सिंहपुरका किसानले आपसी सहयोगको अर्म–पर्म परम्परा र मेसिनको उपयोग गर्दै खेतीपातीलाई सरल बनाएका छन्।
What you should know
कञ्चनपुर — कसैले हाते ट्याक्टरले खेतमा हिलो बनाइरहेका छन्, कतै गोरुले जोतिरहेका छन्। त्यही खेतमा महिलाहरू लहरै धान रोपिरहेका छन्। कञ्चनपुरको बेलौरी नगरपालिका–५ सिंहपुरमा यतिबेला धान रोपाइँको यही दृश्य देखिन्छ। तर यहाँको विशेषता केवल रोपाइँ होइन, आलोपालो अर्म–पर्मको परम्परा हो। गाउँका कृषकहरू पालैपालो एकअर्काको खेतमा काम गरेर रोपाइँ सकाउँदै छन्।
गाउँमा अहिले कृषि मजदुर पाउन कठिन छ। विगतजस्तो ठूलो संयुक्त परिवार पनि छैन। युवाहरू रोजगारीका लागि बाहिरिएपछि खेतीपाती गर्न श्रमिक अभाव हुन थालेको छ। यही समस्याको समाधानका रूपमा यहाँका कृषकले पुरानो अर्म–पर्मको चलनलाई अझै जोगाइराखेका छन्। 'एक्लैले रोपाइँ सकिँदैन,' स्थानीय कृषक पुष्पा चौधरी भन्छिन्, 'जोताइदेखि रोपाइँसम्म धेरै जनशक्ति चाहिन्छ। त्यसैले चार–पाँच परिवार मिलेर पालैपालो सबैको खेतमा काम गर्छौं।'
नेपालका धेरै गाउँमा अर्म–पर्मको चलन हराउँदै गएको छ। तर सिंहपुरका थारू समुदायले भने यसलाई अझै जीवन्त राखेका छन्। खेतीपातीसँगै यसले समुदायबीचको आपसी सहयोग, विश्वास र मेलमिलापलाई पनि बलियो बनाएको छ।
स्थानीय नयन चौधरीका अनुसार मजदुर अभावले अर्म–पर्म अहिले आवश्यकता नै बनेको छ। 'खेतीको बेला काम गर्ने मान्छे नै पाइँदैन,' उनले भने, 'अर्म–पर्म नगरी खेती सम्भव छैन।'
सामूहिक रूपमा काम गर्दा रोपाइँ छिट्टै सकिन्छ। त्यसपछि धेरै किसान ज्यालामजदुरीका लागि निस्कन्छन्। 'रोपाइँ सकेपछि कोही गाउँमै मजदुरी गर्छन्, कोही भारततिर काम गर्न जान्छन्,' नयनले भने,'सबै मिलेर काम गर्दा समय पनि बच्छ।'
गोरु बेचेर हाते ट्याक्टर
सिंहपुरकै कृषक शिवराज चौधरीले यस वर्ष एउटा हल गोरु बेचेर हाते ट्याक्टर किनेका छन्। वर्षौंदेखि गोरुबाट जोत्दै आएका उनले पाँच हजार रुपैयाँमा गोरु बिक्री गरेर थप ऋण जुटाई ९० हजार रुपैयाँमा हाते ट्याक्टर खरिद गरेका हुन्। 'गोरु पाल्न पनि खर्चिलो भयो, जोत्न पनि गाह्रो,' उनले भने, 'हाते ट्याक्टर भएपछि घरकै जोसुकैले चलाउन सक्छ।'
उनकी श्रीमती पुष्पा चौधरी आफैं पनि हाते ट्याक्टर चलाएर खेतमा हिलो बनाउन सक्छिन्। यसले श्रम मात्र होइन, समय पनि बचाएको उनीहरू बताउँछन्। गाउँका धेरै किसान अहिले हाते ट्याक्टर, पावर टिलरलगायत कृषि उपकरणतर्फ आकर्षित भइरहेका छन्। धेरै खेती गर्नेले ठूलो ट्याक्टर खरिद गरेका छन् भने साना किसानले आफ्नो आवश्यकताअनुसार साना उपकरण प्रयोग गर्न थालेका छन्। यसले खेतीपातीको लागत र श्रम दुवै घटाएको उनीहरूको अनुभव छ।
स्थानीय तह र कृषि ज्ञान केन्द्रले कृषि उपकरण खरिदमा अनुदान दिन थालेपछि किसानको आकर्षण झन् बढेको छ। किसानहरूका अनुसार वर्षभरि गोरु पाल्नुभन्दा एकपटक कृषि उपकरण खरिद गर्नु अहिले बढी किफायती हुँदै गएको छ। यद्यपि, खेतीपाती भने अझै पनि गाउँलेको आपसी सहयोग र अर्म–पर्मकै भरमा चलिरहेको छ।
