गुणस्तरीय बीउ उत्पादन र बजारीकरणलाई प्राथमिकतामा राखिएकै कारण जिल्लाको आलुको बीउको माग बढ्दै गएको हो।
डडेल्धुरा — राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ डडेल्धुराले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेका कार्यक्रमहरूको समीक्षा गर्दै जिल्लाबाट १ करोड ३३ लाख रुपैयाँ बराबरको आलुको बीउ बाहिरी जिल्लामा बिक्री भएको जनाएको छ ।
कार्यालयले हालै आयोजना गरेको स्थानीय तहबाट सञ्चालित पकेट विकास कार्यक्रमको प्रतिवेदन प्रस्तुति तथा वार्षिक प्रगति समीक्षा गोष्ठीमा कार्यालय प्रमुख पीताम्बर बस्नेतले डडेल्धुरामा उत्पादन भएको हिउँदे र बर्खे आलुको बीउले बाहिरी जिल्लामा राम्रो बजार पाएको जानकारी दिए । उनका अनुसार गुणस्तरीय बीउ उत्पादन र बजारीकरणलाई प्राथमिकतामा राखिएकै कारण जिल्लाको आलुको बीउको माग बढ्दै गएको हो।
बस्नेतका अनुसार आर्थिक वर्षभर हिउँदे तथा बर्खे आलु बीजवृद्धि कार्यक्रम सञ्चालन गरिएको छ । आलु उत्पादन वृद्धि, गुणस्तरीय बीउ उत्पादन तथा किसानको आय आर्जन बढाउने उद्देश्यले २ सय ६२ कृषि फर्मलाई प्राविधिक सेवा, अनुदान तथा विभिन्न सहयोग उपलब्ध गराइएको उनले बताए । कार्यक्रम डडेल्धुरा र डोटीका विभिन्न स्थानीय तहमा सञ्चालन भइरहेको छ ।
गुणस्तरीय आलुको बीउ उत्पादनलाई थप व्यवस्थित बनाउन २७ जना व्यावसायिक किसानलाई बीउसम्बन्धी तालिम प्रदान गरिएको कार्यालयले जनाएको छ । बीउविजन प्रयोगशाला सुन्दरपुर, कञ्चनपुरको प्राविधिक सहयोगमा सञ्चालन गरिएको तालिमले किसानलाई प्रमाणित बीउ उत्पादनतर्फ आकर्षित गरेको कार्यालयको भनाइ छ ।
समीक्षा कार्यक्रममा आगामी आर्थिक वर्षका प्राथमिकताबारे पनि जानकारी गराइएको थियो । कार्यालयले आगामी वर्ष आलु बीजवृद्धि कार्यक्रमलाई निरन्तरता दिने, उत्पादनका लागि आवश्यक पूर्वाधार निर्माणमा सहयोग गर्ने, आलुखेतीको क्षेत्र विस्तार गर्ने तथा कृषिमा उद्यमशीलता विकासका लागि अनुदान कार्यक्रम सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ ।
कार्यक्रममा प्रमुख बस्नेतले किसानले उत्पादन बढाए पनि जंगली जनावरबाट हुने क्षति र उत्पादनको उचित बजार व्यवस्थापन अझै मुख्य चुनौतीका रूपमा रहेको बताए । ती समस्याको समाधानका लागि स्थानीय तह र सरोकारवाला निकायबीच समन्वय भइरहेको उनको भनाइ छ ।
