मालागाउँका २४ परिवार ४ वर्षदेखि टेन्टमै

पहिरोले बस्ती जोखिममा परेपछि २०७९ को बर्खामा विस्थापित भएका मालागाउँका बासिन्दा पुनःस्थापनाको आशामा चार वर्षदेखि टेन्टमा रात गुजारिरहेका छन्।

श्रावण ७, २०८३

तर्कराज भट्ट

Twenty-four families of Malagaun have been living in tents for four years

What you should know

डडेल्धुरा — वर्षा सुरु हुनेबित्तिकै आलिताल गाउँपालिका–१ को मालागाउँका बासिन्दाको मनमा त्रास बढ्छ । चार वर्षअघि पहिरोले बस्ती नै जोखिममा परेपछि घर छाड्न बाध्य बनेका २४ परिवार अहिसे पनि स्थायी बसोबासको पर्खाइमा छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बस्ती स्थानान्तरण गर्नुपर्ने निष्कर्ष निकालेको वर्षौं बितिसक्दा पनि पुनःस्थापनाको प्रक्रिया पूरा हुन नसक्दा उनीहरू अस्थायी टेन्टमै कष्टकर जीवन बिताइरहेका छन् ।

२०७९ सालको बर्खामा पहिरोले मालागाउँको जमिनमा चिरा परेपछि बस्तीमा बस्न नमिल्ने अवस्था बनेको थियो । पहिरोपछि गाउँका घरहरू उच्च जोखिममा परेपछि प्राविधिकहरुले बस्ती नै स्थानान्तरण गर्नुपर्ने निष्कर्ष निकालेका थिए । त्यसयता २४ परिवार गाउँको पारिपट्टि रहेको ‘बस्ती’ भन्ने स्थानमा त्रिपालमुनि बस्दै आएका छन् । तर अस्थायी बसोबासका लागि राखिएका टेन्टमै चार वर्ष बितिसक्दा पनि उनीहरूको व्यवस्थापन हुन सकेको छैन ।

टेन्टमा बसिरहेका परिवारका सदस्य अहिले पनि दिनमा घर रहेको स्थान र खेतबारीमा काम गर्न गाउँ फर्किन्छन् । साँझ परेपछि टेन्टमा फर्केर रात बिताउँछन् । पानी परेका बेला दिउँसो पनि टेन्टमै बस्नुपर्ने अवस्था हुने गरेको उनीहरू बताउँछन् । प्रत्येक वर्षायाममा उनीहरू पहिरो र ढुंगा खस्ने त्राससँगै रात काट्न बाध्य छन् ।

मालागाउँका दानबहादुर औजीले सरकारले पुनःस्थापनाको आश्वासन दिए पनि चार वर्षसम्म कुनै उपलब्धि नभएको गुनासो गरे । ‘पहिला दिएको त्रिपाल नै अहिले कुहिन थालेको छ । पानी चुहिन्छ । खोला तरेर गाउँ आउजाउ गर्नुपर्छ । वर्षामा खोला बढेपछि झन् समस्या हुन्छ,’ उनले भने, ‘खानेपानीको व्यवस्था छैन । पाइप बस्तीसम्म ल्याउन सकिएको छैन । खाद्यान्न किन्न पनि गाह्रो छ । काम केही पाइँदैन, परिवार पाल्नै मुस्किल भइरहेको छ ।’

उनका अनुसार टेन्ट र पुरानो बस्तीको बीचमा खोला रहेकाले वर्षाको समयमा आवतजावत पनि जोखिमपूर्ण बन्ने गरेको छ । दैनिक उपभोग्य सामान बोक्नेदेखि बिरामीलाई अस्पताल लैजानसम्म कठिनाइ हुने गरेको उनले बताए ।

अर्की स्थानीय सुनिता औजीले ६ जनाको परिवारसहित चार वर्षदेखि टेन्टमै बस्दै आएको बताइन् । ‘पहिरो गएको दिनदेखि सुरक्षित घरको पर्खाइमा छौं । तर अझै टेन्टमै बस्नुपरेको छ,’ उनले भनिन्, ‘टेन्ट कुहिसकेको छ । माथिबाट ढुंगा खस्ने डर हुन्छ । पानी परेपछि झन् डर लाग्छ ।’ उनका अनुसार साना बालबालिकालाई पिठ्युँमा बोकेर खोला तरेर ओहोरदोहोर गर्नुपर्ने बाध्यता छ । वर्षायाममा खोला बढेपछि जोखिम झन् बढ्ने गरेको उनले सुनाइन् ।

पहिरोपछि मालागाउँका बासिन्दालाई विभिन्न सरकारी निकाय तथा बहुउद्देश्यीय विकास समाज (एमपीडीएस) र ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) लगायतका गैरसरकारी संस्थाले त्रिपाल तथा राहत सामग्री उपलब्ध गराएका थिए । उक्त राहतले तत्कालको समस्या केही हदसम्म समाधान गरे पनि दीर्घकालीन व्यवस्थापन हुन नसक्दा उनीहरू चार वर्षदेखि अस्थायी टेन्टमै बस्न बाध्य छन् ।

स्थानीयका अनुसार टेन्टमा सुरक्षित रूपमा बस्न सकिने अवस्था पनि छैन । त्रिपाल पुरानो भएर चुहिने गरेको छ । खानेपानी, शौचालय, विद्युत् र स्वास्थ्य सेवाजस्ता आधारभूत सुविधा पर्याप्त छैनन् । खाद्यान्न अभाव र रोजगारीको समस्याले दैनिक जीवन थप कष्टकर बनेको उनीहरूको गुनासो छ ।

आलिताल गाउँपालिका–१ का वडाध्यक्ष यज्ञबहादुर देउवाले विगतका वर्षमा गाउँपालिकाले विस्थापित परिवारका लागि व्यवस्थापन तथा खाद्यान्न सहयोगका उद्देश्यले १ देखि २ लाख रुपैयाँसम्म बजेट छुट्याउने गरेको बताए । तर गत वर्षको महालेखा परीक्षकको प्रतिवेदनमा उक्त खर्च बेरुजु देखिएपछि खाद्यान्नका लागि बजेट विनियोजन गर्न नसकिएको उनले जानकारी दिए ।

उनले गाउँपालिकाको तर्फबाट आवश्यकताअनुसार टेन्ट, त्रिपाललगायत आवश्यक सामग्री उपलब्ध गराउँदै आएको बताए । देउवाका अनुसार विस्थापनका लागि प्रस्ताव गरिएको बस्ती भन्ने स्थानको प्राविधिक परीक्षणसमेत सम्पन्न भइसकेको छ । अध्ययनले उक्त स्थान बस्ती बस्न उपयुक्त रहेको निष्कर्ष निकालेको उनले बताए । ‘हामी सुरुदेखि नै २४ परिवारको पुनःस्थापनाका लागि निरन्तर लागिरहेका छौं,’ उनले भने, ‘प्राधिकरणबाट मालागाउँलाई अर्को स्थानमा सार्न प्रक्रिया अघि बढाउन पत्र आएको छ । अब ‘बस्ती’ भन्ने स्थानमा पुनःस्थापनाको प्रक्रिया अगाडि बढ्ने अपेक्षा छ ।’

आलिताल गाउँपालिकाका सब–इन्जिनियर टेक रानाका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पुनःस्थापनाका लागि पत्राचार गरिसकेको छ । प्रभावित घरधुरीको विवरण पालिकाबाट प्रविष्ट गरी जिल्ला प्रशासन कार्यालय हुँदै सम्बन्धित निकायमा पठाउनुपर्ने प्रक्रिया रहेको उनले बताए । ‘पालिकाले प्रभावित घरधुरीको विवरण प्रविष्ट गरी जिल्लामा पठाउँछ । त्यसपछि सम्बन्धित निकायबाट पुनःस्थापनाको प्रक्रिया अघि बढ्छ,’ उनले भने ।

भूगर्भीय अध्ययन, बजेट व्यवस्थापन र प्रभावित बस्ती धेरै भएकाले प्रक्रिया अपेक्षाकृत ढिलो भएको उनको भनाइ छ । उनले मालागाउँको मात्रै होइन, गाउँपालिकाका अन्य धेरै बस्ती पनि स्थानान्तरण गर्नुपर्ने अवस्थामा रहेको बताए ।

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समिति संयोजक अमरबहादुर वलीले मालागाउँको पुनःस्थापनाको विषय राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रक्रियामा रहेको बताए । वलीले मालागाउँको बस्ती स्थानान्तरणको प्रक्रिया पहिलेदेखि नै अघि बढिरहेको बताए । उनका अनुसार प्राधिकरणबाट पछिल्लो पटक प्राविधिक टोलीले स्थलगत अध्ययनसमेत गरेको थियो । उक्त अध्ययनको प्रतिवेदन गत असार ३० मा जिल्ला प्रशासन कार्यालयलाई प्राप्त भएको उनले जानकारी दिए ।

प्रतिवेदनमा विपद् प्रभावित निजी आवास प्रबलीकरण, पुनर्निर्माण तथा पुनःस्थापना अनुदान कार्यविधि, २०८१ को दफा १३ बमोजिम पुनःस्थापनाको प्रक्रिया अगाडि बढाउनुपर्ने उल्लेख भएकाले सोही कार्यविधिअनुसार स्थानीय तहसँग समन्वय गरी आवश्यक प्रक्रिया अघि बढाइने उनले बताए।

आलिताल गाउँपालिकाका अनुसार मालागाउँ मात्र होइन, बलौचा, ओभा, धुपखेडा, खिन्नेभाडी, कोइराली र घोगालगायतका बस्ती पनि पहिरोको उच्च जोखिममा छन् । ती बस्तीको समेत स्थानान्तरण आवश्यक रहेको गाउँपालिकाले जनाएको छ ।

तर्कराज

Link copied successfully