महाकालीमा बाढी नआउँदै असार दोस्रो साता बस्तीमै जम्मा भएको पानीले तटबन्ध भत्काउँदा कुतियाकभरका बासिन्दा फेरि बाढीको त्रासमा छन् ।
What you should know
कञ्चनपुर — महाकाली र जोगबुडा नदी किनारमा तटबन्ध निर्माण भएपछि दोधारा चाँदनी नगरपालिका १० कुतियाकभरका बासिन्दाले विगत भन्दा केही राहत हुने आश गरेका थिए । तर महाकालीमा बाढी नआउँदै असार दोस्रो साताको वर्षाले तटबन्ध भत्काउँदा फेरि चिन्ता सुरु भएको छ । बस्तीमै जम्मा भएको पानीले तटबन्ध भत्काएको हो ।
‘यस वर्ष त तटबन्ध बनेको छ, कटान रोकिएला, सानोतिनो बाढीले अप्ठेरो नगर्ला भन्ने सोचेका थियौं, बाढी नआउँदै तटबन्ध भत्कियो,’ स्थानीय खडके बुढाले भने, ‘महाकालीमा बाढी त आउनै बाँकी छ, बस्तीमै जम्मा भएको पानी बगेर तटबन्ध भत्काइदियो ।’
तटबन्ध भत्केपछि स्थानीयले नगरपालिका र जिल्ला प्रशासनमा मर्मतका लागि माग गरेको उनले बताए । प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले गत साता उक्त स्थलको भ्रमण गरेपछि अहिले मर्मतको काम सुरु भएको उनले बताए ।
महाकालीको बाढीले तीन/चार वर्षदेखि उक्त क्षेत्रमा कटान गर्दै आएको थियो । नैनसिंह सुनार र एनबहादुर सुनारको जमिन कटान गरिरहेको थियो । गत वर्ष ५ करोड बढीको लगानीमा झोलुंगे पुल हुँदै जिरो पोइन्टसम्म ७ सय मिटर तटबन्ध निर्माण गरिएको थियो । उक्त तटबन्ध बनेपछि स्थानीयले केही राहत महशुष गरेका थिए।
अहिले अस्थायी रोकथामका लागि उक्त क्षेत्रमा प्लाष्टिकका बोरा भरेर भत्केको ठाउँमा पुरिँदैछ । गाउँका बृद्धबृद्धादेखि युवा युवाती सँगै नगरपालिका, नेपाली सेना, प्रहरी, स्थानीय र गैरसरकारी संस्थाहरु सहकार्यमा अस्थायी रोकथामको काम भइरहेको हो ।
अहिले महाकाली किनारमा सबै जना प्लाष्टिकको बोरामा माटो भर्नेदेखि खाल्डो पुर्नेलगायतका काममा व्यस्त छन् । करिब आधा जति भरानको काम सकिएको छ । तर जिरो पोइन्टमा तटबन्ध भत्किसकेकाले महाकालीमा ठूलो बाढी आएमा बगाउने जोखिम भने उच्च रहेको छ । त्यसपछि फेरि कटान बढ्दै जाने देखिन्छ । ‘अहिले पक्की तटबन्धको सुरक्षासँगै कटान रोकथामका लागि अस्थायी काम गरिरहेका छौं,’ प्लाष्टिकका बोरामा माटो भर्दै गरेका वडा १० का वडाध्यक्ष चन्द्रबहादुर सिंहले भने, ‘अहिले तत्काल केही गर्न सकिने अवस्था पनि छैन ।’ जोगबुडा र महाकालीमा पानी बढी भएकाले ढुंगालगायत अन्य निर्माण सामग्री ल्याउन सकिने अवस्था नभएकाले काम चलाउ रुपमा काम गर्नुपर्ने बाध्यता आएको हो ।
अध्यक्ष सिंहका अनुसार बस्ती किनारमा तटबन्ध निर्माण गर्दा बस्तीका पानीको निकास दिनुपर्ने आवश्यक थियो । तर त्यतिबेला निकास नदिएका कारण अहिले सामान्य वर्षामा तटबन्ध भत्कियो । ‘एक/दुई ठाउँमा निकासका लागि हृयुमपाइप राख्न भनेका हौं, तर राखेनन्,’ उनले भने, ‘अहिले यस्तो समस्या देखियो ।’ अझ पनि निकास नहुँदा फेरि अर्को ठाउँमा तटबन्ध भत्किने जोखिम रहेको उनले बताए ।
एकातिर जोगबुढा नदी, अर्कोतिर महाकाली र दुवै नदी मिल्ने ठाउँमै कुतियाकवरको बस्ती छ । यही भएर उक्त क्षेत्र कटान र डुबानको उच्च जोखिममा रहेको छ । महाकालीको बाढीले जोगबुडाको बहाव रोकिने र जोगबुडा नदी पूरै बस्तीमा पस्ने भएकाले पनि उक्त क्षेत्रमा वर्षेनी डुबान हुने गरेको छ ।
एकातर्फ भारत र तीनतिर जोगबुडा र महाकालीले घेरिएका कारण यहाँका बासिन्दा बाढीका बेला समेत भाग्न नपाउने गरेका हुन् । जोगबुडा नदीमा निर्मित झोलुंगे पुलसम्म पुग्न समेत निकै समस्या हुने गरेको छ । कतिपयबेला भारततर्फ समेत भाग्नुपर्ने स्थानीय बताउँछन् ।
