महाकालीमा पानीको बहाव ६० हजार क्युसेक, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

आइतबार बिहान शारदा ब्यारेज (महाकाली नदी)मा पानीको बहाव ३५ हजार क्युसेक आसपास रहेकोमा अपराह्नको मापनअनुसार बढेर ६० हजार क्युसेक नजिक पुगेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले जानकारी दिएका छन् ।

श्रावण ३, २०८३

हरिश्चन्द्र बाग

Water flow in the Mahakali reaches 60,000 cusecs, authorities urge heightened vigilance in coastal areas

What you should know

कञ्चनपुर — पहाडी क्षेत्रमा निरन्तर भइरहेको वर्षासँगै कञ्चनपुरस्थित महाकाली नदीमा पानीको बहाव बढ्दो क्रममा छ । आइतबार बिहान शारदा ब्यारेज  (महाकाली नदी)मा पानीको बहाव ३५ हजार क्युसेक आसपास रहेकोमा अपराह्नको मापनअनुसार बढेर ६० हजार क्युसेक नजिक पुगेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले जानकारी दिएका छन् । उनका अनुसार पहाडी क्षेत्रमा लगातार वर्षा भइरहेकाले नदीको बहाव अझै बढ्न सक्ने सम्भावना छ । त्यसैले महाकाली नदी आसपासका तटीय क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन, नदी किनारमा अनावश्यक आवतजावत नगर्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायबाट जारी गरिएका सूचनाको पालना गर्न आग्रह गरिएको छ ।

प्रशासनले नदी किनारमा माछा मार्ने, नदी तर्ने तथा जोखिमयुक्त गतिविधि नगर्न, आवश्यक परे सुरक्षित स्थानतर्फ सर्न र कुनै पनि आपत्कालीन अवस्था आएमा तत्काल स्थानीय प्रशासन वा सुरक्षा निकायलाई जानकारी गराउन सर्वसाधारणसँग अपिल गरेको छ ।

त्यस्तै, महाकालीसँगै तटीय बस्ती, होचा भूभाग तथा बाढीको जोखिम रहेका क्षेत्रमा निगरानी बढाइएको कञ्चनपुर प्रशासनले जनाएको छ । स्थानीय तह, सुरक्षा निकाय र विपद् व्यवस्थापनसँग सम्बन्धित संयन्त्रलाई आवश्यक तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी कोइरालाले जानकारी दिए । 

जल तथा मौसम विज्ञान विभागले साउन ३ देखि ५ गतेसम्म सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान गरेको छ । विभागका अनुसार निरन्तर वर्षाका कारण साना नदी, खोला तथा नालाहरूमा जलसतह अचानक बढ्न सक्ने, डुबान तथा कटानको जोखिम रहने भएकाले उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

हरिश्चन्द्र बाग कान्तिपुरका कञ्चनपुर संवाददाता हुन्।

Link copied successfully