घोडाघोडी नगरपालिका–५ हरिनगरस्थित दरख माविमा लागुऔषध दुर्ब्यसनविरुद्धको सचेतना कक्षामा डीएसपी चौधरीले ‘हामी बालेनको पुलिस पनि होइन, नेपाल पुलिस हो । अन्याय अत्याचारमा परेकाहरुलाई न्याय दिलाउने पुलिस हो...’ भनेका थिए ।
What you should know
धनगढी — कैलालीको एक विद्यालयमा आयोजित सचेतना कार्यक्रममा ‘हामी बालेनको पुलिस पनि होइन, नेपाल पुलिस हो...’ भन्ने अभिव्यक्ति दिएका नेपाल प्रहरीका डीएसपीलाई जिल्ला प्रहरी कार्यालय झिकाइएको छ । उनलाई प्रहरी प्रधान कार्यालय नक्सालदेखि प्रदेश प्रहरीको सर्कुलरपछि झिकाइएको हो ।
कार्यालय स्रोतका अनुसार डीएसपी चौधरीलाई झिकाएर स्पष्टीकरण सोधिएको र विद्यालय गएर नै छानबिन गरिने भएको छ ।
इलाका प्रहरी कार्यालय सुख्खड कैलालीमा कार्यरत डीएसपी प्रसन्नराज चौधरीले मंगलबार घोडाघोडी नगरपालिका–५ हरिनगरस्थित दरख माविमा लागुऔषध दुर्व्यसनविरुद्धको सचेतना कार्यक्रममा ‘हामी बालेनको पुलिस पनि होइन, नेपाल पुलिस हो । अन्याय अत्याचारमा परेकाहरुलाई न्याय दिलाउने पुलिस हो...’ भन्ने अभिव्यक्ति दिएका थिए ।
विद्यार्थीहरुलाई लागुऔषध दुर्व्यसनका जोखिमबारे चर्चा गर्ने त्रममा उनले उक्त टिप्पणी गरेका थिए । उक्त सन्दर्भको भिडियो सार्वजनिक भएपछि डीएसपी चौधरीलाई बुधबार जिल्ला प्रहरीमा झिकाइएको हो ।
तर, कैलालीका प्रहरी प्रवक्ता योगेन्द्र तिमिल्सिनाले सुख्खडमा विद्यार्थीमाझ दिएको अभिव्यक्तिका कारण नभइ स्थानीयको अन्य गुनासोबारे बुझ्न डीएसपी चौधरीलाई सोधपुछका लागि जिल्ला झिकाइएको बताए । ‘सुख्खडका स्थानीयले उहाँको भूमिकाप्रति गुनासो गर्दै आएका थिए, सोही सन्दर्भमा बुझगाझ तथा नियमित रिपोर्टिङका लागि बुधबार जिल्ला बोलाइएको थियो,’ प्रवक्ता तिमिल्सिनाले भने, ‘विद्यालयमा उहाँले बोलेको कुरा भारल भएपछि संयोग हुन गएको हो । त्यस विषयमा पनि छलफल त हुने नै भयो ।’
डीएसपीले आफूले बोलेको कुरामा कुनै ग्लानी नभएको बताउँदै आएका छन् । बालबालिका विद्यार्थीहरुलाई उत्प्रेरणा होस् भनेर उदाहरण दिएर बोले पनि त्यो भनाइ मात्रै भाइरल बनाइएको उनको दाबी छ ।
इलाका प्रहरी कार्यालय सुख्खडले विद्यालयसँग समय मागेर लागुऔषध दुर्व्यसनविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको विद्यालयका शिक्षक दिनेश लामिछानेले बताए । ‘सुख्खडका माध्यमिक विद्यालयहरुमा प्रहरीले लागुऔषध दुर्ब्यसनविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने सल्लाह अनुसार हाम्रो विद्यालयमा पनि सञ्चालन भएको हो । कक्षा ९ र १० का विद्यार्थीलाई सहभागी गराएका थियौं,’ शिक्षक लामिछानेले भने, ‘उहाँले विद्यार्थीलाई कक्षा सञ्चालन अवधिभर त्यो भाइरल भएको विषय हामीलाई नोटिसै थिएन । पछि त्यो क्लिप भाइरल भएको देखेपछि हामीले थाहा पाएका हौं ।’
कैलाली एसपी नरेन्द्र चन्दले यसबारेमा थप कुरा गर्न टेलिफोन सम्पर्क गर्दा फोन उठाएनन् भने डीएसपी चौधरीसँग भने सम्पर्क हुन सकेन ।
डीएसपी चौधरीले बजार अनुगमन र कानुन पालनामा कडाई गरेको भन्दै स्थानीय व्यपारीलगायत असन्तुष्ट रहेको एक स्थानीयले बताए । बजार अनुगमका क्रममा चौधरीले अनधिकृत सामान पनि जफत पनि गर्ने गरेको उनको भनाइ छ ।
