कञ्चनपुरमा एक वर्षमा ४ सय ९ लागुऔषध प्रयोगकर्ता पक्राउ

जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा लागुऔषध सम्बन्धी मुद्दामा २० महिला र ३ सय ८९ पुरुष पक्राउ परेका हुन् ।

श्रावण ७, २०८३

भवानी भट्ट

409 drug users arrested in Kanchanpur in one year

कञ्चनपुर — जिल्लामा लागुऔषध सम्बन्धी मुद्दामा एक वर्षमा ४ सय ९ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा लागुऔषध सम्बन्धी मुद्दामा २० महिला र ३ सय ८९ पुरुष पक्राउ परेका हुन् ।

‘समाजमा लागुऔषध प्रयोगकर्ताको अवस्था बिस्तारै भयाबह बन्दै गएको छ,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा आयोजित पत्रकार सम्मेलनमा एसपी नेत्रमणि गिरीले भने, ‘यसलाई हामीले गम्भीर रुपमा हेरेका छौं, दिनहुँजसो एक/दुई जना पक्राउ परेकै छन् ।’ उनले लागुऔषध नियन्त्रणका लागि जनचेतनामूलक र कानुनी कारवाही सँगसँगै लैजान खोजेको बताए । 

एसपी गिरीका अनुसार महेन्द्रनगरस्थित कारागारमा बुधबारका दिन रहेका जम्मा कैदीबन्दी ३ सय ९५ मध्ये १ सय ६० लागुऔषध प्रयोगकर्ता छन् । जिल्लाभरीमा रहेका प्रहरीका विभिन्न हिरासत कक्षमा रहेका ६५ जनामध्ये ३२ जना लागुऔषधका छन् । 

प्रहरीले गत आर्थिक वर्षमा गाँजा ५ सय २६ ग्राम, चरेश करिब साढे ६ किलोग्राम, खैरो हेरोइन ६ सय ५८ ग्राम र ट्याबलेट ७ सय २६ वटा बरामद गरिएको छ । जिल्लामा एक वर्षमा लागुऔषधका २ सय ३१ मुद्दा दर्ता भएका छन् । ‘लागुऔषध सेवन बिस्तारै फैलिदै गएको छ,’ एसपी गिरीले भने, ‘यसलाई रोक्न प्रहरी वा सरकारी निकाय मात्रै लागेर सम्भव छैन, सबैको त्यतिकै भूमिका आवश्यक छ ।’ उनले समुदायस्तरमा जनचेतनामूलक गतिविधि आवश्यक भएको बताए । 

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully