बैतडीलाई २०७२ सालमै पूर्णखोपयुक्त जिल्ला घोषणा गरिएको थियो ।
What you should know
बैतडी — १० वटै पालिकामा रहेका ५९ महिनासम्मका सबै बालबालिकाले खोप पाएको सुनिश्चित गरिएसँगै जिल्लालाई एघारौं पटक पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।
बैतडीलाई २०७२ सालमै पूर्णखोपयुक्त जिल्ला घोषणा गरिएको थियो । यो वर्ष जिल्लालाई ११ औं पटक पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले जानकारी दिए ।
पूर्णखोप दिगोपना सुनिश्चितता अभियानले स्वास्थ्यको प्रणाली सुधार, दिगो विकासमा योगदान, मातृ तथा शिशु स्वास्थ्यमा सहयोग पुग्ने उनले बताए । सबै स्थानीय तहका ८४ वटै वडामा बच्चा जन्मेदेखि ५९ महिना सम्मका बालबालिकालाई खोप लगाएको अनुगमन पश्चातमात्रै जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।
खोप सर्भेक्षणबाट प्राप्त जन्मेदखि १५ महिनासम्म ३ हजार ९३१ र १६ देखि ५९ महिनाका बालबालिकाको संख्या ११ हजार ७९४ जना रहेको छ । जसमध्ये जन्मेदेखि १५ महिनासम्मका बालबालिकाको संख्यामा १ जना र १६ देखि ५९ महिनाको बालबालिकाको संख्यामा १७ जना बालबालिका कुनै न कुनै खोपबाट छुटेको पत्ता लागेको स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर हरिश भट्टले जानकारी दिए । छुटेका यी सबै बालबालिकालाई पनि खोप लगाएको उनले बताए ।
जिल्ला खोप समन्वय समितिले जिल्लामा सबै वार्डमा पुगेर पूर्ण खोप लगाएको प्रमाणित गरेपछि मात्रै जिल्लालाई पूर्णखोप सुनिश्चितता, दिगोपना भएको जिल्लाको रूपमा घोषणा गरिन्छ । स्वास्थ्य कार्यालयका अनुसार गत चार आर्थिक वर्षको नियमित खोप कार्यक्रमको प्रगति अवस्था तुलना गर्दा पूर्णखोपको सूचक लक्ष्य अनुसार प्रगति राम्रै देखिएको भए पनि केही बालबालिका बुबाआमासाग भारत रहादा केही खोपको मात्रा उतै लिने र केही छुट भएको पाइएकाले तथ्यांकमा बालबालिका छुट्न गएको सुपरभाइजर भट्टले बताए ।
कार्यक्रममै प्रत्येक स्थानीय तहबाट खोप सेवामा उत्कृष्ट योग्दान दिएका एक/एक जना स्वास्थ्यकर्मीलाई सम्मान समेत गरेको छ । नेपालमा २०३४ सालदेखि ४ प्रकारका खोपबाट खोप सेवा सुरु गरेको पाइन्छ ।
