भूगोलको सास्ती र संरचनागत अवरोधमा दृष्टिविहीन विद्यार्थी

भौगोलिक विकटता, आर्थिक अभाव र अपाङ्गतामैत्री संरचनाको कमीले जिल्लाका दृष्टिविहीन बालबालिका अझै पनि शिक्षाबाट वञ्चित छन् ।

असार २५, २०८३

मेनुका ढुंगाना

Visually Impaired Students Facing Geographical Hardships and Structural Barriers

What you should know

अछाम — जिल्लाको विकट तुर्माखाँद गाउँपालिका–१ रहफका लालबहादुर विक १४ वर्षका भए । जन्मजात दृष्टिविहीन उनी उमेरले किशोर भइसक्दा पनि लामो समय शिक्षाको पहुँचबाट टाढा रहे ।

सदरमुकाम मंगलसेनबाट दुर्गममा रहेको गाउँमा बस्ने उनको परिवारलाई दृष्टिविहीनका लागि कहाँ र कसरी पढाइ हुन्छ भन्ने सूचनासमेत थिएन । ७ वर्षअघि मात्रै सदरमुकामस्थित शोडषा माध्यमिक विद्यालयमा दृष्टिविहीन बालबालिकालाई पढाउने व्यवस्था रहेको जानकारी पाएपछि उनी परिवारको सहयोगमा मंगलसेन आएका थिए ।

सूचना पाउनु र पढाइ नियमित हुनुका बीचमा उनको आर्थिक र भौगोलिक अवस्था बाधक बन्यो । घरको कमजोर आर्थिक अवस्था र बुबा पनि दृष्टिविहीन नै हुँदा समस्या थपिदै गयो । घरबाट करिब दुई सय किलोमिटर टाढा रहेको सदरमुकामको विद्यालयसम्म पुग्नु नै उनका लागि सबैभन्दा ठूलो चुनौती बन्यो । सुरुमा एक पटक मंगलसेन आएर भर्ना भएका लालबहादुर विद्यालय बिदा भएपछि घर फर्किए । तर त्यसपछि समयमै विद्यालय फर्कन सकेनन् । ‘गाउँसम्म अहिले पनि गाडी चल्दैनन् । बुबा पनि आँखा देख्नुहुन्न । गाडी आउने ठाउँसम्म अरूले नै बोकेर ल्याउनुपर्ने र चार/पाँच हजार पैसा दिनुपर्ने भएपछि म फेरि पढ्न आउन सकिनँ,’ लालबहादुर भन्छन्, ‘स्कुलबाट भर्ना भएको र नियमित नभएको देखेपछि मेरो खोजी भयो । एक वर्षपछि जेनतेन खर्च जुटाएर मंगलसेन पुगेँ । फेरि बिदामा घर गएँ । बाटोमा बोक्ने मान्छेलाई पैसा दिन नसक्ने भएपछि त्यो बेला पनि ६ महिना स्कुल आउन पाइनँ ।’

लालबहादुर अहिले १४ वर्षको उमेरमा कक्षा ३ मा अध्ययनरत छन् । विद्यालयका अनुसार दृष्टिविहीन बालबालिकालाई प्रारम्भिक चरणमा अक्षर पहिचान गराउनै लामो समय लाग्ने गर्दछ । हातका औंलालाई अभ्यस्त बनाउन सुरुमा ठूला दाना छुट्याउन लगाउने, त्यसपछि ससाना दाना छुट्याउने र बल्ल ब्रेललिपि सिकाउने प्रक्रिया पूरा गर्न उनलाई करिब ५ वर्ष लाग्यो । अहिले उनी कक्षाकोठामा अरू विद्यार्थी जस्तै बस्ने त गर्छन्, तर सिकाइ प्रक्रिया अझै पनि सहज छैन । ‘ब्रेललिपि सिकिसकेपछि केही सजिलो त भएको छ । तर कक्षाकोठामा अरू विद्यार्थी जस्तो सजिलो भने हुँदैन,’ उनले भने ।

सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १४ वर्षीया दीपा बुढाका लागि पनि कक्षाकोठाको वातावरण सोचे जस्तो सहज छैन । रामारोशन गाउँपालिका–५ की दीपाले कक्षा २ सम्म गाउँकै विद्यालयमा अध्ययन गरिन् । तर, अक्षर चिन्न नसक्ने र घाम लाग्दा आँखामा समस्या हुने भएपछि उनले विद्यालय छाडिन् । मंगलसेनमा दृष्टिविहीनका लागि विशेष कक्षा हुने थाहा पाए पनि त्यहाँसम्म पुग्न उनलाई लामो समय लाग्यो, जसको मुख्य कारण कमजोर आर्थिक अवस्था नै बन्यो ।

