भिरालो भूगोल र कमजोर भूबनोटका कारण अछामका १० मध्ये ९ स्थानीय तह बाढी र पहिरोको उच्च जोखिममा रहेको जिल्ला प्रतिकार्य योजनामा उल्लेख छ।
What you should know
अछाम — भिरालो र कमजोर भूबनोटका कारण अछामका १० मध्ये ९ वटा स्थानीय तह बाढी र पहिरोको उच्च जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिले हालै स्वीकृत गरेको ‘विपद् प्रतिकार्य योजना २०८३’ अनुसार बान्नीगढी जयगढ गाउँपालिका मात्र विपद्को मध्यम जोखिममा छ । बाँकी ९ स्थानीय तह उच्च जोखिमको सूचीमा छन् ।
जिल्ला विपद् व्यवस्थापन समितिले प्रकोपको जोखिम र संकटासन्नताका आधारमा गरेको स्तरीकरण (पेयरवाइज र्यांकिङ) मा पहिरोलाई पहिलो प्राथमिकता (अङ्कभार ७) र बाढीलाई चौथो प्राथमिकता (अङ्कभार ४) मा राखिएको छ । यसले अछाममा मनसुनजन्य प्रकोपहरूमध्ये पहिरो र बाढी सबैभन्दा बढी चुनौतीपूर्ण रहेको देखाएको छ ।
साँफेबगर नगरपालिका–४ पुल बजारकी ४९ वर्षीया मिठ्ठु बादीले वर्षाको समयमा धेरैजसो रात छट्पटाएर बिताएको वर्षौं भइसकेको छ । उनका अनुसार छेउमै बग्ने बुढीगंगाले घरसहित पुलबजार डुबानमा पर्ने गरेको छ । साँफेबगरकै पुरानो बजारको रुपमा रहेको यो पुलबजारमा बादी समुदायका तीन गरी अन्य १० परिवारले हरेक वर्ष पीडा भोग्दै आएको मिठ्ठु बताउँछिन् । ‘हरेक वर्षामा बुढीगंगा उर्लेर आउँछ । छेउमै भएको घर डुबान पर्छ । अन्त सरेर जाने ठाउँ कतै पनि छैन पानी परेको दिन रातभरी बाहिरै बस्नु पर्छ । वर्षाको तीन महिना कहिल्यै सुत्न सकिँदैन,’ उनले भनिन्, ‘अघिल्लो वर्ष पनि पुरै बजार डुबानमा पर्यो । त्यतिबेला पनि हामीले बसाइँ अन्त सारिदिनुस् भनेर सबैलाई हारगुहार गर्यौं । अहिले कसैले वास्ता गर्दैनन् ।’
अन्य समुदायका व्यक्तिको अन्त जग्गा भएको र वर्षाको समयमा सर्न सक्ने अवस्था भए पनि बादी समुदायको जाने ठाउँ नरहेको रमेश बादीले बताए । ‘अहिले बसिरहेको ठाउँबाट अन्त सर्नलाई हाम्रो घरजग्गा पनि छैन । भएको घरमा हरेक वर्ष बाढी पस्छ,’ उनले भने, ‘अहिले पनि बादी समुदायले दिनभरी काम गरेर छाक टार्नुपर्ने अवस्था छ । त्यसैमाथि पानी पर्दा भाग्नु पर्छ ।’
वर्षेनी बुढीगंगाले कटान गर्नथालेपछि पुलबजारबासी मात्र नभएर साँफेबगर नगरपालिका नै जोखिममा रहेको छ । बैद्यनाथ धामदेखि साँफेबगर क्षेत्रले हरेक वर्षको डुबान र कटानबाट करोडौंको क्षति बेहोर्नु परेको साँफेबगर नगरपालिका–४ का रामबहादुर कुँवरले बताए । ‘मेरै लालपूर्जामा ५ कित्ता १२ रोपनी जग्गा छ । तर, त्यो सबै बुढीगंगाले कटान गरिसक्यो । यहाँ भएका धेरै खेत अहिले पनि कटानमा परिसकेका छन्,’ उनले भने, ‘नेपालकै चार धाम मध्येको बैद्यनाथ धाम पनि क्षेत्रफलको हिसाबले हरेक वर्ष डुबानमा परेर खुम्चिँदै आएको छ । दीर्घकालीनरुपमा नसोच्ने हो भने साँफेबगर बचाउन नसकिने जोखिम बढ्दै गएको छ ।’
साँफेबगर क्षेत्र बुढीगंगा नदीको कारण जोखिममा रहेको र यसको कारण साँफेबगर नगरपालिका नै जोखिममा रहेको नगर प्रमुख राजेन्द्र कुवँरले बताए । साँफेबगर क्षेत्रको करिब १५ हजार जनसंख्या अहिले पनि उच्च जोखिममा रहेको उनले बताए । ‘साँफेबगरको बजारक्षेत्र पूरै जोखिममा छ । के कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर धेरै खालका योजना पनि बनाइरहेका छौं । तर सरकारकै निकायबाट आउने बजेट पनि सदुपयोग भएको देखिँदैन,’ उनले भने, ‘आफ्नै तरिकाले व्यक्तिले योजना ल्याएर तटबन्धनको काम गरिरहेको देखिन्छ । नगरपालिकासँग कुनै सहकार्य समन्वय हुँदैन ।’
