सरकारले कमैया मुक्त घोषणा गरेपछि थारु समुदायमा रोजगारी, शिक्षा र स्वावलम्बनको नयाँ युग सुरु भएको हो।
What you should know
कञ्चनपुर — बेदकोट–५ धरमपुरका रामदास चौधरीका बुवा कमैया बसेकै घरमा जन्मिएका थिए । बाजेले लिएको ऋण तिर्न नसक्दा उनको परिवार तीन पुस्तासम्म कमैया बस्न बाध्य भयो। रामदासले होस सम्हालेदेखि आफूलाई पनि कमैयाकै जीवनमा पाए। सानैमा गाई बाख्रा चराउने र ठूलो भएपछि खेतबारीमा काम गर्ने, यही नै उनको दैनिकी थियो।
२०५७ साउन २ गते सरकारले कमैया मुक्तिको घोषणा गर्दा उनी निकै खुसी भए। सुरुमा भने कहाँ जाने, परिवार कसरी पाल्ने भन्ने चिन्ताले सतायो। तर सरकारले बसोबासको व्यवस्था गरिदियो, सीपमूलक तालिम पनि दियो। त्यसपछि उनको जीवनले नयाँ मोड लियो।
धरमपुरमा उनले बसोबासका लागि पाँच कट्ठा जमिन पाए। घर बनाउन आर्थिक सहयोग पनि पाए। त्यसपछि कपाल काट्ने तालिम लिए। तालिमपछि बेदकोटकै लालपुरमा सैलुन सञ्चालन गरे। त्यही पेसाबाट उनले परिवार चलाए। अहिले उनका छोराले पनि यही पेसा अपनाएका छन्। छोरा लालपुरमा कपाल काट्ने काम गर्छन् भने रामदास आफैँ धरमपुरमा।
'थाहा फर्केदेखि नै कमैया थिएँ। मुक्ति भएपछि दासत्वबाट मुक्त भएजस्तो लाग्यो,' कमैया मुक्तिको क्षण सम्झिँदै चौधरीले भने, 'सुरुमा केही समय अप्ठ्यारो भयो। तर घर र जमिन पाएपछि हाम्रा पनि सुखका दिन सुरु भए।'
अहिले उनले पक्की घर बनाएका छन् । छोराछोरीलाई उच्च शिक्षासम्म पढाएका छन्। उनीहरू पनि आ–आफ्नो पेसा र रोजगारीमा आबद्ध छन् ।
उनको विवाह पनि कमैया बसेकै बेला भएको थियो। श्रीमती लैया चौधरी पनि उनीसँगै कमैया बसिन्। सानैमा विवाह भएकाले सुरुका दिनमा उनीहरू गाई बाख्रा चराउने काम गर्थे।
धरमपुरकै मेघनाथ डगौंरा अहिले घर निर्माणका मिस्त्री हुन्। कमैया मुक्तिपछि गैरसरकारी संस्थाबाट तालिम लिएर उनले मिस्त्रीको काम सिके। अहिले यही पेसाबाट परिवार पालिरहेका छन्।
'अहिले मन लागे काम गर्छौँ, मन नलागे घरमै बस्छौँ,' डगौंराले भने, 'कमैया हुँदा निकै दुःख थियो। खाने–बस्ने कुरा पनि आफ्नै इच्छाले हुँदैनथ्यो। मालिकले जति बेला भन्यो, त्यही बेला काम गर्नुपर्थ्यो।'
उनका अनुसार कमैया मुक्तिपछि मात्रै आफूले स्वतन्त्र जीवनको अनुभूति गरेका हुन्।
कैलालीको हसुलियाका सुवर्णराम चौधरी अहिले महेन्द्रनगर आसपासका गाउँमा घर निर्माणको काम गरिरहेका छन्। कमैया मुक्तिपछि मजदुरी गर्न महेन्द्रनगर पुगेका उनले त्यही क्रममा मिस्त्रीको काम सिके। अहिले उनी घर निर्माणका सफल ठेकेदार बनेका छन्।
उनका बुवा श्रीराम चौधरी पनि सानैदेखि कमैया बसेका थिए। बुवा कमैया बसेकै घरमा जन्मिएका सुवर्णले पनि त्यो पीडा नजिकबाट भोगेका छन्। कमैया मुक्तिपछि हसुलियामा बसोबासका लागि दुई कट्ठा र खेतीका लागि होचो क्षेत्रमा आठ कट्ठा जमिन पाएपछि परिवारको जीवन बदलिन थाल्यो।
हसुलियाबाट काम खोज्दै महेन्द्रनगर पुगेका उनले घर निर्माणमा मजदुरी गर्न थाले। काम गर्दागर्दै मिस्त्री बने, तालिम पनि लिए। अहिले उनी आफैँ ठेकेदार छन्। यही पेसाबाट उनले धनगढीमा घडेरी किनेर घर बनाएका छन्। छोराहरूलाई पनि धनगढीमै राखेर पढाइरहेका छन्।
'कमैया मुक्तिपछि हाम्रो जीवन फेरियो। सीप सिकेर काम गर्न थाल्यौँ, अहिले राम्रै भएको छ,' सुवर्णले भने, 'अहिले घर निर्माणदेखि अन्य काममा पनि थारु समुदायका कामदार बढी छन्। धेरैले विभिन्न तालिम लिएर राम्रो काम गरिरहेका छन्।'
उनका अनुसार अहिले घर निर्माण क्षेत्रमा काम गर्ने मिस्त्रीमध्ये अधिकांश थारु समुदायका छन् र उनीहरूमध्ये धेरै मुक्त कमैया परिवारका हुन्।
धरमपुरकी सुक्नी चौधरी पनि कमैया मुक्तिले आफ्नो जीवन परिवर्तन भएको बताउँछिन्। 'मुक्तिको घोषणा भएपछि मात्रै हामीमा आशा पलायो,' उनले भनिन्, 'हाम्रो जीवन त्यहीँबाट फेरिएको हो।'
सानैदेखि कमैयाको काम गरेकी उनलाई विगतका ती दिन अहिले सपना जस्तै लाग्छन्। तर मालिकबाट पाएको अपमान, दुःख र गाली भने अझै बिर्सन सकेकी छैनन्।
कमैया मुक्तिपछि सरकारले स्थानअनुसार जमिन उपलब्ध गराउनुका साथै बसोबासको व्यवस्था र सीपमूलक तालिम दिएपछि धेरै मुक्त कमैया रोजगारीमा जोडिए। तर सबैको अवस्था समान छैन। कतिपयलाई नदी वा जंगलको किनारमा जमिन दिइएकाले उनीहरू पुनः विस्थापित भएका छन्। नदी कटानले जमिन बगाएपछि केही परिवारको अवस्था फेरि उस्तै बनेको छ।
