गाउँपालिकाले चार वर्षयता प्राविधिक धारतर्फ उच्च शिक्षा अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिइदै आएको अध्यक्ष कर्णसिंह साउँदले बताए ।
बैतडी — बैतडीको शिवनाथ गाउँपालिकाले प्राविधिक धारतर्फ उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । गाउँपालिकाले चार वर्षयता प्राविधिक धारतर्फ उच्च शिक्षा अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए ।
‘यो बर्ष प्राविधिक धारतर्फ उच्च शिक्षा अध्ययन गर्ने ८ जनालाई ५ लाख रुपैयाँ छात्रवृत्ति दिएका छाैं,’ उनले भने, ‘आवेदन परेकामध्ये छात्रवृत्ति व्यवस्थापन समितिले छनौट गरेका विद्यार्थीलाई छात्रवृत्ति दिएका हौं ।’
यो वर्ष सचिनकुमार साउँदलाई एमबीबीएस अध्ययन गर्नका लागि १ लाख २५ हजार निरज धनाडीलाई बीइ सिभिल अध्ययनका लागि ७५ हजार रुपैयाँ प्रदान गरिएको छ । यस्तै बीएस्सी एजी अध्ययन गर्नका लागि नवीन साउँद, मनिष महता, प्रतिभा साउँद, दिपक चन्द, प्रवीणसिंह साउँद र अञ्जली साउँदलाई दिइएको छ । उनीहरुलाई जनही ५० हजारका दरले छात्रवृत्ति प्रदान गरिएको हो ।
गाउँपालिकाले गाउँपालिकाभित्र स्थायी बसोबास भएका प्राविधिक धारतर्फ उच्च शिक्षा पढ्दै गरेका विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन आहृवान गरेको थियो । आवेदनबाट छनौट भएका विद्यार्थीहरुलाई छात्रवृत्ति दिइएको हो ।
गाउँपालिकाले शैक्षिक छात्रवृत्ति व्यवस्थापन कार्यविधि बनाएर सोही अनुसार छनौट भएका विद्यार्थीहरुको खातामा छात्रवृत्ति बापतको रकम जम्मा गर्ने गरेको प्रमुख प्रशासकीय अधिकृत एकराज आचार्यले जानकारी दिए ।
आर्थिक अवस्था कमजोर भएकै कारण प्राविधिक धारतर्फ उच्च शिक्षा अध्ययन गर्ने अवसरबाट विद्यार्थीहरु बञ्चित नहोउन् भनेर छात्रवृत्ति प्रदान गर्ने गरिएको अध्यक्ष साउँदले बताए ।
