धनगढीबाट काठमाडौंका लागि हिँडेको बस कपिलवस्तुमा दुर्घटना : २२ जना घाइते

सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३७२१ नम्बरको उक्त बस सडकको डिभाइडरमा ठोक्किएर अनियन्त्रित भई सडकमै पल्टिएको प्रहरीले जनाएको छ ।

असार १६, २०८३

रञ्जना बिसी

Bus traveling from Dhangadhi to Kathmandu crashes in Kapilvastu: 22 injured

What you should know

कैलाली — धनगढीबाट काठमाडौं गइरहेको यात्रुवाहक बस कपिलवस्तुमा दुर्घटना भएको छ । हुलाकी सडकखण्ड अन्तर्गत महाराजगंज नगरपालिका–२ गैडहवामा बस दुर्घटनामा २२ जना यात्रु घाइते भएका छन् ।

शिवपुरी लक्जरी कोच प्रालिद्वारा सञ्चालित सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३७२१ नम्बरको उक्त बस सडकको डिभाइडरमा ठोक्किएर अनियन्त्रित भई सडकमै पल्टिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते हुनेहरूमा चालक कैलालीका ४२ वर्षीय हरीसिंह महरा, बैतडीका २५ वर्षीय चक्रबहादुर रोकाया, डोटीका ३० वर्षीय भरत मल्ल र कैलाली गोदावरीका २८ वर्षीय विमल भट्ट तथा ५५ वर्षीया सीतादेवी बादी रहेका छन् । यस्तै, डडेलधुराका एकै परिवारका २९ वर्षीय नरेन्द्र ताम्राकार, उनकी पत्नी २५ वर्षीया आलिया र २ वर्षीय छोरा सुदर्शन ताम्राकार पनि घाइते भएका छन् ।

घाइते हुने अन्य यात्रुहरूमा बझाङका २३ वर्षीय विनोद सत्कुली र २३ वर्षकै किश्वर बोहोरा, बैतडीका १५ वर्षीय लोचन बिष्ट र उनका ४५ वर्षीय बुबा कृष्णबहादुर बिष्ट, कैलालीका ७७ वर्षीय गणपति भागरी, २४ वर्षीय अखिलकुमार ठडिया, २४ वर्षीय गोपाल पौडेल, २२ वर्षीया दीपिका भण्डारी र ३६ वर्षीय प्रकाश रोकाया रहेका छन् । यस्तै, चितवनका ६५ वर्षीय भद्रकृष्ण मिश्र, डडेलधुराका ४० वर्षीय केशबहादुर देउवा, दार्चुलाका ३३ वर्षीय प्रभानन्द ठकुन्ना र डडेलधुरा गन्यापधुराकी ४० वर्षीया पार्वती बोहोरा पनि घाइते भएका छन् ।

प्रहरीका अनुसार घाइतेहरूको टाउको, छाती, हात र खुट्टा लगायतका भागमा चोट लागेको छ । उनीहरूलाई जिल्ला अस्पताल तौलिहवामा प्राथमिक उपचारपछि थप उपचारका लागि भैरहवास्थित मेडिकल कलेज पठाइएको छ ।

४६ जना सवार रहेको उक्त बस दुर्घटनामा परेपछि बाँकी २४ जना यात्रुलाई अर्को सवारी साधनमार्फत गन्तव्यतर्फ पठाइएको छ । क्रेनको प्रयोग गरी सडकबाट बस हटाएपछि अहिले हुलाकी सडक पुनः सञ्चालनमा आएको नेपाल प्रहरीले जनाएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाको थप कारणबारे अनुसन्धान सुरु गरेको छ ।

रञ्जना

Link copied successfully