४२ परिवारको बसोबास रहेको उक्त क्षेत्रमा बाढी पसेमा भाग्ने ठाउँ समेत रहेको छैन । गत वर्ष नेपाली सेना, नगरपालिका र गैरसरकारी संस्थाको सहयोगमा सुरक्षित घरहरु निर्माण भएपछि केही राहत भएको छ । बाढीका बेला सबै स्थानीयलाई बस्नका लागि दुई वटा अग्ला घर निर्माण गरिएका छन् ।
तटबन्धमा क्षति पुगेपछि दोधाराचाँदनी नगरपालिकाले तत्कालका लागि ग्याबिन ब्याग, बालुवाका कट्टा र माटो प्रयोग गरेर भरान गरिरहेको हो । नगर प्रमुख किशोरकुमार लिम्बूका अनुसार थप कटान हुन नदिन तत्काल आपत्कालीन मर्मत गरिएको हो । उनले स्थानीयवासीको श्रमदानमा क्षतिग्रस्त भागलाई अस्थायी रूपमा सुरक्षित बनाइएको जानकारी दिए । 'अहिले तत्काल थप क्षति रोक्ने काम गरिएको छ । सम्बन्धित निकायसँग समन्वय गरेर दीर्घकालीन समाधानका लागि पनि पहल भइरहेको छ,' उनले भने ।
तर स्थानीयको बुझाइमा अहिले गरिएको मर्मतले केही दिन राहत दिए पनि हरेक वर्ष दोहोरिने समस्या अन्त्य गर्न सक्दैन । बाढीसँग जुध्न समुदाय आफैँले पनि तयारीलाई निरन्तरता दिएको छ । कुतियाकभर सामुदायिक विपद् व्यवस्थापन समितिले बर्सेनि मनसुनअघि पूर्वतयारीका गतिविधि सञ्चालन गर्दै आएको छ । जोखिम बढ्नेबित्तिकै सूचना प्रवाह गर्ने, महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई सुरक्षित स्थानमा सार्ने अभ्याससमेत नियमित हुँदै आएको छ ।
कुतियाकभर सामुदायिक विपद् व्यवस्थापन समितिकी सचिव बसन्ती सुनार भन्छिन्, 'हामीले समुदायस्तरमै विपद् पूर्वतयारीलाई प्राथमिकता दिएका छौँ । जोखिम बढ्नासाथ सबैलाई सूचना दिने, सुरक्षित आश्रयस्थलमा सार्ने र आवश्यक समन्वय गर्ने अभ्यास नियमित हुन्छ । अहिले सुरक्षित आश्रयस्थल भएकाले पहिलेभन्दा धेरै सहज भएको छ । तर नदी नियन्त्रणको दिगो योजना नहुँदासम्म हरेक वर्ष यही चिन्ता दोहोरिन्छ । तटबन्ध निर्माणसँगै पानीको निकासको व्यवस्थामा पनि ध्यान दिनुपर्छ ।'
कुतियाकभरमा निर्माण गरिएका दुई सुरक्षित आश्रयस्थल अहिले समुदायका लागि सबैभन्दा ठूलो भरोसा बनेका छन् । बाढी आउँदा मानिसलाई सुरक्षित राख्न मात्र होइन, अन्न, लत्ताकपडा, महत्त्वपूर्ण कागजात र अत्यावश्यक सामग्री जोगाउन पनि यी संरचनाले महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन् । विगतका वर्षमा खुला आकाशमुनि रात बिताउन बाध्य भएका स्थानीय अहिले कम्तीमा सुरक्षित आश्रयस्थलसम्म पुग्न सक्ने अवस्था बनेको बताउँछन् ।
तर उनीहरूका अनुसार सुरक्षित आश्रयस्थल हुनु भनेको समस्या समाधान हुनु होइन । हरेक वर्ष बाढी आउँदा बस्ती नै जोखिममा पर्ने अवस्था कायमै छ । नदीको धार नियन्त्रण, तटबन्धको गुणस्तरीय निर्माण र पानी निकासको दीर्घकालीन व्यवस्थापन नगरेसम्म कुतियाकभरको पीडा अन्त्य नहुने उनीहरूको भनाइ छ ।
महाकाली र जगबुडा नदीको सङ्गम क्षेत्र नजिक रहेको कुतियाकभर भौगोलिक रूपमा अत्यन्त संवेदनशील बस्ती हो । नदीले धार परिवर्तन गरेपछि यो क्षेत्र टापुजस्तै बनेको छ । वर्षायाममा नदीको बहाव बढ्दा मुख्य भूभागसँगको सम्पर्क प्रभावित हुने, खेतीयोग्य जमिन कटान हुने र बस्ती नै डुबानको जोखिममा पर्ने समस्या यहाँका बासिन्दाले वर्षौँदेखि भोग्दै आएका छन् । मनसुन अझै प्रारम्भिक चरणमै छ । यसैले कुतियाकवरका बासिन्दाको चिन्ता झन् बढेको छ ।
