ताक्लाकोट व्यापार खुला, मानसरोवर प्रवेशमा भने चीनको कडाइ

स्थानीय उत्पादनको व्यापारका लागि ताक्लाकोट जाने चाहने बझाङका ५७ जनाले वैशाखयता प्रवेश अनुमति लिएका छन् ।

असार ३२, २०८३

वसन्तप्रताप सिंह

Taklakot trade open, China strict on Mansarovar entry

बझाङ — बझाङको उरै भञ्जाङ नाका हुँदै तिब्बतको ताक्लाकोट जानका लागि जिल्ला प्रशासन कार्यालय बझाङले चीन प्रवेश अनुमतिपत्र जारी गर्न थालेको छ । गत बैशाखयता ५७ जनाले चीन प्रवेश गर्ने अनुमति पत्र लिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

स्थानीय उत्पादनको व्यापार गर्नको लागि ताक्लाकोट जाने चाहाने बझाङका बासिन्दालाई सिमावर्ती चीनको पुलाङ काउन्टीले समूहगत प्रवेश दिने जानकारी दिएकोले सोही अनुसार प्रवेश अनुमति जारी गरिएको जिल्ला प्रशाशन कार्यालयले जनाएको छ । अनुमति लिनेहरुमा ३१ जनाले पहिला नै जारी गरेको अनुमति नवीकरण गराएको र २६ जनाले नयाँले अनुमती लिएका हुन् । 

प्रशासनले एकवर्षको अवधि हुने गरी अनुमति पत्र जारी गर्दै आएको छ । समूहगत रुपमा बझाङका नागरिकलाई व्यापारिक प्रयोजनको लागि चीन प्रवेश गराउने कामको सहजीकरण चीन साग सीमा जोडिएको साइपाल गाउँ पालिकाले गरिरहेको छ । 

साइपाल गाउँपालिकाले एक सूचना जारी गर्दै व्यापारिक उद्देश्यले चीन प्रवेश गर्न चाहानेहरुलाई आफूसँग बिक्रीको लागि लैजाने सामानको विवरण, जिल्ला प्रशाशन कार्यालयले जारी गरेको प्रवेश अनुमति पत्र र नागरिकतासहित साउन ५ गतेसम्म गाउँपालिकामा सम्पर्क गर्न भनेको छ । 

‘पहिला जस्तो एक्लै दुक्लै मान्छे नपठाउनु, आउने भए जति सक्दो ठूलो ग्रुपमा मात्रै आउनु भन्ने जानकारी उता (तिब्बत)बाट आएको छ,’ साइपाल गाउँपालिकाका अध्यक्ष मानविर बोहराले भने, ‘त्यसैले एक्लै जाँदा कसैले पनि समस्या भोग्न नपरोस भनेर हामीले सबैलाई समूहमा पठाउनका लागि सहजीकरण गरिहेका छौं ।’ 

Taklakot trade open, China strict on Mansarovar entry

पालिकाले तोकिएको मितिभित्र सम्पर्कमा आएकाहरुलाई चीन सरकारको बदलिएको नियम, त्यहाँ गर्न मिल्ने र नमिल्ने कामको बारेमा अभिमुखिकरण गरेर सबैलाई एकै दिन पठाउने तयारी भइरहेको उनले बताए । 

बझाङका स्थानीय बासिन्दाहरूको उरै नाका हुँदै चीनको तिब्बतमा रहेको ताक्लाकोटसाग परापूर्वकालदेखि नै व्यापारिक सम्बन्ध रहेको छ । बझाङबाट हिमाली क्षेत्रमा पाइने जडीबुटी, काठ, कृषि तथा पशुजन्य उत्पादनहरू ताक्लाकोटमा लगेर बेच्ने गर्छन् । विभिन्न जडीबुटीहरू, निगालोबाट बनेको डोको, टोकरी आदी हस्तकलाका सामग्रीहरू र काठका परम्परागत भाँडाकुँडाहरू ताक्लाकोटमा बेच्दा मनग्ये मूल्य पाइने गरेको एक जना व्यापारी राम बोहराले बताए । बझाङबाट सामान लिएर असार, साउनमा तिब्बत जाने व्यापारीहरुले दुई तीन महिना उतै बसेर विभिन्न खालको अस्थायी प्रकृतिको काम पनि गर्ने गर्छन् । फर्किँदा चामल, मैदा, गहुँको पिठो, चियापत्ती मदिरा, तिब्बती नुन, लत्ताकपडा र जुत्ता, चिनियाँ ज्याकेट आदी खरिद गरेर ल्याउने गरेका छन् ।

Taklakot trade open, China strict on Mansarovar entry

कान्तिपुरको समाचारमा पुलाङ प्रशाशनको चासो

कोरोना महामारीअघि यो साउन भदौमा तिब्बतको मानसरोवर तालमा स्नान गर्न र त्यहाँको जल ल्याउन ठूलो संख्यामा बझाङका स्थानीय जाने गर्दथे । यद्यपि कोरोना पछि चीनले मानसरोवर तालमा प्रवेश रोक लगाउँदा बझाङका स्थानीयको कुलपूजा सात वर्षदेखि ठप्प छ । यस्तै बर्खायाममा तिब्बत क्षेत्रका वनमा चरिचरनका लागि भेडाच्याङग्रा तथा चौरीहरु लैजाने परम्परादेखि चल्दै आएको अभ्यासमा पनि चिनियाँ सुरक्षाकर्मीले अवरोध गर्ने र गोठालाहरु माथि दुर्व्यवहार गर्ने गरेका कारण पशुवस्तु लगेर तिब्बत जान पनि स्थानीयहरु असुरक्षित महशुस गर्न थालेको छन् । 

परम्परागत रुपमा चल्दै आएको व्यापारिक गतिविधिमा पनि तिब्बत तर्फबाट कडाई हुन थालेपछि स्थानीयहरु समस्यामा छन् । मानसरोवर तालको जल ल्याएर मन्दिरमा चढाएपछि मात्रै पूजा सम्पन्न हुने परम्परादेखि चल्दै आएको धार्मिक कार्य रोकिएको र चरिचरनका क्रममा चिनियाँ पक्षबाट हुने दुर्व्यवहार लगायत अन्य विषयमा चीनको सिमावर्ती क्षेत्र अधिकारीसँग समन्वय गर्न बझाङ प्रशासनले केही वर्षदेखि प्रयास गरेको भए पनि सफल हुन सकेको छैन ।

Taklakot trade open, China strict on Mansarovar entry

यस विषयमा असार २७ गते कान्तिपुर र काठमाण्डू पोस्टमा समाचार प्रकाशित भएपछि चीनको पुलाङ काउन्टीको सीमा निर्माण तथा विकास ब्यूरो अन्तर्गत परराष्ट्र मामिला कार्यालयका एक अधिकारीले कान्तिपुरमा आएको उक्त समाचारबारे चासो राखेका छन् । ताक्लाकोटमा व्यापार गरिहेका बझाङका स्थानीय जगत तामाङ (दोभासे) मार्फत कान्तिपुरको सम्पर्कमा आएका उनले चीन सरकारले सीमावर्ती नेपाल तर्फका जिल्लाका स्थानीयलाई सीमा सन्धि अनुसार प्राप्त हुने कुनै पनि सुविधाबाट बञ्चित नगरिएको बताए । 

‘व्यापारिक गतिविधिको लागि हामीले प्रवेश सधै खुला राखेका छौं,’ उनले भने, ‘चरिचरनको सवालमा पनि हाम्रो भूमिमा ल्याइने पशुवस्तुमा कुनै रोग नभएको पुष्टि भएमा कुनै रोकटोक छैन ।’ उनले तिब्बत प्रवेश गर्ने पशु चौपायाको स्वास्थ्य जाँच नगरी प्रवेश गर्दा रोग सर्ने सम्भावना भएकोले कडाइ गरिएको हुनसक्ने बताए । ‘सीमा सन्धिमा अर्को देशको ३० किलोमिटर क्षेत्रसम्म मात्रै प्रवेश अनुमति दिने उल्लेख छ । मानसरोवर त्यो भन्दा टाढा पर्छ। उनले बझाङका स्थानियलाई जिल्ला प्रशाशनले जारी गर्ने अनुमति पत्रका आधारमा मानसरोवर प्रवेश अनुमति भने दिन नसकिने बताउँदै भने, ‘कोही व्यक्ति त्यहाँ जान चाहान्छ भने हाम्रो दूतावासबाट भिसा लिएर मात्र प्रवेश गर्न सम्भव छ।’

वसन्तप्रताप सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।

Link copied successfully