सुदूरपश्चिममा नेकपाले माग्यो मुख्यमन्त्री शाहको राजीनामा

नेकपा संसदीय दलको बैठकले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको पहल सुरु गर्ने निर्णय गरेको हो।

असार ३२, २०८३

अर्जुन शाह

NCP demands resignation of Chief Minister Shah in Sudurpaschim

धनगढी — सुदूरपश्चिम प्रदेश सभामा प्रमुख प्रतिपक्षी रहेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा मागेको छ । 

बिहीबार नेकपा संसदीय दलको बैठकले सत्ता साझेदार रहेको एमालेले सरकारलाई दिइएको समर्थन फिर्ता लिइसकेकोले मुख्यमन्त्री शाहले बहुमत गुमाइसकेको भन्दै तत्काल पदबाट राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुपर्ने निर्णय गरेको संसदीय दलका नेता खगराज भट्टले बताए । 

सुदूरपश्चिममा कांग्रेस नेतृत्वमा एमालेसहितको सरकार थियो । आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमा खटपट भएपछि बुधबार मुख्यमन्त्री शाहले एमालेका मन्त्रीहरुलाई बर्खास्त गरेका थिए । एमालेले पनि बुधबार साँझ नै सरकारलाई दिइएको समर्थन फिर्ता लिएको थियो ।  

नेकपा संसदीय दलको बैठकले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको पहल सुरु गर्ने निर्णय गरेको हो । सुदूरपश्चिम प्रदेश सभामा नेकपा सबैभन्दा ठूलो दल हो । ‘आफ्नै नेतृत्वमा सरकार गठनका लागि अन्य दलसँग छलफल वार्ता गर्न पाँच सदस्यीय टोली गठन गरेका छौं,’ संसदीय दलका नेता भट्टले भने ।

वार्ता टोलीमा नेकपा संसदीय दलका नेता खगराज भट्टसहित प्रदेशसभा सदस्यहरु प्रकाश रावल, मानबहादुर धामी, खुशीराम चौधरी र रमेश धामी रहेका छन् । 

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा २० सांसदसहित (निलम्बित सदस्य र सभामुखबाहेक) नेकपा सबैभन्दा ठूलो दल हो । हाल सरकारको नेतृत्व गरिरहेको कांग्रेसका १८ सांसद छन् । तीमध्ये सांसद प्रकाशबहादुर देउवा लामो समयदेखि अमेरिकामा छन् । एमालेका ११ र १ जना राप्रपा सांसद छन् । १ जना प्रदेशसभा सदस्यको पद रिक्त रहेको छ ।

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully