बैतडी बस दुर्घटनाः सात घाइतेलाई धनगढी पठाइयो

सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३९६३ नम्बरको बस शुक्रबार दिउँसो ३:३० तिर गैराखान क्षेत्रमा सडकबाट करिब सय मिटर तल खसेको थियो ।

असार १९, २०८३

तर्कराज भट्ट

Baitadi bus accident: Seven injured sent to Dhangadhi

What you should know

डडेलधुरा — धनगढीबाट बैतडीका लागि छुटेको यात्रुबाहक बस शुक्रबार दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिकाको गैराखानमा दुर्घटना हुँदा २३ जना घाइते भएका छन्। घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि धनगढी रेफर गरिएको छ भने अन्य घाइतेहरूको डडेलधुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३९६३ नम्बरको बस शुक्रबार दिउँसो ३:३० तिर गैराखान क्षेत्रमा सडकबाट करिब सय मिटर तल खसेको थियो । दुर्घटनालगत्तै स्थानीयवासी, प्रहरी र अन्य सुरक्षा निकाय उद्धारमा खटिएका थिए। घाइतेहरूलाई भीरबाट निकालेर एम्बुलेन्समार्फत उपचारका लागि विभिन्न स्वास्थ्य संस्थामा पुर्‍याइएको थियो।

प्रहरीका अनुसार बसमा सवार यात्रुहरू बैतडीका विभिन्न स्थानतर्फ जाँदै थिए। दुर्घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी खोड्पे तथा इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। उद्धार कार्यमा स्थानीय बासिन्दाले समेत सक्रिय सहयोग गरेका थिए।

गम्भीर घाइते भएका पाटन नगरपालिका–६ का ३१ वर्षीय दिपक विक, ४३ वर्षीय जनकप्रसाद पन्त, पाटन–८ का ४६ वर्षीय रामदत्त पाण्डे, पाटन–६ का ११ वर्षीय सिद्धार्थ भण्डारी, बस चालक पाटन–३ का ३१ वर्षीय दिनेश भाट, पाटन–६ का ३१ वर्षीय महोन पन्त तथा पाटन–६ की ३५ वर्षीया धना पहरीलाई थप उपचारका लागि धनगढी पठाइएको प्रहरीले जनाएको छ।

अन्य घाइतेहरूको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ। चिकित्सकका अनुसार अधिकांश घाइतेहरूको शरीरका विभिन्न भागमा चोट लागेको छ भने केहीको अवस्था सामान्य बन्दै गएको छ।

दुर्घटनाको कारण भने अझै खुल्न सकेको छैन। प्रारम्भिक रूपमा बस अनियन्त्रित भएर सडकबाट तल खसेको अनुमान गरिए पनि यसको वास्तविक कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक भुवन तिमिल्सिनाले दुर्घटनाको विस्तृत विवरण संकलन गर्ने, घाइतेहरूको अवस्था अद्यावधिक गर्ने तथा दुर्घटनाको कारणबारे थप अनुसन्धान जारी रहेको बताएका छन्।

तर्कराज

Link copied successfully