जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी टेकबहादुर रावतका अनुसार अहिले पनि प्रहरी र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले उनीहरूको खोजी गरिरहेको छ ।
कञ्चनपुर — शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएका १४ जना महिला सम्पर्कविहीन भएका छन् । आइतबार दिउँसो च्याउ खोज्न गएका उनीहरू सोमबार बिहानसम्म सम्पर्कमा आएका छैनन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी टेकबहादुर रावतका अनुसार अहिले पनि प्रहरी र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले उनीहरूको खोजी गरिरहेको छ ।
कञ्चनपुरका भीमदत्त नगरपालिका–१९ र बेदकोट नगरपालिका–१० का उनीहरू आइतबार दिउँसो २ बजेतिर च्याउ खोज्न निकुञ्जभित्र पसेका हुन् । उनीहरू सबै महिला रहेको प्रहरीले जनाएको छ । ५ जनाको एउटा र ९ जनाको अर्को गरी उनीहरू दुई समूहमा निकुञ्ज प्रवेश गरेका हुन् ।
भीमदत्त नगरपालिका–१९ का वडाध्यक्ष जोगराम चौधरीका अनुसार बेदकोट नगरपालिका–१० चतहरीका ३ जना र भीमदत्त नगरपालिका–१९ बागफाँटाका ११ जना महिला निकुञ्ज प्रवेश गरेका हुन् । उनीहरूमध्ये केही त एउटै परिवारका समेत रहेका छन् ।