महाकालीमा जलस्तर बढेसँगै मंगलबार बिहानदेखि शारदा ब्यारेजको पुलमा चार पांग्रे सवारी साधन अवागमनमा रोक लगाइएको हो ।
कञ्चनपुर — पहाडी क्षेत्रमा वर्षा नरोकिँदा महाकाली नदीको जलस्तर निरन्तर बढिरहेको छ । सोमबार रातिदेखि नै महाकालीको वहाव बढेको हो । जलस्तर बढेपछि शारदा ब्यारेजको पुलमा मंगलबार बिहानदेखि राेक लगाइएको चार पांग्रे सवारी साधनको अवागमन अझै सुचारु हुन सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी टेकबहादुर रावतका अनुसार मंगलबार दिउँसो १ः३० बजेको मापन अनुसार महाकालीको जलस्तर १ लाख २४ हजार ४५४ क्युसेक पुगेको छ । मंगलबार बिहानदेखि १ लाख क्युसेक नाघेको थियो ।
दार्चुला, बैतडी, डडेलधुरालगायतका पहाडी जिल्लामा लगातारको वर्षाले महाकालीको जलस्तर बढेको हो । महाकालीमा जलस्तर बढेसँगै मंगलबार बिहानैदेखि शारदा ब्यारेजको पुलमा चार पांग्रे सवारी साधन अवागमनमा रोक लगाइएको हो । ठूला सवारी साधन अवागमन बन्द भएपछि यात्रु पैदलै आउजाउ गरिरहेका छन् ।
१ सय वर्ष पुरानो शारदा ब्यारेजको जीर्ण पुलमा जोखिम हुने भन्दै महाकालीमा पानीका वहाव १ लाख क्युसेक नाघ्ने बितिक्कै चार पांग्रे सवारी साधन आवागमनमा रोक लगाइदै आएको छ ।
दैनिक ४ पटक गरेर ७ घण्टा खुल्ने पुलमा चार पांग्रे सवारी साधन बन्द भएपछि यहाँबाट भारतका विभिन्न ठाउँमा जाने यात्रु समस्यामा परेका छन् । महेन्द्रनगरबाट दिल्ली र देहरादुन जाने मैत्री बस सेवा समेत प्रभावित भएको छ ।
