च्याउ खोज्न जाँदा हराएका महिला २६ घण्टापछि घर फर्किए, भन्छन् : जंगली जनावरको डरैडरमा रात काट्यौं

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ र निगुरो खोज्न जाँदा हराएकीमध्ये एक सुक्नीदेवी चौधरीले भनिन्, ‘एउटा ठूलो रुखको फेदीमा सबैजना घेरा लगाएर बस्यौं, राति एकातिर पानी परिरहेको थियो, अर्कोतिर सर्पदेखि जंगली जनावरको डरैडरमा रात बितायौं ।’

श्रावण ४, २०८३

भवानी भट्ट

Woman who went missing while looking for mushrooms returns home after 26 hours, says: We spent the night in fear of wild animals

What you should know

कञ्चनपुर — भीमदत्त नगरपालिका १९ बागफाँटाकी सुक्नीदेवी चौधरीको घर शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज  छेउमै छ । पारि निकुञ्ज बीचमा गोबरैया खोला र वारि उनको घर । बर्खायाममा लुकीछिपी च्याउ र निगुरो टिप्न उनी निकुञ्जको जंगलभित्र पस्ने गर्छिन् । 

आइतबार पनि छोरी सुनिता, बुहारी लक्ष्मीसँगै गाउँका अन्य १४ जनासहित उनी खाना खाएर साढे ११ बजेतिर च्याउ टिप्न भन्दै निकुञ्जभित्र पसिन् । जब जंगलभित्र पसिन् त्यसपछि च्याउ खोज्दाखोज्दै घना वन क्षेत्रमा पुगिन् । सँगै रहेकाहरूले अझै टाढा च्याउ धेरै पाइने भनेपछि उनीहरू बस्तीभन्दा निकै टाढा पुगिसके ।

Woman who went missing while looking for mushrooms returns home after 26 hours, says: We spent the night in fear of wild animals

बिहान धेरै वर्षा भएको थियो । दिउँसो पनि बादल लागेर आकाश खुलेको थिएन । घाम नलागेकाले साँझ परेको उनीहरूले थाहा नै पाएनन् । जब अँध्यारो हुन थाल्यो, त्यसपछि उनले घर फर्किने बाटो नै पाएनन् । आठ/साढे आठ बजेसम्म बाटो खोजे पनि भेटाउन नसकेपछि जंगलमै बस्ने निधो गरेको उनले बताइन् । 

‘कतै हात्तीको आवाज आउन थाल्यो, फेरि जंगलमा जताततै झाडीका कारण अँध्यारोमा बाटो खोज्न सकिने अवस्था नै थिएन,’ उनले भनिन्, ‘एउटा ठूलो रुखको फेदीमा सबैजना घेरा लगाएर बस्यौँ, राति एकातिर पानी परिरहेको थियो, अर्कोतिर सर्पदेखि जंगली जनावरको डरैडरमा रात बितायौं ।’ उनका अनुसार राति रुखको पात खस्दा पनि आङ जिरिंग भइरहेको थियो । नजिकै हात्ती कराएको आवाज आइरहेकाले त्यतिकै डर लागिरहेको थियो । तर भाग्न सकिने अवस्था थिएन । सबैजना चुपचाप लागेर एकै ठाउँमा घेरा हालेर बसेको उनले बताइन् । ‘बाँच्नु रहेछ र केही भएन, राति त घर फर्किने आस थिएन,’ उनले भनिन्, ‘बसीबसी रात काट्यौं, जब उज्यालो भयो त्यसपछि भने केही आशा आयो ।’ 

Woman who went missing while looking for mushrooms returns home after 26 hours, says: We spent the night in fear of wild animals

बिहान जब उज्यालो भयो, त्यसपछि फेरि अघिल्लो दिनको साँझ जस्तै बाटो पहिल्याउने क्रम सुरु भयो । आइतबार साँझ बाटो खोज्दा दुईतीन पटक जम्काभेट भएका हात्तीहरू सोमबार बिहान पनि टाढैबाट देखिए । त्यतिबेला भने सबै डरले थरथर काँप्थे । कहिले पूर्वतिर त कहिले पश्चिमतिर गर्दागर्दै दुई तीन घण्टा बितेको सुक्नीकी छिमेकी सबिता चौधरीले बताइन् । बिहान पनि निकैबेर वर्षा भएको थियो । पानीमा भिज्दाभिज्दै पनि बाटो खोज्न नछाडेको उनीहरू बताए । 