विद्यालय छाडेको केही समयपछि परिवारको सहयोगमा मंगलसेन आइपुगेकी दीपाले पनि लालबहादुरले जस्तै सुरुमा ब्रेललिपि सिकिन् र अहिले उनी सामान्य विद्यार्थी सरह नै कक्षाकोठामा बस्छिन् । तर, एउटै कक्षामा धेरै विद्यार्थी हुँदा र शिक्षकले सबैलाई समान रूपमा ध्यान दिनु पर्ने हुँदा त्यसको असर आफूलाई परेको उनको अनुभव छ । ‘वाइटबोर्डमा लेखेको कुरा थाहा हुन्न । साथीहरुकै सहयोगमा पढ्नुपर्छ । कक्षामा ७१ जना विद्यार्थी छन् । एक जना विद्यार्थीलाई मात्रै कक्षाकोठामा सिकाइराख्न सरमेडमलाई पनि गाह्रो हुन्छ,’ दीपा भन्छिन्, ‘कक्षाकोठामा सोधेको सोध्यै गर्दा अरूलाई पनि डिस्टर्ब हुन्छ । यस्तो बेला मजस्ता विद्यार्थीको लागि छुट्टै कक्षाकोठा र सरमेडम भइदिए हुन्थ्यो जस्तो लाग्छ ।’

पढाइका लागि आन्तरिक वातावरण मात्र होइन विद्यालयको भौतिक संरचनासमेत दीपाका लागि अर्को असहज परिस्थिति बनेको छ । विद्यालयका शौचालय र कक्षाकोठा अपाङ्गतामैत्री नहुँदा उनीहरूले दैनिक रूपमा सास्ती खेप्नुपरेको छ । ‘साथीहरुकै सहयोगमा शौचालय जानुपर्छ। अरू विद्यार्थी जुनमा जान्छन्, हामीले जाने पनि त्यतै हो । महिनावारी भएको बेला झन् गाह्रो हुन्छ ।’

तुर्माखाँद गाउँपालिका–४ का १३ वर्षीय भूपेन्द्र बुढा पनि जन्मजात दृष्टिविहीन हुन् । सुरुमा उनलाई गाउँकै कालिकेश्वरी माध्यमिक विद्यालयमा भर्ना गरिएको थियो । तर, त्यहाँ उपयुक्त सिकाइ सामग्री र ब्रेललिपिको व्यवस्था नभएपछि अक्षर ठम्याउन नसकेर उनले विद्यालय छाडे । धेरै वर्षपछि मात्रै भूपेन्द्रको परिवारले मंगलसेनमा यस्तो पढाइ हुने जानकारी पाएर ७ महिनाअघि उनलाई शोडषा माविमा ल्याइयो । उनी अहिले ब्रेललिपि सिक्ने प्रारम्भिक चरणमै छन् । उनले हालसम्म औपचारिक रूपमा कुनै कक्षामा भर्ना हुन सकेका छैनन् । उमेर बढ्दै जाने तर सानो कक्षामा पढ्नुपर्ने बाध्यताले उनलाई असहज बनाउने गरेको छ । ‘म कक्षा १ मा पनि भर्ना भएको छैन । कक्षामा सबै साना साथी हुन्छन् । समयमै पढ्न पाइएन, पछुतो छ ।’

विद्यालयका प्रधानाध्यापक बृकेश बोगटीका अनुसार शोडषा माविमा दृष्टिविहीन विद्यार्थीका लागि सरकारले १० जनाको कोटा निर्धारण गरेको छ । जसमा हाल ७ जना अध्ययनरत छन् । विद्यालयले दृष्टिविहीन विद्यार्थीलाई सुरुवाती चरणमा ब्रेललिपि सिकाउनका लागि दुई जना दृष्टिविहीन शिक्षककै व्यवस्था गरेको छ । तर, चेतना र पहुँचको अभावका कारण बालबालिकाहरू विद्यालय आइपुग्दा धेरै उमेर भइसकेको र उनीहरूलाई सिकाएर औपचारिक कक्षामा भर्ना गर्दासम्म उमेर घर्किसक्ने समस्या रहेको प्रधानाध्यापक बोगटी बताउँछन् ।

हाल विद्यालयले उनीहरूलाई सामान्य विद्यार्थी सरह नै कक्षाकोठामा राखेर अध्यापन गराइरहेको छ । तर, आवश्यक पूर्वाधार र बजेटको अभावमा विद्यालय प्रशासनले चाहेर पनि अपाङ्गतामैत्री वातावरण निर्माण गर्न नसकेको प्रअ बोगटीले बताए । ‘दृष्टिविहीनमैत्री संरचना भने विद्यालयसँग छैन । राज्यले नै आवासीय र पढाउनेबाहेक संरचनाको कुरामा जोड दिएको छैन,’ प्रधानाध्यापक बोगटी भन्छन्, ‘दृष्टिविहीनमैत्री संरचना नहुँदा उनीहरूलाई गाह्रो भने भएको छ ।’

दृष्टिविहीन बालबालिकाको भोगाइले समावेशी शिक्षा नीतिको कार्यान्वयनको अवस्था र दूरदराजका दृष्टिविहीन विद्यार्थीले भोग्नुपरेको यथार्थलाई उजागर गरेको प्रधानाध्यापक बोगटी बताउँछन् । राज्यले छात्रवृत्ति, आवास र शिक्षकको व्यवस्था गरे पनि भौगोलिक विकटता, कमजोर आर्थिक अवस्था र भौतिक पूर्वाधारको अभावका कारण लक्षित वर्गले अझै पनि सहज वातावरण नभएको उनले बताए ।

मेनुका ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।

Link copied successfully