एमाले सांसदहरु बजेटमा कांग्रेसले एकलौटी गरेको आरोप लगाइरहेका छन् भने मुख्यमन्त्री शाह एमालेले नेतृत्व गरेकै मन्त्रालयमा यथेष्ट बजेट विनियोजन गरेको दाबी गर्दै आएका छन् ।
धनगढी — सुदूरपश्चिम प्रदेश सरकारद्वारा असार १ मा प्रदेश सभामा प्रस्तुत आगामी आर्थिक वर्ष ०८३/८४ को बजेट पारित हुन दुई दिन मात्र बाँकी छ । बजेटमािथको छलफल हुन नसक्दा धनगढीस्थित प्रदेश सभा सुनसान छ । तर सुदूरपश्चिमको बजेट विवादमाथि छलफल गर्न मुख्यमन्त्री कमलबहादुर शाहलाई कांग्रेसले काठमाडौं बोलाएर विमर्श गरिरहेको छ ।
मुख्यमन्त्री शाह सोमबार काठमाडौं पुगेर कांग्रेसका शीर्ष नेताहरुसँग छलफल गरिरहेका छन् । मुख्यमन्त्री शाहले कांग्रेस सभापति गगन थापा, उपसभापित विश्वप्रकाश शर्मा, महामन्त्री प्रदीप पौडेललगायतसँग बजेटको उल्झन र एमालेसँगको विवादबारे जानकारी गराएको बताए । ‘हाम्रो पार्टीका शीर्ष नेताहरुले एमाले अध्यक्षलाई भेटेर गम्भिर छलफल गर्ने कुरा भएको छ,’ उनले भने ।
बजेट विनियोजनलाई लिएर सत्तारुढ दल कांग्रेस र एमालेबीच असमझदारी छ । एमाले सांसदहरुले बजेटमा कांग्रेसले एकलौटी गरेको दाबी गरिरहेका छन् भने मुख्यमन्त्री शाह एमालेले नेतृत्व गरेकै मन्त्रालयहरुमा यथेष्ट बजेट विनियोजन गरेको बताउँदै आएका छन् । त्यसक्रममा एमाले संसदीय दलको बैठकद्वारा बजेट अस्वीकार गर्ने निर्णय गरिसकेको छ । सरकारमै रहेको एमालेले शुक्रबार प्रदेश सभा सचिवालयमा खर्च कटौतिको प्रस्ताव दर्ता गराएपछि सुदूरपश्चिम प्रदेश सरकारको बजेट अन्योलग्रस्त छ ।
एमालेका सांसदहरुले बजेटमा खर्च कटौतिको प्रस्ताव दर्ता गराएपछि मुख्यमन्त्री शाहले शनिबार एमालेलाई प्रस्ताव फिर्ता लिन या सरकार छाड्न भनेका थिए । मुख्यमन्त्रीले एमालेलाई सरकार छाड्न भनेपछि दुई दलबीचको तिक्तता झन् बढेको हो ।
मुख्यमन्त्री शाहले एमालेबाट सरकारमा रहेका मन्त्री र संसदीय दलका नेता राजेन्द्रसिंह रावल र मन्त्रीहरुलाई सरकार छाड्न या प्रस्ताव फिर्ता लिन भनेका थिए ।
कांग्रेस नेतृत्वमा रहेको सुदूरपश्चिम प्रदेश सरकारमा एमालेबाट एक राज्यमन्त्रीसहित चार जना सामेल छन् । सुरेन्द्रबहादुर पाल भौतिक पूर्वाधार विकास, वीरबहादुर थापा भूमि ब्यवस्था कृषि तथा सहकारी, हिरा सार्की आन्तरिक मामिला तथा कानुन र निर्मलादेवी साउँद भौतिक पूर्वाधार विकास मन्त्रालयमा राज्यमन्त्री छन् ।
यता, एमालेले भने सरकार नछाड्ने तर सक्ने भए मन्त्री हटाउन चुनौति दिएको छ । एमालेका प्रमुख सचेतक चक्रबहादुर मल्लले कांग्रेसको निगाहबाट एमाले सरकारमा नगएको बताउँदै कांग्रेसले साझेदारीको सरकार भएको भुलेको जिकिर गरे । ‘मुख्यमन्त्रीले बजेट हाइज्याक गरे । अहिलेको बजेट हालसम्मकै सबैभन्दा बेथितिपूर्ण बजेट हो,’ प्रमुख सचेतक मल्लले भने ‘प्रस्तुत बजेट मुख्यमन्त्रीले फिर्ता लिनु पर्यो, अनि हामी खर्च कटौतिको प्रस्ताव फिर्ता लिन्छौं ।’
एमाले संसदीय दलको निर्णय अनुसार तीन जना सांसद प्रमुख सचेतक चक्रबहादुर मल्ल, दलका उपनेता सन्तोष कुमारी शर्मा थापा र दमनबहादुर भण्डारीले खर्च कटौतिको प्रस्ताव दर्ता गराएका हुन् । सरकारले आर्थिक वर्ष ०८३/८४ को बजेट अन्तर्गत मल्लले भौतिक पूर्वाधार विकास मन्त्रालय, शर्मा थापाले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र भण्डारीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको खर्च कटौति गरेर एक रुपैया कायम गर्न प्रस्ताव गरेका छन् । एमाले संसदीय दलको निर्णय अनुसार उनीहरुले प्रस्ताव दर्ता गराएका हुन् ।
मंगलबारसम्म पनि सुदूरपश्चिम सरकारको नेतृत्व गरिरहेको कांग्रेस र सत्ता साझेदार दल एमालेका सांसदहरु आगामी आर्थिक वर्ष ०८३/८४ का लागि प्रस्तुत बजेट पारित नगर्ने निर्णयमा अडिग देखिएका छन् ।
सुदूरपश्चिम सरकारद्वारा प्रस्तुत बजेटप्रति सत्तारुढ दलकै सांसदहरुको चर्को असन्तुष्टि देखिएपछि यसअघि अवस्था अध्ययन गर्न सत्तारुढ सत्तारुढ दुबै पार्टी केन्द्रले गत बुधबार धनगढीमा प्रतिनिधि पठाएका थिए ।
एमालेले अनुशासन आयोगका अध्यक्ष पुष्पराज कँडेल र कांग्रेसले महामन्त्री प्रदीप पौडेललाई धनगढी खटाएको थियो । दुबै नेताले धनगढी पुगेर आआफ्ना दलका सांसदहरुसँग बेग्लाबेग्लै गरेको छलफल बैठकमा दुबै दलका सांसदहरुले बजेटमा बेथिति भएको भन्दै यथास्थितिमा पारित गर्न नसकिने अडान राखेका छन् ।
एमाले नेता कँडेलले सांसदहरुको कुरा सुनिसकेपछि केन्द्रमा गएर रिपोर्टिङ गर्ने बताएको सांसदहरुको भनाई थियो । यस्तै कांग्रेस महामन्त्री पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेशबाट फिर्ता हुन र केन्द्रमै छलफल गर्नुपर्ने भनेपछि उनी ठोस निर्णय नगरी फर्किएको मुख्यमन्क्री शाहले बताएका थिए ।
आर्थिक मामिला मन्त्री विक्रमसिंह धामीले बजेट वक्तब्यमा अगामी आर्थिक वर्षका लागि कूल ३७ अर्ब ७० करोड उल्लेख गरेका थिए । तर एक दिनपछि माक्र सार्वजनिक गरिएको बजेट वक्तव्य पुस्तिकामा भने ३७ अर्ब ७० करोड ३९ लाख ६६ हजार उल्लेख छ । मन्त्री धामीले बजेटमा चालु र पुँजीगत, मन्त्रालयगत छुट्टाइएको रकम समेत उल्लेख गरेका थिएनन् । सुदूरपश्चिममा सरकार फेरबदलकै कारण यसअघि ०८१/८२ मा बजेट समयमै पारित हुन नसक्दै प्रदेश सरकार बजेट शून्यतामा गएको थियो ।
