गर्मी बढेपछि कञ्चनपुरका बेदकोट र भीमदत्तका विद्यालय बन्द

कञ्चनपुरमा एक सातायता गर्मी अत्यधिक बढेको छ ।

असार ८, २०८३

रासस

Schools in Bedkot and Bhimdatta, Kanchanpur, closed due to rising heat

दोधारा चाँदनी (कञ्चनपुर) — अत्यधिक गर्मी बढेपछि कञ्चनपुरको बेदकोट नगरपालिकाले चार दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । 

नगरपालिकाले मौसम प्रतिकूलताका कारण विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै भोलि मंगलबारदेखि शुक्रबारसम्म चार दिनका लागि नगरभित्र रहेको सबै विद्यालयमा बिदा गरिएको प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले जानकारी दिए ।

भीमदत्त नगरपालिकाले पनि अत्यधिक गर्मी बढ्दै गएपछि सामुदायिक तथा संस्थागत विद्यालयमा १२ दिन बिदा दिने निर्णय गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमका अनुसार यही असार ८ गतेदेखि असार १९ गतेसम्म गर्मी तथा वर्षे बिदा एकमुष्ट मिलाएर विद्यालयमा बिदा दिने गर्ने निर्णय गरिएको हो ।

कञ्चनपुरमा एक सातायता गर्मी अत्यधिक बढेको छ । मौसम पूर्वानुमान महाशाखाले तराईका जिल्लामा आगामी तीन दिनसम्म तातो लहर चल्ने सम्भावना भएकाले सतर्क रहन आग्रह गरेको छ ।

रासस

Link copied successfully