सेवाग्राहीले कार्यालय प्रवेश गरेको एक घण्टाभित्र काम सक्ने गरी व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी डिजन भट्टराईले बताए ।
बैतडी — जिल्ला प्रशासन कार्यालय बैतडीले एक घण्टाभित्रै सेवा उपलब्ध गराउने व्यवस्था लागू गरेको छ । कार्यालयले शुक्रबारदेखि ‘वान आवर सर्भिस’ सुरु गरेको हो ।
सेवाग्राहीले कार्यालय प्रवेश गरेको एक घण्टाभित्र सेवा दिइने गरी व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी डिजन भट्टराईले बताए ।
आवश्यक कागजात पूरा भएका सेवाग्राहीलाई नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रलगायतका सेवा कार्यालयमा प्रवेश गरेको एक घण्टाभित्रै उपलब्ध गराइने उनले बताए । सेवा प्रवाहलाई छिटो, सहज र कर्मचारीलाई थप जिम्मेवार बनाउने उद्देश्यले यो सेवा लागु गरेको उनले बताए ।
यसबाट सेवाग्राहीले प्रशासनिक सेवा लिन लामो समय प्रतीक्षा गर्नु नपर्ने अपेक्षा गरिएको छ । पछिल्लो समय जिल्ला प्रशासनमा सेवा लिनेको संख्या पनि घटेको छ । जिल्लाको दक्षिणी क्षेत्र मेलौली र पूर्वी क्षेत्रको पुर्चौडी नगरपालिकामा इलाका प्रशासन कार्यालय संचालनमा आए पछि जिल्ला प्रशासनमा सेवाग्राहीको चाप कम भएको हो ।