अछामका केही बस्ती पहिरोको पनि उस्तै जोखिममा रहेका छन् । गत वर्ष चौरपाटी गाउँपालिका–६ सेरीपाखाका ९ घरका ४८ जना पहिरोको जोखिमका कारण सामुदायिक स्वास्थ्य इकाइको भवनमा हप्तौंसम्म विस्थापित हुनुपरेको थियो । जमिन भित्रभित्रै चिरा परेको र ठूला ढुङ्गा अड्किएर बस्ती नै बगाउने खतरा भएपछि चौरपाटी गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउँदले लगभग २५ घर नै बस्ती स्थानान्तरण गर्नुपर्ने अवस्था औंल्याएका थिए । त्यतिबेला जिल्ला विपद् व्यवस्थापन समितिले प्राविधिक जाँच र दीर्घकालीन स्थानान्तरणको प्रक्रिया अघि बढाउन नसकेको अध्यक्ष साउँदले बताए ।
जिल्लामा विपद् पूर्वतयारीका लागि आवश्यक सामग्री जुटाउने प्रयास गरिए पनि दक्ष जनशक्ति अभाव मुख्य समस्याका रूपमा देखा परेको छ । आवश्यक स्रोतसाधन भएर पनि जनशक्ति नहुँदा सामग्री थन्किएको पञ्चदेवल विनायक नगरपालिकाकी प्रमुख अम्बिका चलाउनेले बताइन् । ‘विपद् प्राधिकरणबाट आवश्यक सामान ल्याएका छौं । प्रयोग गर्न सक्ने जनशक्ति नभएर त्यत्तिकै थन्क्याइएको छ । अब नेपाली सेनाको सहयोगमा उक्त सामग्री प्रयोगमा आउने हो,’ उनले भनिन् ।
विपद् प्रतिकार्य योजना २०८३ योजनाको तथ्यांक अनुसार ९ दशकको अवधिमा मात्रै अछाममा पहिरोका कारण १ सय ८६ जनाले ज्यान गुमाइसकेका छन् । त्यस्तै, २०७९ भदौ २८ देखि ३१ सम्मको वर्षाका कारण कमलबजार नगरपालिका, ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकामा गएको बाढीपहिरोमा २२ जनाको मृत्यु भएको थियो भने १ जना बेपत्ता भएका थिए । उक्त समयमा ३५ वटा घर पूर्णरूपमा ध्वस्त भएका थिए भने १ सय २५ वटा घरमा आंशिक क्षति पुगेको कार्ययोजनामा उल्लेख छ । सीमित स्रोत र साधनका कारण यो योजनाले जिल्लाभर कुल ५ सय घरधुरीलाई मात्र तत्काल आपत्कालीन सहयोग पुर्याउन सक्ने सीमा रहेको छ।
विपद् प्रतिकार्य योजनालाई थप प्रभावकारी बनाउन जिल्लाका सबै पालिकाहरू सक्रिय हुनुपर्ने र स्थानीय तहको बुझाइमा परिमार्जन आउनुपर्ने अछामका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले बताए । ‘स्थानीय तहमा विपद् व्यवस्थापन समिति छ तर अपेक्षा अनुसार काम गरेका छैनन् । विपद्को सबै काम संघ सरकारको हो भन्ने बुझाइ स्थानीय तहमा देखियो,’ प्रजिअ बुढाले भने,‘विपद्को क्षेत्रमा बजेट व्यवस्थापन गर्न भनेर सुझाव दिएका छौं । कुन स्थानीय तहसँग विपद्को के के सामान छ भन्ने सूची मगाएका छौं । अछाममा भिरालो जमिन बढी भएकाले पहिरोकै जोखिम छ । जोखिम बस्ती पहिचान गर्न स्थानीय तहको सहयोग लिइरहेका छौं ।’
विगतका वर्षहरूमा भएका विपद्का यथार्थ विवरणहरू पूर्णरूपमा प्राप्त नहुँदा संकटासन्नताको स्तर निर्धारणमा केही लचकता अपनाउनु परेको र धेरैजसो पूर्वतयारीका गतिविधि कार्यान्वयन गर्न अझै पनि बाहृय स्रोतमा भर पर्नुपर्ने अवस्था रहेको उनले बताए ।
