बैतडीमा तीन वर्षमा सवारी दुर्घटनामा ४७ को मृत्यु, सय बढी घाइते

सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढ्दै जाँदा बैतडीका सडक र यात्रु सुरक्षा चिन्ताजनक बन्दै गएको छ।

असार २४, २०८३

मोहन चन्द

47 killed, over 100 injured in road accidents in Baitadi in three years

बैतडी — बैतडीमा पछिल्लो तीन वर्षमा सवारी दुर्घटनामा परेर ४७ जनाले ज्यान गुमाएका छन्। तीन वर्षको अवधिमा जिल्लाका विभिन्न स्थानमा भएका ३४ सवारी दुर्घटनामा परेर १ सय २६ जना घाइते भएका छन्।

पछिल्लो तीन वर्षको तथ्यांक हेर्दा हरेक वर्ष सवारी दुर्घटना बढ्दै गएको र दुर्घटनामा ज्यान गुमाउनेको संख्या पनि बढ्दै गएको देखिएको छ। आर्थिक वर्ष २०८०/८१ मा ८ सवारी दुर्घटनामा ४ पुरुष र ३ महिला गरी ७ जनाले ज्यान गुमाएका छन् भने ३४ पुरुष र ८ महिला गरी ४२ जना घाइते भएका छन्।

गत आर्थिक वर्ष २०८१/८२ मा १० सवारी दुर्घटनामा ५ पुरुष र ६ महिला गरी ११ जनाको ज्यान गएको थियो भने १३ पुरुष र १२ महिला गरी २५ जना घाइते भएका थिए।

चालु आर्थिक वर्ष २०८२/८३ मा अहिलेसम्म १६ सवारी दुर्घटना भइसकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक भुवनप्रसाद तिमिल्सेनाले बताए। जिल्लाका विभिन्न स्थानमा भएका दुर्घटनामा चालु आर्थिक वर्षमा २४ पुरुष र ५ महिला गरी २९ जनाले ज्यान गुमाएका छन् भने ३४ पुरुष र २५ महिला गरी ५९ जना घाइते भएका उनले बताए।

ग्रामीण क्षेत्रतिर क्षमताभन्दा बढी यात्रु बोक्नु, सवारी साधनको समय–समयमा मर्मत नहुनु, गाडीमा प्राविधिक गडबडी हुनु र सडकको अवस्था कमजोर हुनु सवारी दुर्घटना बढ्नुका मुख्य कारण रहेको बैतडी ट्राफिक प्रहरी इन्चार्ज सई यज्ञराज पन्तले बताए।

‘समय–समयमा सवारी दुर्घटनासम्बन्धी चालकलाई सचेत गराउने गरेका छौं,’ उनले भने, ‘चालु आर्थिक वर्षको सुरुदेखि हालसम्म जिल्लाका सबै सडकमा साना–ठूला गरी १ हजार ४३७ सवारी साधनलाई कारबाही गरिसकेका छौं।’

असार महिनामा मात्रै धनगढीदेखि बैतडी आउँदै गरेका दुई बस पक्की सडकमै दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ४० भन्दा बढी घाइते भएका छन्।

मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Link copied successfully