नेपाली कामदार बाढी–पहिरोमा परेर ज्यान गुमाउँदै आएका छन्। गत वर्ष पनि बाढी र पहिरोमा परेर पौडी गढवाल र उत्तरकाशीको धराली क्षेत्रमा धेरै नेपालीले ज्यान गुमाए। पौडी गढवालमा ५ जनाको मृत्यु भयो भने धरालीमा कति नेपालीको ज्यान गयो भन्ने कुनै तथ्यांक छैन। न त नेपालको सरकारी निकायले यसबारे कुनै खोजबिन नै गरेको छ।

यतिबेला गड्डाचौकी नाका भएर दैनिक ५ देखि ७ सय हाराहारीमा नेपाली कामदार कामको खोजीमा भारत पसिरहेका छन्। उनीहरूमध्ये अधिकांश मौसमी कामदारका रूपमा जाने गरेका हुन्। रोपाइँ सकेर भारत पस्ने र दशैं–तिहारका लागि घर फर्किने उनीहरूको चलन छ।

गड्डाचौकीसँगै कैलालीको त्रिनगर नाका भएर पनि भारत पस्नेको संख्या उस्तै छ। गौरीफन्टा नाका नजिकै रहेको नेपाल प्रहरीको चेकपोस्टमा कामको खोजीमा भारत जाने नेपाली नागरिकको विवरण राख्ने गरिएको छ। मंगलबार एक दिनमै दिउँसो ३ बजेसम्म करिब ५ सय हाराहारी नेपाली भारत पसेका थिए। ‘राति ८ बजेसम्म बोर्डर खुला रहन्छ। यो संख्या अझ बढ्न सक्छ,’ भारत पस्नेको अभिलेख राख्ने एक प्रहरी सुरक्षाकर्मीले भने, ‘असार अन्तिम सातादेखि कामको खोजीमा भारत जानेको संख्या दिनहुँ बढ्न थालेको हो। यो साउनभरि बढ्दै जान्छ। दसै‌ं–तिहार र अन्य चाडपर्वमा भने नेपाल भित्रिनेको संख्या बढी हुन्छ।’

कञ्चनपुरको गड्डाचौकी नाका भएर भारत पस्ने अधिकांशको गन्तव्य हिमाञ्चलको शिमला र उत्तराखण्डका अल्मोडा, गढवाल लगायतका क्षेत्र हुन्। कृषि तथा विकास निर्माणका क्षेत्रमा रोजगारी पाउने आशामा वर्षेनी ठूलो संख्यामा नेपाली त्यहाँ जाने गरेका छन्। ‘दश/बाह्र वर्षदेखि यसैगरी बर्खामा भारत जाने र दशैं–तिहारमा घर फर्किने गरिरहेको छु,’ पुनारामले भने, ‘नैनीताल, देहरादुन, गढवाललगायतका क्षेत्रमा पुगिसकेको छु। अल्मोडा भने पहिलो पटक जान लागेको हुँ।’ विगतझैं यसपटक पनि उनी अब दशैंका लागि मात्रै घर फर्किनेछन्। त्यसपछि खेतीपाती भित्र्याएर हिउँदमा भने गाउँघरमै काम पाइने उनले बताए।

विगतका वर्षमा गाउँघरमा रोजगारी नपाएर भारत पस्नेमा तन्नेरी उमेरका पुरुषको संख्या बढी थियो। अहिले कामको खोजीमा जानेमा महिलादेखि बालबालिकासम्म देखिन्छन्। कतिपय अभिभावकसँगै जान लागेका छन् भने कतिपय काम गर्नकै लागि। विद्यालयमा बर्खे बिदा भएपछि बालबालिका पनि अभिभावकसँगै भारत जाने र अब एकैचोटि दशैंका लागि मात्रै फर्किने गरेका छन्।

चित्रांग

Link copied successfully