शुक्लाफाँटामा ९ महिनामा ३७ सय पर्यटक

निकुञ्जको विशाल घाँसे मैदान बाह्रसिंगाको प्रमुख बासस्थान हो । घाँसे मैदानमा हजारौंको संख्यामा चरिरहेका बाह्रसिंगाको दृश्यले यहाँ आउने पर्यटकलाई लोभ्याउँछ ।

असार १६, २०८३

भवानी भट्ट

3,700 tourists visit Shuklaphanta in 9 months

What you should know

कञ्चनपुर — शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गएको ९ महिनामा  ३७ सय बढी पर्यटकले भ्रमण गरेका छन् । गत वर्ष असोजदेखि जेठ मसान्तसम्म निकुञ्जमा आन्तरिक र बाह्य गरी ३ हजार ७ सय ६७ पर्यटक निकुञ्ज प्रवेश गरेका हुन् । 

निकुञ्ज कार्यालयका अनुसार असोजमा पर्यटकका लागि खुला भएदेखि जेठ मसान्तसम्म यतिको संख्यामा पर्यटकले भ्रमण गरेका हुन् । जसमा आन्तरिकतर्फ ३ हजार ३ सय २५, सार्क राष्ट्रका ३ सय १६ र अन्य विदेशी १ सय २६ रहेका छन् । निकुञ्ज कार्यालयका अनुसार १ हजार ४ सय ९६ महिला र २ हजार २ सय ७१ पुरुष निकुञ्जमा प्रवेश गरेका छन् । यस वर्ष पर्यटकबाट २० लाख बढी राजस्य संकलन भएको छ । 

निकुञ्ज प्रवेश गर्ने पर्यटकको संख्या गत वर्षको तुलनामा केही बढेको हो । गत आर्थिक वर्षमा ३ हजार २ सय ८४ पर्यटक निकुञ्ज घुमेका थिए ।

प्रचार-प्रसार र भौतिक पूर्वाधारको अभावका कारण अपेक्षा गरेअनुसार निकुञ्ज घुम्ने पर्यटकको संख्या बढ्न सकेको छैन। बाघ, बाह्रसिंगा, गैंडा, कृष्णसार लगायत अन्य वन्यजन्तुको संख्या बर्सेनि बढ्दै गए पनि पर्यटकको संख्या भने बढ्न सकेको छैन । 

बाह्रै महिना सफारी गर्न सकिने बाटोको अभाव र पछिल्लो समय हात्ती सफारीसमेत सञ्चालन हुन सकेको छैन । जसका कारण बर्खायाममा निकुञ्जमा सफारी बन्द हुने गरेको छ । सामान्य वर्षा हुने बित्तिकै बाटो बिग्रिने भएकाले सफारी बन्द गरिँदै आएको छ । 

‘विगतको तुलनामा सफारी गराउने बढेका छन् । नेचर गाइडहरू पनि बढेका छन् तर पर्यटक बढ्न सकेका छैनन्,’ निकुञ्जका संरक्षण अधिकृत विनय झाले भने, ‘यसो हुनुमा प्रचार–प्रसारको कमी पनि प्रमुख कारण हो ।’ उनका अनुसार विगतको तुलनामा अहिले सफारी गर्ने बढेका छन् । दैनिक जसो दुई/तीन गाडीहरूमा सफारी भइरहेको देखिन्छ । उनका अनुसार गत वर्षको तुलनामा आन्तरिक पर्यटकको संख्या बढेको छ । आन्तरिकसँगै भारतीय पर्यटकलाई बढीभन्दा बढी भित्र्याउन सके मात्रै यस क्षेत्रको पर्यटन विकासले गति लिने उनले बताए । 

३ सय ५ वर्ग किलोमिटर क्षेत्रफल रहेको निकुञ्जमा गत वर्षको गणनाअनुसार ४३ बयस्क बाघ रहेका छन् । कम क्षेत्रफलमा बढी बाघ पाइने निकुञ्जका रूपमा समेत शुक्लाफाँटा चिनिन्छ । दुई वर्षअघि गरिएको गणनाअनुसार यहाँ २२ बढी गैंडा रहेका छन् । यसै गरी २३ सय बढी बाह्रसिंगा र ३ सय बढी कृष्णसार रहेका छन् । 

५४ वर्गकिलोमिटरमा फैलिएको निकुञ्जको  विशाल घाँसे मैदान बाह्रसिंगाको प्रमुख बासस्थान हो । घाँसे मैदानमा हजारौंको संख्यामा चरिरहेका बाह्रसिंगाको दृश्यले यहाँ आउने पर्यटकलाई लोभ्याउँछ । यही विशाल घाँसे मैदान पर्यटकको प्रमुख आकर्षणको केन्द्र हो । 

यसबाहेक रानी ताल, सिकारी ताल र बाबा ताल लगायतका क्षेत्र पनि पर्यटकका लागि आकर्षणका केन्द्र छन् । ती तालमा बाघ र गैंडा लगायतका वन्यजन्तु पानी खान आउने भएकाले सहजै देख्न सकिन्छ । 

‘यहाँको पर्यटन विकासका लागि सबै सरोकारवालाको सक्रियता आवश्यक हुन्छ,’ संरक्षण अधिकृत झाले भने, ‘पर्यटन बोर्डदेखि प्रदेश र स्थानीय तह सबैबीच सहकार्य हुनु आवश्यक छ ।’ उनले पछिल्लो समय शुक्लाफाँटा भ्रमण गराउन पथ प्रदर्शकहरू पनि बढ्दै गएको बताए । बर्सेनि पथ प्रदर्शकहरू थपिने क्रम पनि जारी रहेको छ ।

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully