डा. केसी ब्यास गाउँपालिका–१ का छाङरु र टिंकरमा हाडजोर्नी तथा नसारोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न आएका हुन् ।
दार्चुला — चिकित्सा शिक्षा सुधार अभियन्ता एवं हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. गोविन्द केसी छाङरु र टिंकर गाउँका बासिन्दालाई स्वास्थ्य सेवा दिन दार्चुला पुगेका छन् ।
डा. केसी ब्यास गाउँपालिका–१ का छाङरु र टिंकरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न आएका हुन् । उनले यसअघि पनि विभिन्न समयमा दार्चुला पुगेर स्वास्थ्य सेवा प्रदान गरेका थिए । कोरोनाकालमा टिंकर जान आएका उनी बाटोको समस्या भए पछि दार्चुला सदरमुकामबाटै फर्किएका थिए । ‘यसपटक दुर्गम बस्तीका नागरिकलाई प्रत्यक्ष स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ आइपुगेको छु’ उनले भने ।
छाङरु र टिंकर जान अहिले पनि भारतकै बाटो हिँड्नुपर्ने बाध्यता छ । छाङरु र टिंकर जान भारतीय प्रशासनबाट अनुमतिको पखाईमा रहेका डा. केसीले आइतबार दार्चुला सदरमुकाम खंलगामा बसोबास गरिरहेका छाङरु र टिंकरका बासिन्दालाई स्वास्थ्य सेवा दिइरहेका छन् ।
शिविरमा मुख्य रूपमा हाडजोर्नी र नसासम्बन्धी रोगको परीक्षण तथा उपचार सेवा दिइने डा. केसीले बताए । दुर्गम क्षेत्रमा उपकरण नभएकाले जटिल शल्यक्रिया नभए पनि स्थानीय स्वास्थ्य संस्थामा उपलब्ध स्रोत–साधनको प्रयोग गरेर सम्भव भएसम्म शल्यक्रियासमेत गरिने उनले बताए ।
शिविरका लागि आवश्यक औषधि ब्यास गाउँपालिकाले उपलब्ध गराउने भएको छ । छाङरु र टिंकरका स्थानीयको आग्रह तथा आफ्नै प्रतिबद्धता अनुसार ती दुई गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी गरिएको डा. केसीले बताए ।
