घुम्तीमा व्याक गरेर मोड्न खोजेको जिप भीरबाट ३०० मिटर तल खस्दा तीन जनाको घटनास्थलमै ज्यान गएको हो ।
काठमाडौँ — शनिबार बझाङको केदारस्यूँमा भएको जिप दुर्घटनामा ज्यान गुमाएकी ६० वर्षीया कुटुरीदेवी महत श्रीमान्को मृत्युपछि विक्षिप्त थिइन् । गत जेठ २६ मा पति प्यारुलालको मृत्यु भएपछि उनको व्यवहार अस्भाविक बन्दै गएको थियो ।
घरी टोलाउने, एक्लै बर्बराउने गर्न थालेकी कुटुरी बिहीबार घरबाट घाँस काट्न हिँडेपछि हराएकी थिइन् । सोही दिनदेखि उनको खोजीमा जुटेका गाउँलेहरु थकित र निरास भइसकेका थिए । उनको खोजीका लागि छिमेकीहरु आफन्त र नातागोता भएका अन्य गाउँसम्म पनि गए । शनिबार बिहान एक्कासी बुगंल नगरपालिकाको जंगलमा उनी जिवितै फेला परिन् ।
आमा हराएपछि चिन्तामा डुबेकी उनकी छोरी विमला महत धामी सबैभन्दा खुसी भइन् । हराएकी आफन्त भेटेर सबै गाउँले हर्षित भए । तर चुवावनवासीको यो खुसी पाँच घण्टा पनि टिक्न दिएन ।
छोरीको घर केदारस्यूँको काँडाचौरमा खोज्न गएका सबैले खाना खाए । तीन दिनदेखि हराएकी, भोकप्यासले कमजोर भएकी आमालाई हिँडाएर दुर्गाथली–६ मा पर्ने चुवावन गाउँ लैजान छोरीको मनले मानेन । आफ्नै श्रीमान् जिप चालक भएकाले गाडीमै गाउँ लैजाने तयारी गरिन् ।
गाडीमा अट्ने जति खोज्न गएका आफन्तहरुलाई समेत राखेर विमला पनि आमाको छेउको सिटमा बसिन् । ‘उहाँहरु सबै गाडीमा बस्ने ठाउँ नभए पछि खोज्न गएका हामी ६/७ जना हिँडेरै आयौं,’ दुर्घटनाका प्रत्यक्षदर्शी समेत रहेका मृतकका आफन्त दिपक जाग्रीले भने, ‘हामी छोटोबाटो भएर ओल्लो डाँडामा पुगेका थियौं । पारि सुगुरेको घुम्तीमा जिप खस्दै गरेको सुनियो ।’
त्यसपछि आफुहरु दौड्दै घटनास्थमा पुग्दा कुटुरी, उनकी छोरी विमला र देवर चक्र महतको घटनास्थमै ज्यान गएको उनले बताए । ‘हराएको मान्छे भेटिनु भयो भनेर सबै खुसी भएका थियौं,’ मृतक कुटुरीका भदा नाता पर्ने जाग्रीले भने, ‘हाम्रो खुसी दैवले देख्न सकेन । गाउँभरी रुवाबासी भइरहेको छ ।’
यो घटनामा जिप चालक मृतक विमलाका श्रीमान् देव धामी सहित सात जना गम्भीर घाइते भएका छन् । उनीहरुलाई थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टर र स्काइट्रक मार्फत काठमाडौं, नेपालगन्ज र सुर्खेत लगिएको छ ।
शनिबार नै नेपाली सेनाको हेलिकप्टर घाइतेको उद्धारका लागि बझाङ आएको भए पनि खराब मौसमका कारण घटनास्थलमा अवतरण गर्न सकेको थिएन । हेलिकप्टरबाट उद्धार सम्भव नभए पछि घटनाको झण्डै १० घण्टा पनि घाइतेहरुलाई सडक मार्गबाट जिल्ला अस्पताल ल्याइएको थियो । घाइतेमध्ये देव धामीको अवस्था चिन्ताजनक रहेको उपचारमा संलग्न जिल्ला अस्पतालका चिकित्सकहरुले जनाएका छन् ।
साँघुरो घुम्तीमा दुर्घटना
प्रहरीका अनुसार १६ जना यात्रु बोकेको उक्त सुपप्र ०१–००१ च २६६४ नम्बरको बोलेरो जिप केदारस्यूँ गाउँपालिका–७ मा पर्ने सुगुरे घुम्तीमा दुर्घटना भएको थियो ।

घुम्तीमा मोड्ने ठाउँ नपुगे पछि चालकले व्याक गरेर मोड्न खोज्दा जिप भीरबाट करिब ३०० मिटर तल खसेको जिल्ला प्रहरी प्रमुख डिएसपी टेकबहादुर जोराले बताए । ‘साँघुरो घुम्ती भएका कारण नै जिप खसेको देखिन्छ,’ उनले भने । चालक समेत गम्भीर घाइते भएको हुनाले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ ।
घटनापछि आइतबार बसेको पालिका प्रमुखसहितको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले घाइतेको उपचार खर्च सबै पालिकाले बेहोर्ने निर्णय गरेको छ ।
जिल्लास्थित सबै स्थानीय तहहरुले कम्तीमा २ लाख ५० हजार रकम उपलब्ध गराउने र जिल्लास्थित राजनैतिक दल, उद्योग वाणिज्य संघ, गैर सरकारी संस्था तथा अन्य व्यक्तिबाट पनि स्वेच्छिक सहयोगका लागि अनुरोध गर्ने निर्णय गरेको दुर्गाथली गाउँपालिकाका अध्यक्ष दिलबहादुर थापाले जानकारी दिए ।
घाइतेहरुको औषधि उपचारका लागि आवश्यक सहायता उपलब्ध गराउन गृह मन्त्रालय तथा सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरिएको समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले बताए । ‘साँघुरा घुम्ती, वर्षा, वाढी, नदी कटान, पहिरोलगायतका कारण सडकहरु भत्किने, माटो थुप्रिने, नदी खोलाले कटान गर्ने समस्याको बारेमा पनि बैठकमा छलफल भएको छ,’ उनले भने, ‘विभिन्न कारणले सडकमा बढ्ने जोखिम कम गर्नको लागि स्थानीय तहहरुले आ–आफ्नो पालिकाका सडकको मर्मत सम्भार र घुम्ती सुधार गर्ने निर्णय पनि गरिएको छ ।’
बझाङमा यसअघि पनि साँघुरा घुम्तीमा गाडी मोड्न पर्याप्त ठाउँ नहुँदा यस्तै खाले दुर्घटना भएका थिए । पटक पटक दुर्घटना हुँदा पनि प्रदेश सरकार र पालिकाहरुले सडक सुधार र सुरक्षामा ध्यान नदिएको भन्दै आलोचना हुने गरेको छ ।
