महाकाली नदीमा निर्मित चार लेन पुलको गाइड बण्ड निर्माण असार २५ भित्र सक्ने गरी यो वर्ष पनि तीव्र गतिमा काम भइरहेको छ ।
What you should know
कञ्चनपुर — लामो समयदेखि वर्षा नहुँदा असार मध्यमा पनि चर्को गर्मी छ । दिउँसोको समयमा अधिकतम तापक्रम ४० डिग्री हाराहारी पुगिरहेको छ । चर्को गर्मीमै एकातिर सेनाको टोलीले काम गरिरहेको छ । अर्काेतिर स्काभेटरदेखि टिपरले ढुंगा र ग्राभेलदेखि बोल्डर (ठूला ढुंगा) थुपारिरहेका छन् । महाकाली नदीमा यतिबेला निकै व्यस्तता छ । महाकाली नदीमा निर्मित चार लेनको पक्की पुलको गाइड बण्ड बनाउन अहिले धमाधाम काम भइरहेको हो ।
दुई वर्षअघि महाकालीको बाढीले गाइड बण्ड बगाएको क्षेत्रमा अहिले आपातकालीन रुपमा काम भइरहेको हो । गाइडबण्ड जोगाउनकै लागि अहिले उक्त क्षेत्रमा काम भइरहेको महाकाली पुल योजना कार्यालयले जनाएको छ ।
महाकालीको बाढीले गाइड बण्ड बगाएको स्थानमा नदीको गहिराई १० मिटर भन्दा बढी छ । अहिले उक्त खाल्डो भरेर कटान रोक्नका लागि जिओ ब्याग र ग्याबिन जाली भर्ने काम भइरहेको छ । ‘एक/दुई दिनभित्रै खाल्डो भर्ने काम सकिन्छ, त्यसपछि लञ्चिङ (स्पर) निर्माण गरिनेछ,’ महाकाली पुल योजनाको सवइन्जिनियर भोजराज रानाले भने, ‘बाँध सुरक्षित गर्नका लागि छेउबाटै खाल्डो भर्ने र ग्याबिन जाली भरानको काम भइरहेको छ ।’
सवइन्जिनियर रानाका अनुसार अहिले उक्त क्षेत्रमा लञ्चिङ निर्माणका लागि बोल्डर जम्मा पार्ने काम पनि भइरहेको छ । लञ्चिङ निर्माणको काम बोल्डरबाटै गरिनेछ । करिब ३१ मिटर चौडा र ३ सय मिटर लम्बाईको लञ्चिङ निर्माण गरिनेछ । लञ्चिङ निर्माण र ग्याबिन जाली भरानको काम सेनाको टोलीले गरिरहेको छ । दैनिक ४ सय जना हाराहारी नेपाली सेनाका जवान उक्त कार्यमा खटिएका छन् ।
गत वर्ष पनि सेनाकै टोलीले भत्केको गाइड बण्ड पुनर्निर्माणको कामदेखि नदीको धार परिवर्तनको काम गरेको थियो । अहिले पनि असारमा आएर फेरि गाइड बण्ड जोगाउनेदेखि नदीको धार परिवर्तनको काम भइरहेको हो । अहिले नदीको धार परिवर्तन गरेर बीचमा बगाइएको छ ।
महाकाली पुल योजना कार्यालयका अनुसार करिब ४ सय मिटर लामो च्यानलाइजेशन गरेर नदीको धार परिवर्तन गरिएको हो । ‘असार २५ सम्म सबै काम सक्ने लक्ष्य राखेका छौं, खाल्डो भर्ने काम सकिए पनि सेनाले लञ्चिङ बनाउने काम मात्रै बाँकी रहन्छ,’ सवइन्जिनियर रानाले भने, ‘त्यसका लागि पनि बोल्डर ल्याउनेदेखि अन्य सामाग्री तयारी अवस्थामा छन् ।’
अहिले उक्त कार्य पुल योजना कार्यालयले नै गरिरहेको हो । पुल योजना कार्यालय प्रमुखको जिम्मेवारी पनि सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख राजेश यादवलाई नै दिइएको छ ।
असार २५ अगावै महाकालीमा ठूलो बाढी आएमा उक्त कार्यमा अवरोध सृजना हुने देखिन्छ । धार परिवर्तन गरिएको नदी फेरि गाइडबण्ड छेउमै बगेर काम गर्न नै नसकिने अवस्था समेत आउन सक्छ । यस कारण उक्त क्षेत्रमा धुमधामका साथ काम भइरहेको प्राविधिकहरु बताउँछन् ।
महाकाली नदीमा चार लेनको पक्की पुल निर्माणको काम सम्पन्न भइसकेको छ । चार वर्षदेखि नै पुलमा आवागमन पनि सुरु भइसकेको छ । पुलको दुवैतर्फ निर्माण हुने पोखरीको गाइड बण्ड र पहुँच मार्गको काम भने अझै पूरा हुन सकेको छैन । उक्त क्षेत्रमा महाकाली नदीको चौडाइ २ किलोमिटर छ । पुलको लम्बाइ ८ सय मिटर मात्रै भएकाले दुवैतर्फ ६/६ सय मिटर चौडाइ र २८ सय मिटर लम्बाइका पोखरी निर्माण भइरहेका हुन् । उक्त पोखरीको गाइड बण्ड डिजाइन र भेरिएसनलगायतको समस्याका कारण हालसम्म निर्माण कार्य पूरा हुन नसकेको हो ।
सुरुमा तयार पारिएको डिजाइन अनुसार गाइड बण्डमा बोल्डरको प्रयोग गर्नुपर्ने थियो । तर निर्माण कम्पनीले बोल्डर नपाएपछि डिजाइन परिवर्तन गरेर पल्म्ब कंक्रिटको बनाइयो । तर उक्त सडक डिजाइन विभागबाट स्विकृत भएन । मौखिक सहमतिका आधारमा भेरिएसन पनि नभई निर्माण कम्पनीले काम गर्यो । महाकालीको बाढीले गाइड बण्ड भत्काए पनि फेरि डिजाइन परिवर्तनको कुरा उठ्यो ।
विभागले पुल निर्माण कम्पनी कुमार श्रेष्ठ सिफईसी जेभीसँगको ठेक्का पनि तोडेको छ । उक्त विवाद नेपाल मध्यस्थता काउन्सिलमा बिचाराधीन रहेकै अवस्थामा विभागले एकतर्फी ढंगले ठेक्का तोडेको हो । ठेक्का तोडपछि पुल योजनाको बाँकी काम झनै अन्यौल बनेको छ ।
