शुक्लाफाँटा निकुञ्जभित्र सम्पर्कविहीन महिला खोज्न गस्तीसँगै हात्ती र ड्रोन प्रयोग

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ टिप्न गएका १७ जना महिलाको खोजीका लागि सेना, प्रहरी, कर्मचारी, हात्ती र ड्रोन प्रयोग भइरहेको छ ।

श्रावण ४, २०८३

भवानी भट्ट

Elephants and drones used along with patrols to search for missing woman in Shuklaphanta National Park

What you should know

कञ्चनपुर — च्याउ टिप्न शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जंगलमा पसेर सम्पर्कविहीन भएकाहरुको खोजीका लागि सुरक्षाकर्मीदेखि निकुञ्जका कर्मचारी र हात्तीसँगै ड्रोनको समेत प्रयोग भइरहेको छ । 

आइतबार  साँझदेखि नै खोजी कार्य सुरु भए पनि अहिलेसम्म उनीहरु सम्पर्कमा आएका छैनन् । ‘खोजीका लागि नेपाली सेनादेखि प्रहरी र निकुञ्जका कर्मचारीदेखि सबै हात्ती पनि परिचालन गरेका छौं,’ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले भने, ‘अहिले ड्रोनको प्रयोग पनि भइरहेको छ ।’ उनका अनुसार नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, निकुञजका सबै पोष्टका कर्मचारी र स्थानीय जुटेका छन् । 

उनका अनुसार वर्षा भएपछि निकुञ्ज छेउका स्थानीय ठूलो संख्यामा जंगल पस्ने गर्छन् । वर्षाकै कारण उनीहरु हिँडडुल गरेको कुनै पदचाप पनि देखिएको छैन । यसले खोजीमा समस्या भएको छ । ‘अहिले घाँस पनि ठूलो छ, वर्षाले जताततै जान सकिने अवस्था छैन,’ वाग्लेले भने, ‘समूहमा भएका कराण उनीहरु सुरक्षित नै होलान् भन्ने आशा छ, निकुञ्जभित्रै मचानमा बसेका हुन सक्ने अनुमान गरेका छौं, हामी सबै मचानहरुमा हेरिरहेका छौं, अब ड्रोन उडाएर पनि खोजी गरिरहेका छौं ।’ उनले निकुञ्जमा रहेका ९ वटै हात्ती समेत परिचालन गरिएको बताए । निकुञ्जभित्र अहिले ९ वटा पालुवा हात्ती रहेका छन् । 

आइतबार दिउँसो च्याउ टिप्न गएका भीमदत्त नगरपालिका १९ बाग्फाँटाका ११ र बेदकोट नगरपालिका १० चतहरीका ३ गरी १४ तथा बेलडाँडीका ३ गरी जम्मा १७ जना महिला सम्पर्कविहीन भएका थिए । बेलडाँडीबाट निकुञ्ज पसेका महिलाहरुले सिमलको रुखमा बसेको जानकारी प्रहरीलाई दिएका छन् भने भीमदत्त नगरपालिका र बेदकोट नगरपालिकाबाट निकुञ्ज पसेकाहरु अझै सम्पर्कमा आएका छैनन् । 

बर्खायाममा च्याउ टिप्न निकुञ्ज किनारका स्थानीय लुकिछिपी जंगलभित्र पस्ने गरेका छन् । अहिले ठूलो संख्यामा लुकिछिपी जाने गरेको वाग्ले बताउँछन् । निकुञ्जका कर्मचारी र सेनाको गस्तीले मात्रै तिनलाई रोक्न नसकिएको उनले बताए । 

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully