शनिबार राति झोलुंगे पुल भएर आएका हात्तीहरु फर्काउन दिनभरि ड्रोन उडाउनेदेखि, साइरन बजाउने र फायरिंग समेत गरेको थियो । मध्यरातमा हात्ती आफैं आएकै बाटो फर्किएका हुन् ।
कञ्चनपुर — महाकाली नदीमा निर्मित चार लेनको पक्की पुल छेउमै रहेको पोखरीमा आइतबार बिहान देखिएका तीन वटा हात्ती मध्यराति मात्रै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र पसेका छन् । शनिबार राति झोलुंगे पुल भएर आएका हात्तीहरु त्यही बाटो भएर फर्किएका हुन् ।
निकुञ्ज प्रशासन र प्रहरीले विभिन्न उपाय गर्दा पनि हात्तीलाई फर्काउन सकिएको थिएन । दिनभरि ड्रोन उडाउनेदेखि, साइरन बजाउने र फायरिंग समेत गरेको थियो । तर मध्य रातमा हात्ती आफैं आएकै बाटो फर्किएका हुन् ।
बस्ती छेउमै तीन वटा जंगली हात्ती पुगेपछि स्थानीय त्रसित बनेका थिए । दिनभरि विभिन्न प्रयास गर्दा पनि निकुञ्जमा फर्काउन नसकेपछि राति बस्तीमा पस्ने जोखिम समेत थियो । यसका लागि निकुञ्जका कर्मचारी र सुरक्षाकर्मीले पहरा दिएका थिए ।
निकुञ्जबाट आएर हात्तीहरु बस्तीमा पसेको पहिलो पटक भने होइन । कहिले बथानमै त कहिले एक/दुईको संख्यामा हात्तीहरु बस्तीमा पस्ने गरेका छन् । बेलाबेलामा खेतीपाती र मानवीय क्षति पनि हुने गरेको छ । निकुञ्ज आसापासका बासिन्दा वर्षेनी यस्तो समस्या भोग्दै आएका छन् ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्ले हात्ती प्रमुखतया दुई वटा कारणले बस्ती पस्ने बताउँछन् । ‘पहिलो परम्परागत मार्गमा यदि बस्ती बसेको छ भने उसले आफ्ना पुर्खाको बाटो पछ्याउँछ । यसमा प्रायः बथानसहित हिँडडुल गर्दछ ।
दोस्रो समूहबाट अलग्याइएका वा बहिस्कारमा परेका हात्ती बस्तीमा पस्ने गरेका छन् । यस्ता हात्ती एक/दुईको संख्यामा वा सानो समूहमा हुन्छन् । यिनले बस्तीमा उपद्रो समेत मचाउन सक्नछ्,’ उनले भने, ‘अहिले पोखरीमा देखिएका हात्ती पनि समूहबाट अलग्गिएका हुन सक्छन्, तर तिनको विचरणबारे अनुगमन भने गर्न बाँकी छ ।’ पोखरीमा पानी र चर्नका लागि प्रशस्त घाँस भएकाले आफुलाई सुरक्षित महशुस गरेको पनि हुन सक्ने उनले बताए ।
हात्ती प्रायः बथानमा हिँड्ने मातृसत्तात्मक प्राणी हो । पोथी हात्तीले बथानको नेतृत्व गर्छ । भालेहरु बयस्क भए पनि समूहमा गलत काम गर्दा बहिस्कारमा पर्ने गर्छन् । यसरी बहिस्कारमा परेकाहरु एक्दै भौतारिने र कतिपय बेला बस्तीमा पसेर उपद्रव मचाउने वाग्ले बताउँछन् । गत वर्ष निकुञ्ज छेउमै एक महिलाको ज्यान लिने हात्ती पनि पुच्छर नभएको भाले नै थियो । त्यो हात्ती पनि बहिस्कारमै परेका हुन सक्ने अनुमान छ । हात्तीले आफ्ना पुर्खाले हिँडेको बाटो पछ्याउने भएकाले परम्परागत मार्गका धेरै ठाउँमा बाक्लो बस्ती बसिसकेकाले हात्ती र मानवबीच द्वन्द्व हुने गरेको उनले बताए ।
‘हात्ती लामो दुरीसम्म हिँड्ने जनावर हो, कतिपयबेला मिठो आहारा खोज्दै बस्तीमा पनि पस्ने गर्छ,’ राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रम प्रमुख लक्ष्मीराज जोशीले भने, ‘अहिले धान रोपाइँ भइसकेको छ, कतै कतै उखु पनि छ, त्यही मिठो आहारा खोज्दै बाहिर निस्कने गर्छ ।’ उनका अनुसार महाकाली किनारमा देखिएका हात्ती शुक्लाफाँटाबाट आएर महाकाली तरेर दोधारा चाँदनी हुँदै भारतको नन्धौर वन्यजन्तु आरक्षसम्म जानका लागि निस्केको हुन सक्छ ।
पोखरीमा घास पानी भएकाले राम्रो आहारा खोज्दै आउजाउ गर्ने गरेको पनि हुन सक्ने जोशी बताउँछन् । पछिल्लो समय शुक्लाफाँटामा पनि हात्तीको संख्या बढेको छ । बाह्रै महिना ठूलो संख्यामा हात्तीहरु देखिने गरेको जोशी बताउँछन् । यसकारण आहारा खोज्दै हात्ती बाहिर आएको पनि हुन सक्ने उनले बताए ।
उनका अनुसार हात्ती लामो दुरीसम्म हिँड्ने भएकाले यसलाई आहारा पनि बढी चाहिन्छ । दिनमा १८/२० घण्टासम्म चर्नुपर्ने भएकाले खेतीपातीको सिजनमा बाहिर आउने हात्ती धान र उखु खान पल्केकाले नियमितजसो बस्तीमा पस्ने गरेको उनले बताए । पोखरीमा देखिएका हात्ती शुक्लाफाँटा राष्ट्रिय निकुञ्जकै रैथाने भए/नभएको विषयमा भने अब अध्ययन गरिने संरक्षण अधिकृत वाग्ले बताउँछन् । निकुञ्जका कतिपय हाक्ती विचरणकै त्रममा पनि यहाँ पुग्ने गरेका छन् ।
