बझाङ केदारस्यूँ गाउँपालिका–७ मा शनिबार भएको बोलेरो जिप दुर्घटनामा गम्भीर घाइते भएका चार जना नेपालगन्ज रिफर गरिएको छ भने दुई जनालाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ ।
सुर्खेत — बझाङ केदारस्यूँ गाउँपालिका–७ मा शनिबार भएको बोलेरो जिप दुर्घटनामा गम्भीर घाइते भएका चार जना नेपालगन्ज रिफर गरिएको छ भने दुई जनालाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ । अन्य चार जनाको नेपालगन्जमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बुंगल नगरपालिकाबाट दुर्गाथली गाउँपालिकातर्फ जाँदै गरेको सुप्रप्र ०१–००१ च २६६४ नम्बरको बोलेरो जिप शनिबार दिउँसो केदारस्यूँ गाउँपालिका–७ मा दुर्घटनामा परेको थियो। दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए।
घाइतेमध्ये गम्भीर अवस्थामा रहेका ६ जनालाई प्राथमिक उपचारपछि आइतबार नेपाली सेनाको दुईवटा हेलिकोप्टरमार्फत नेपालगन्ज र सुर्खेत रिफर गरिएको छ । पश्चिम एयर वेशका अनुसार सुर्खेत पुर्याएका दुईजनालाई काठमान्डौ लिने तयारी गरेको छ ।
दुर्घटनापछि उद्धारका लागि शनिबार नै नेपाली सेनाको हेलिकोप्टर बझाङ पुगे पनि प्रतिकूल मौसमका कारण दुर्घटनास्थलमा अवतरण गर्न सकेको थिएन। त्यसपछि हेलिकोप्टर सदरमुकाम चैनपुरमा अवतरण गरी घाइतेलाई एम्बुलेन्समार्फत जिल्ला अस्पताल बझाङ पुर्याइएको थियो। अस्पतालमा आवश्यक उपचार सम्भव नभएपछि आइतबार उनीहरूलाई पालैपालो हेलिकोप्टरमार्फत नेपालगन्ज पठाइएको थियो।
