खडेरीको असर : बैतडामा सुक्यो हाते नल

बैतडा टोलमा अहिले दुईचार वटा हाते नलमा मात्रै पानी आइरहेको छ । ती पनि केही होचो भूभागमा परेकाले । स्थानीयका अनुसार नजिकै खोला रहे पनि लामो समयदेखिको खडेरीका कारण सुकेको छ ।

असार १५, २०८३

हरिश्चन्द्र बाग

Impact of drought: Hand taps dry up in Baitada

What you should know

कञ्चनपुर — बिहान ४ बजे । आकाश अझै पूर्ण उज्यालो भएको हुँदैन । गाउँका धेरैजसो घरमा निद्रा बाँकी नै हुन्छ । तर कञ्चनपुरको वेदकोट नगरपालिका-४ बैतडामा भने निद्राभन्दा ठूलो चिन्ता बन्ने गरेको छ, पानी ।

एउटा हाते नल वरिपरि गाग्री र बाल्टिनको लाइन लाग्न थाल्छ । लाइनमा उभिएका हुन्छन् महिला, वृद्धवृद्धा र बालबालिका । कोही आँखा मिच्दै पालो कुर्दै हुन्छन् त कोही खाली भाँडो समातेर नलतिर टोलाइरहेका हुन्छन् । नलको ह्यान्डल बारम्बार चल्छ, तर बाल्टिन र गाग्रीमा पानी भरिन निक्कै समय लाग्छ । पानीका थोपाथोपा यहाँ राहतजस्तै बन्ने गरेका हुन्छन् ।

यो दृश्यले एउटा कठोर प्रश्न उठाउँछ, के कञ्चनपुरजस्तो तराईको जिल्लामा पनि अब पानी संकट देखिएको हो  ?

अत्यधिक गर्मी, लामो खडेरी र घट्दो भूमिगत जल सतहले बैतडा र आसपासका क्षेत्रको दैनिकी नै उल्टाइदिएको छ । दशकौँदेखि स्थानीयको भरोसा बनेका हाते नल एकपछि अर्को सुक्दै गए । जसले कहिल्यै पानीको चिन्ता गरेका थिएनन्, उनीहरू अहिले एक गाग्री पानीका लागि घण्टौँ सङ्घर्ष गरिरहेका छन् ।

घरघरमै रहेका हाते नलबाट सजिलै पानी आउँथ्यो । तर अहिले तिनै नलका ह्यान्डल जति चलाए पनि पानी भने आउँदै आउँदैन ।

कञ्चनपुरमा यस पटक तापक्रम झन्डै ४३ डिग्री सेल्सियससम्म पुग्यो । जमिन तात्यो, हावा तात्यो, अनि मानिसको जीवन पनि पानीको संकटले तात्यो ।

स्थानीय बासिन्दा भानुभक्त अवस्थी भन्छन्, 'पहिले पानीको चिन्ता थिएन, अहिले घर चलाउनै कठिन भएको छ । घरमा पिउन पानी छैन । गाईबस्तुलाई खुवाउन पानी छैन, हाते नल सुकेर सबैभन्दा ठूलो दुःख भोगिरहेका छौँ ।' उनका अनुसार पानी अभाव अहिले गाउँको सबैभन्दा ठूलो समस्या बनेको छ ।

६० वर्षीया जमुना अवस्थीका लागि पानीको अभावले दिनचर्या नै बदलिदिएको छ । पहिले घरअगाडिकै नलबाट सजिलै पानी पाइन्थ्यो । अहिले बिहानै उठेर पानी खोज्दै भौँतारिनुपर्ने अवस्था छ । 'खाना पकाउन, भाँडा माझ्न, सरसफाइ गर्न सबै कुरामा समस्या छ,' उनी भन्छिन् ।

सोही ठाउँ बस्ने ३७ वर्षीया हेमन्ती बमका अनुसार पानी अभावको भार महिलाको काँधमा बढी परेको छ । घरको पानी व्यवस्थापन प्रायः महिलाले नै गर्ने भएकाले संकट पनि उनीहरूले बढी भोगिरहेका छन् । बिहान सबेरै उठ्ने, लाइन बस्ने, पालो कुर्ने, पानी भर्ने अनि बोकेर घरसम्म पुर्‍याउने । यही चक्रले महिलाको दिन सुरु हुन्छ ।

५८ वर्षीया मीनादेवी अवस्थी संकटको अर्को पक्ष देखाउँछिन्, पशु चौपायाको पीडा । 'मानिसलाई मात्र होइन, गाईबस्तुलाई पानी खुवाउन पनि धाउनुपर्छ । पानीकै जोहो गर्न दिन बित्छ,' उनी भन्छिन् ।

बैतडा गाउँको दृश्य आफैँले संकटको गहिराइ बयान गर्छ । बिहान ४ बजेदेखि नै स्थानीयहरू लाइन लाग्छन् । कतिपय परिवार आधा बाल्टिन पानीकै भरमा दिन कटाइरहेका छन् । 

Impact of drought: Hand taps dry up in Baitada

बैतडा टोलमा अहिले दुईचार वटा हाते नलमा मात्रै पानी आइरहेको छ । ती पनि केही होचो भूभागमा परेकाले मात्र । उचाइमा रहेका अन्य अधिकांश नल पूर्ण रूपमा सुकिसकेका छन् । स्थानीयका अनुसार नजिकै खोला रहे पनि लामो समयदेखिको खडेरीका कारण खोला पूर्ण रूपमा सुकेको छ । यिनै दुईचार हाते नल अहिले सयौँ स्थानीय बासिन्दाको सहारा बनेका छन् ।

पहिले सहज उपलब्ध स्रोत अहिले सीमित भएपछि समय, श्रम र अवसर सबै पानीमै खर्चिनुपर्ने अवस्था आएको छ । दैनिक मजदुरी गर्ने परिवारले पानीका लागि घण्टौँ खर्चिँदा आयआर्जन प्रभावित भएको छ । बालबालिकाको पढाइ र महिलाको श्रम भारमा समेत असर परेको स्थानीय बताउँछन् ।

धेरै दिनदेखि वर्षा नभएको, तापक्रम निरन्तर बढिरहेको र भूमिगत पानीको पुनर्भरण हुन नसक्नु समस्याको मुख्य कारण हो । पानीको सतह तल झर्दै जाँदा हाते नलहरूले पानी तान्न छाडेका हुन् । यो संकट मौसमको अस्थायी समस्या मात्र होइन, जलवायु परिवर्तनको गम्भीर संकेत पनि हो । असामान्य गर्मी, अनियमित वर्षा र सुक्दै गएका जलस्रोतले ग्रामीण क्षेत्रमा नयाँ किसिमको संकट जन्माइरहेका छन् ।

यसैबीच स्थानीयले वर्षौँदेखि अधुरो रहेको खानेपानी आयोजनाप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । वडा नम्बर ४ नजिकैको जङ्गल क्षेत्रमा खानेपानी ट्यांकी निर्माणका लागि करिब आठ वर्षअघि योजना सुरु गरिएको थियो । त्यति बेला स्थानीय नागरिकबाट रकमसमेत सङ्कलन गरिएको थियो । आशा थियो, अब घरघरमा शुद्ध खानेपानीको धारा पुग्छन् ।

तर आठ वर्ष बितिसक्दा पनि त्यो आशा अधुरै छ । पानी सङ्कलन ट्यांकी निर्माण सम्पन्न भइसकेको छ । संरचना उभिएको छ । तर पाइपलाइन विस्तार हुन सकेको छैन । स्थानीयहरू प्रश्न गर्छन्, 'ट्यांकी बनेर मात्रै के गर्नु ? धारा कहिले जोडिने हुन् ? पानी कहिले आउँछ ?' 

Impact of drought: Hand taps dry up in Baitada

वेदकोट खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष लालबहादुर धानुक बजेट अभावलाई मुख्य कारण मान्छन् । उनका अनुसार उपभोक्ता समितिले आफ्नो तर्फबाट गर्नुपर्ने अधिकांश काम सम्पन्न गरिसकेको छ । अब सम्बन्धित निकायबाट सहयोग नआएसम्म आयोजना पूर्ण हुन कठिन छ । 'खानेपानी कार्यालयसँग छलफल गरिरहेका छौँ । सकेसम्म छिटो समाधान खोज्ने प्रयासमा छौँ । आवश्यक परे जनप्रतिनिधि, मन्त्री र सरोकारवाला निकायसमक्ष ज्ञापन पत्र बुझाएर थप पहल गर्छौँ,' उनले भने ।

स्थानीयका लागि आश्वासन भन्दा पानी महत्त्वपूर्ण छ । उनीहरू योजनाको प्रगति होइन, धाराबाट बग्ने पानी हेर्न चाहन्छन् । बैतडाको यो संकट कञ्चनपुरको एउटा गाउँको मात्र पीडा होइन । यो त बदलिँदो मौसम, कमजोर पूर्वाधार र सरकारी योजना कार्यान्वयनको ढिलासुस्तीको संयुक्त परिणाम हो । अहिले एउटा गाउँ तिर्खाएको छ, भोलि यस्तै सङ्कट जिल्लाका अन्य बस्तीमा पनि दोहोरिन सक्छ ।

खानेपानीजस्तो आधारभूत आवश्यकता नै संकटमा पर्न थालेपछि तत्काल राहतका उपाय मात्र पर्याप्त हुँदैनन् । दीर्घकालीन जलस्रोत संरक्षण, वर्षाको पानी संकलन, भूमिगत पानी पुनर्भरण र प्रभावकारी वितरण प्रणाली निर्माण अपरिहार्य बनेको छ । समयमै समाधान खोज्न नसकिए बैतडाको अहिलेको तिर्खा भोलि सिंगो कञ्चनपुरको साझा संकट बन्न सक्छ ।

हरिश्चन्द्र

Link copied successfully