अभ्यासका क्रममा ग्रिनेड पड्काउने क्रममा सहसेनानीसहित दुई सैनिक घाइते भएका हुन् ।
धनगढी — कैलालीमा सैन्य तालिमका क्रममा ग्रिनेड पड्किँदा सहसेनानीसहित दुई सैनिक घाइते भएका छन् । कैलालीको मोहन्याल गाउँपालिका-७ स्थित जालपा सामुदायिक वन क्षेत्रमा फायरिङका क्रममा ग्रिनेड पड्काउने क्रममा दुई जना सैनिक घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार बिहीबार बिहान सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोराङ्गे ब्यारेक चिसापानीबाट सञ्चालन गरिएको फायरिङ अभ्यासका क्रममा ग्रिनेड बिस्फोट भएको हो । उक्त विस्फोटबाट सहसेनानी हिमराज जोशी र हुद्दा हिमालविक्रम विष्ट घाइते भएका छन् ।
विष्टको दाहिने हातको हत्केलासहित शरीरका अन्य भागमा छर्रा लागेको प्रहरीले जनाएको छ । सहसेनानी जोशीको शरीरमा पनि छर्रा लागेको छ । घाइते दुवै जनाको गोराङ्गे ब्यारेकमै उपचार भइरहेको डीएसपी तिमिल्सिनाले बताए ।
