डडेल्धुराको नवदुर्गा गाउँपालिकाले शैक्षिक सुधारका लागि अभिभावकलाई पनि कक्षामा समावेश गर्दै विद्यार्थीको समग्र विकासमा जोड दिएको छ।
What you should know
डडेल्धुरा — विद्यालयमा छोराछोरीको सिकाइ फ्रक्रियामा सत्रिय भूमिका निर्वाह गर्नुपर्ने सन्देशसहित डडेल्धुराको नवदुर्गा गाउँपालिकाले अभिभावकलाई समेत कक्षामा सहभागी गराउन थालेको छ ।
शैक्षिक गुणस्तर सुधारका लागि पालिकाभित्रका सातवटा माध्यमिक विद्यालयमा शिक्षक, अभिझावक र विद्यार्थीलाई लक्षित गरी मनोसामाजिक शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो ।
गत वर्ष अतिरित्त कक्षा र शैक्षिक भेलाजस्ता कार्यक्रमबाट अपेक्षित उपलब्धि हासिल नभएपछि यस वर्ष सिकाइको वातावरण सुधार्न तीनै पक्षको सोच र व्यवहारमा परिवर्तन ल्याउने उद्देश्यले नयाँ अभ्यास सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।
विद्यालयमा शिक्षकले राम्रोसँग पढाए पनि घरमा अभिभावकको साथ नपाउँदा र विद्यार्थीको मनोबल कमजोर हुँदा अपेक्षित शैक्षिक उपलब्धि हासिल गर्न कठिन हुने निष्कर्षपछि डडेल्धुराको नवदुर्गा गाउँपालिकाले यस वर्ष फरक अभ्यास थालेको हो ।
पालिकाले विद्यालयको पठनपाठनलाई पाठ्यपुस्तकमा सीमित नराखी शिक्षक, अभिभावक र विद्यार्थी तीनै पक्षको सोच, व्यवहार र जिम्मेवारीमा परिवर्तन ल्याउने उद्देश्यले सातवटै माध्यमिक विद्यालयमा मनोसामाजिक शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको हो ।
शैक्षिक गुणस्तर सुधारका लागि विगत केही वर्षदेखि विभिन्न अभ्यास गर्दै आएको पालिकाले गत शैक्षिक वर्ष शिक्षक, अभिभावक र विद्यार्थीलाई एउटै मञ्चमा ल्याएर शैक्षिक भेला आयोजना गरेको थियो । कमजोर सिकाइ उपलब्धि भएका विद्यार्थीका लागि अतिरिक्त कक्षा पनि सञ्चालन गरिएको थियो । तर ती प्रयासबाट अपेक्षाअनुसार नतिजामा सुधार नदेखिएपछि यस वर्ष मनोवैज्ञानिक र व्यवहारगत पक्षलाई केन्द्रमा राखेर ‘स्वस्थ मस्तिष्क, सबल विद्यार्थी’ अभियान सुरु गरेको हो ।
गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले सञ्चालन गरेको कार्यक्रममा सातवटै माध्यमिक विद्यालयका करिब ११ सय विद्यार्थी, अभिभावक र शिक्षक सहभागी छन् । कार्यक्रमको उद्देश्य परीक्षामा अंक बढाउने मात्र नभई विद्यालय, परिवार र समुदायबीचको सम्बन्धलाई बलियो बनाउँदै बालबालिकाको समग्र व्यक्तित्व विकासमा सहयोग पुर्याउनु रहेको गाउँपालिकाले जनाएको छ ।
कार्यक्रममा विद्यार्थीलाई आत्मविश्वास अभिवृद्धि, लक्ष्य निर्धारण, अध्ययनप्रतिको रुचि विकास, समय व्यवस्थापन, तनाव व्यवस्थापन, सकारात्मक सोच, भविष्यको करियर छनोट तथा परीक्षाको तयारीका विषयमा प्रशिक्षण दिइएको छ । पढाइमा कमजोर भएका विद्यार्थीलाई निराश नहुने, असफलतालाई सिकाइको अवसरका रूपमा लिनुपर्ने र आफ्नै क्षमतामा विश्वास राख्नुपर्ने विषयमा पनि परामर्श दिइएको छ ।
अभिभावकका लागि सञ्चालन गरिएको सत्रमा बालबालिकाको मनोभावना बुझ्ने, उनीहरूसँग नियमित संवाद गर्ने, घरमा अध्ययनको वातावरण बनाउने, माया, सम्मान र हौसला दिने तथा गाली, डर र दण्डको सट्टा सकारात्मक व्यवहार अपनाउने विषयमा प्रशिक्षण प्रदान गरिएको छ । विद्यालयको जिम्मेवारी शिक्षकको मात्र नभई परिवारको पनि बराबर हुने सन्देश कार्यक्रममार्फत प्रवाह गरिएको छ ।
स्थानीय कलापति बोहोराले तालिमपछि अभिभावकको भूमिकाबारे आफ्नो बुझाइ परिवर्तन भएको बताइन् । ‘पहिले पढाइ भनेको विद्यालयको जिम्मेवारी हो भन्ने लाग्थ्यो,’ उनले भनिन्, ‘अब घरको वातावरण, हाम्रो व्यवहार र बालबालिकालाई दिने समयले पनि उनीहरूको पढाइमा ठूलो प्रभाव पार्दोरहेछ भन्ने थाहा पायौं । अब हामी पनि उनीहरूको पढाइ र व्यवहारमा नियमित ध्यान दिन्छौं ।’
अर्की सहभागी इन्द्रादेवी बिष्टले बालबालिकालाई माया र सम्मान दिनु नै राम्रो शिक्षाको आधार भएको अनुभव सुनाइन् । ‘विद्यालय पठाउँदा मात्र होइन, फर्किएपछि पनि उनीहरूसाग कुरा गर्ने, उनीहरूको समस्या सुन्ने र हौसला दिने रहेछ,’ उनले भनिन्, ‘यस्ता कुरा पहिले सामान्य लाग्थे, अहिले भने यही नै सिकाइको आधार रहेछ भन्ने बुझ्यौं ।’
नवदुर्गा–४ की डिग्रादेवी बिष्टले तालिमपछि आफूमा सकारात्मक परिवर्तन आएको बताइन् । ‘बालबालिकालाई पढ्न मात्र भन्ने होइन, उनीहरूको भावना बुझ्न पनि आवश्यक रहेछ,’ उनले भनिन्, ‘अब उनीहरूसँग बढी समय बिताउने र माया तथा प्रोत्साहन दिने प्रयास गरिरहेकी छु ।’
शिक्षकहरूका लागि भने विद्यार्थीमैत्री शिक्षण विधि, मनोवैज्ञानिक अवस्था बुझेर अध्यापन गर्ने, कक्षाकोठाभिक्र सत्रिय सहभागिता बढाउने तथा विद्यालय समयबाहिर पनि नियमित अध्ययन गर्ने बानी विकास गराउने उपायबारे प्रशिक्षण दिइएको छ । सिकाइ उपलब्धि कमजोर भएका विद्यार्थीलाई अलग ढंगले सहयोग गर्ने, नियमित परामर्श दिने र अभिभावकसँग समन्वय बढाउने विषयलाई पनि प्राथमिकता दिइएको छ ।
गाउँपालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले शैक्षिक सुधार कुनै एक पक्षको प्रयासले मात्र सम्भव नहुने बताए । शिक्षक, अभिभावक र विद्यार्थी तीनै पक्ष जिम्मेवार बने मात्र विद्यालयको नतिजा सुधारिने उनको भनाइ छ । ‘बालबालिका नियमित विद्यालय गएका छन् कि छैनन्, पढाइमा रुचि देखाएका छन् कि छैनन्, अनुशासन पालना गरेका छन् कि छैनन् भन्ने कुरा अभिभावकले पनि उत्तिकै ध्यान दिनुपर्छ,’ उनले भने । ‘विद्यालयको जिम्मेवारी विद्यालयमै सीमित राखेर गुणस्तरीय शिक्षा सम्भव हुँदैन ।’
उनले गुणस्तरीय शिक्षाका लागि समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताए । ग्रामीण क्षेत्रमा धेरै अभिभावक रोजगारी, खेतीपाती र दैनिक जीविकोपार्जनमा व्यस्त हुँदा बालबालिकाको पढाइमा पर्याप्त समय दिन नसकिरहेको उनको भनाइ छ । कतिपय विद्यार्थी पारिवारिक समस्या, आत्मविश्वासको कमी, सामाजिक दबाब तथा भविष्यप्रतिको अन्योलका कारण पनि पढाइमा पछाडि पर्ने गरेका छन् । यस्ता समस्या समाधानका लागि मनोसामाजिक शिक्षालाई शैक्षिक सुधारको आधारका रूपमा अघि सारिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले आगामी वर्षमा पनि सिकाइ उपलब्धिको नियमित मूल्यांकन गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
