बेलौरीदेखि बेलडाँडीसम्मको २० किलोमिटर सडकको काम अलपत्र अवस्थामा छ ।
What you should know
कञ्चनपुर — कञ्चनपुरमा हुलाकी सडक निर्माणको काम सुरु भएको एक दशक पुग्यो । तर अहिले पनि निर्माण कार्य पूरा हुन सकेको छैन । काम झनै अलपत्र परेको छ ।
कञ्चनपुरमा हुलाकी सडक निर्माणका लागि तीन वटा प्याकेजमा ठेक्का भएको थियो । जसमध्ये डोकेबजारदेखि बेलौरीसम्म र बेलडाँडीदेखि दैजीसम्मको सडक खण्डको काम सम्पन्न भइसकेको छ । तर बेलौरीदेखि बेलडाँडीसम्मको २० किलोमिटर सडकको काम अझै अलपत्र अवस्थामा छ ।
उक्त सडक खण्ड निर्माणका लागि २०७३ फागुन १३ मा ४१ करोड ४१ लाख ४९ हजारमा ठेक्का सम्झौता भएको थियो । २०७५ भदौ २६ सम्म काम गर्ने अवधि भए पनि ७ पटक म्याद थपेर २०८२ कात्तिक २५ सम्म पुर्याइएको थियो । ९ वर्षसम्म पनि सडक निर्माणको काम पूरा नभएपछि गत मंसिर २४ मा ठेक्का तोडेर निर्माण कम्पनी बाबाहंश सिद्धिशाहीलाई कालोसूचीमा समेत राखियो ।
ठेक्का तोडिएको झण्डै एक वर्षसम्म पनि सडक निर्माणको प्रक्रिया अझै सुरु भएको छ । उक्त सडक खण्डमा खाल्डाखुल्डीका कारण जिल्लाको दक्षिणी क्षेत्रका बासिन्दालाई आउजाउमा निकै समस्या भइरहेको छ । स्थानीयले सडक निर्माणका लागि दबाव दिन पटक पटक सांकेतिक रुपमा विरोध पनि जनाउँदै आएका छन् ।
‘ठेक्का तोडिएपछि नयाँ ठेक्का खोल्ने काम अगाडी बढेको छ, आगामी आर्थिक वर्षमा ठेक्का खुल्छ होला,’ हुलाकी सडक आयोजना कार्यालय धनगढीका इन्जिनियर प्रमोद चौधरीले भने, ‘विगतमा काम नगर्ने निर्माण कम्पनीलाई कालोसूचीमा राखेर, बाँकी कामको मूल्यांकन गरेर असुल गर्न पनि पत्राचार भइसकेको छ ।’
बेलौरी नगरपालिकाको बुटाबारीदेखि बेलडाँडीसम्मको दोस्रो प्याकेजको उक्त ठेक्का अन्तरगत ७७ प्रतिशत भौतिक प्रगति भएको इन्जिनियर चौधरीले बताए । पटक पटक म्याद थप गर्दा पनि निर्माण कम्पनीले काम नगरेपछि अन्तिम अवस्थामा ठेक्का तोडेको उनले बताए । ठेक्का तोडेपछि निर्माण कम्पनीलाई दुई वर्षसम्म कालोसूचीमा राख्नुका साथै बाँकी रहेको कामका लागि ३० करोड असुल गर्न समेत पत्राचार भएको बताए ।
उक्त सडक खण्डको बेलौरी नगरपालिका–८ मा पर्ने पचुई क्षेत्रमा भारतीय सीमा सुरक्षा बल(एसएसबी) ले सीमा विवाद सृजना गरेका कारण पनि काम गर्न केही समस्या देखिएको छ । उक्त क्षेत्रमा एसएसबीले सडक निर्माण भइरहेको क्षेत्र दशगजामा पर्ने भन्दै पटक पटक अवरोध सृजना गरेको छ । तर सडक नेपाल–भारत सीमा स्तम्भ भन्दा टाढा छ । पछिल्लो पटक स्ट्रीप नक्साका कारण सडक दशगजामा पर्ने भन्दै एसएसबीले अवरोध गर्दै आएको छ । उक्त क्षेत्र छाडेर नयाँ ठेक्का प्रक्रिया अघि बढाइने इन्जिनियर चौधरी बताउँछन् ।
जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बेलडाँडी, बेलौरी र पुनर्वासलगायतका स्थानीय तहलाई जिल्ला सदरमुकामसँग जोड्ने यो प्रमुख सडक हो । लामो समयसम्म सडक निर्माण नहुँदा स्थानीयले सास्ती भोगिरहेका छन् । विगतमा उनीहरुले निर्माण कम्पनीविरुद्ध आन्दोलन समेत गर्दै आएका थिए ।