दोस्रो दिनसम्म घर नफर्केका कारण आफ्नो खोजी सुरु भएको हुनसक्ने उनीहरूले अनुमान गरेका थिए । तर सम्पर्कविहीन भएकाहरूलाई सुरक्षाकर्मीको टोलीले भने भेटाउन सकेन । हिँड्दाहिँड्दै करिब ९/१० बजेतिर बाटो पाएपछि उनीहरू घरसम्म आउन सकेका हुन् । ‘बाटो पाएपछि पनि घरसम्म पुग्न तीन/चार घण्टा लाग्यो,’ सुक्नीकी बुहारी लक्ष्मीले भनिन्, ‘रातभरि जंगलको बास, एकातिर वन्यजन्तुको डर, अर्कोतिर सर्प, किराको डर निकै गाह्रो भयो ।’ 

उनले बिहानको समयमा गाडी चलेको आवाज सुनिए पनि गाडी भने टाढाटाढासम्म नदेखिएको बताइन् । त्यही गाडीको आवाजका आधारमा बाटो पहिल्याएको उनले बताए । सँगै गएका १४ जनामध्ये कसैले पनि मोबाइल बोकेका थिएनन् । मोबाइल बोकेको भएमा घर परिवारसँग सम्पर्क गर्न सकिने उनको बुझाइ छ । एक जनाले मोबाइल बोकेकी थिइन् तर सिमकार्ड नभएकाले समय हेर्न मात्रै सकिन्थ्यो । 

Woman who went missing while looking for mushrooms returns home after 26 hours, says: We spent the night in fear of wild animals

‘एक जनासँग पनि मोबाइल हुन्थ्यो भने हामीले जंगलमा बस्नुपर्ने थिएन,’ लक्ष्मीले भनिन्, ‘घनघोर जंगलमा जंगली जनावरसँगको बास निकै डरलाग्दो भयो, अहिले त सोचेर पनि डर लाग्दै छ ।’ उनले आइतबार साँझ घर फर्किने बाटो खोज्ने क्रममा ५ वटा जंगली हात्तीको बथानसँग तीनपटक जम्काभेट भएको बताइन् । जताबाट गएपछि घुमिफिरी हात्ती भएकै ठाउँमा पुगिएको उनले बताइन् । तर हात्तीले नदेखेका कारण ज्यान जोगिएको उनले बताइन् । 

भीमदत्त नगरपालिका १९ बागफाँटाको दशरथ चन्द टोलको ९ जना थारु समुदाय र ५ जना पहाडी समुदायका महिलाहरू निकुञ्जभित्र च्याउ टिप्न गएको अवस्थामा सम्पर्कविहीन भएका थिए । आइतबार सम्पर्कविहीन भएका उनीहरू सोमबार दिउँसो १ बजेतिर मात्रै घर पुगेका थिए । उनीहरूको खोजीका लागि नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका कर्मचारी र हात्तीसँगै ड्रोनको समेत प्रयोग गरिएको थियो । तर पनि भेटाउन सकिएको थिएन् ।  

Woman who went missing while looking for mushrooms returns home after 26 hours, says: We spent the night in fear of wild animals

यसैगरि च्याउ टिप्न गएका बेलडाडी गाउँपालिका-२ का ३ जना महिलाले भने रातभरि रुखमा बसेर ज्यान जोगाए । बिहान प्रहरीलाई फोन गरेर रुखमा बसेको जानकारी दिएपछि उनीहरू सम्पर्कमा आएका हुन् । त्यसपछि प्रहरीले उनीहरूको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी नेत्रमणि गिरीले बताए । 

बर्खायाममा च्याउ र निगुरो टिप्न निकुञ्ज किनारका बासिन्दाहरू लुकीछिपी जंगलभित्र पस्ने गरेका छन् । यसरी जंगलभित्र पसेकाहरू वन्यजन्तुको आक्रमणमा पर्नेदेखि सम्पर्कविहीन हुने गरेका हुन् । कतिपय विषालु च्याउ ल्याएर खाने र बिरामी समेत पर्ने गरेका छन् । ‘निकुञ्जसँगै जोडिएको बस्ती छ, जति गरे पनि रोक्न सकिन्न,’ निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले भने, ‘बर्खाका बेला ठूलो संख्यामा स्थानीय जंगलभित्र बस्ने गरेका छन्, आफैंले सचेत हुनुपर्छ ।’

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully