सुदूरपश्चिममा बजेट संशोधन नगरे सरकार छाड्ने एमालेको चेतावनी

सुदूरपश्चिममा संयुक्त सरकारको सहमतिअनुसार बजेट निर्माण नभएको भन्दै एमालेले संशोधन नभए सरकारबाट बाहिरिने निर्णय गरेको छ।

असार ९, २०८३

अर्जुन शाह

UML warns of leaving government if budget is not revised in Sudurpaschim

धनगढी — सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष ०८३/८४ का लागि प्रस्तुत गरेको बजेट संशोधन नगरे एमालेले सरकार छाड्ने निर्णय गरेको छ ।

एमालेको साझेदारीमा कांग्रेस नेतृत्वको सरकार छ । एमाले संसदीय दललेसमेत यसअघि बजेट संशोधन प्रस्ताव प्रदेश सभामा दर्ता गर्ने निर्णय गरिसकेको छ ।

प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम इन्चार्ज दामोदर भण्डारीको प्रमुख आतिथ्यतामा बसेको बैठकले प्रदेश सरकारले ल्याएको बजेटप्रति गम्भीर असहमति जनाउँदै संयुक्त सरकारको सहमति, साझा नीति तथा कार्यक्रमअनुसार बजेट निर्माण नगरिएको भन्दै संशोधनको अडान राखेको हो । बजेटमा कांग्रेसले एकलौटी गर्न खोजिएको एमाले बैठकको निष्कर्ष छ ।

बैठकले संयुक्त सरकार सञ्चालनका क्रममा भएका सहमतिहरूको सम्मान गर्दै बजेट संशोधनको माग गर्दै संसदीय दललाई निर्देशन दिने निर्णय गरेको छ । ‘प्रदेश कमिटिबाट सो विषयमा संसदीय दललाई निर्देशन दिने र संशोधन नगरिएमा संयुक्त सरकारमा सहभागी हुन नसक्ने निर्णय गरिएको छ,' एमाले प्रदेश प्रचार तथा प्रकाशन विभाग प्रमुख भागरथी विष्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully