वडाध्यक्षमाथि हातपात गर्ने पत्रकार महासंघबाट निलम्बित 

नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले पदीय मर्यादा र आचरणविपरीत कार्य गरेको भन्दै ऐश्वर्या कुँवरलाई शाखा सदस्य पदबाट निलम्बन गरेको हो ।

असार ८, २०८३

भवानी भट्ट

Journalist who assaulted ward chair suspended by Federation of Nepali Journalists

कञ्चनपुर — कञ्चनपुरमा वडाध्यक्षमाथि हातपात गर्ने पत्रकारलाई निलम्बन गरिएको छ । 

नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले पदीय मर्यादा र आचरणविपरीत कार्य गरेको भन्दै ऐश्वर्या कुँवरलाई शाखा सदस्य पदबाट निलम्बन गरेको हो । 

शाखाको सोमबारको बैठकले वडाध्यक्षमाथि हातपात गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शाखा सचिव कुन्दन पाण्डेयद्वारा हस्ताक्षरित विज्ञप्तिमा पत्रकार आचासंहिताको पूर्ण पालना गर्न समेत सबै सञ्चारकर्मीमा आग्रह गरेको छ । 

आइतबार दिउँसो महेन्द्रनगरको होटेल स्वीट ड्रीममा वाल क्लबका बालबालिकाको क्षमता अभिवृद्धि तथा लागुऔषधसम्बन्धी सचेतना कक्षाहरु सञ्चालन भइरहेको बेला पत्रकार कुँवरले भीमदत्त नगरपालिका १८ का वडाध्यक्ष रविन्द्र देवकोटामाथि हातपात गरेकी थिइन् । दुवैजनाबीच वादविवाद भइरहेका बेला कुवँरले देवकोटमाथि हातपात गरेकी हुन् । 

पत्रकार कुँवरलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको छ । वडाध्यक्षले उनीविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा दिएका छन् । उक्त मुद्दा दर्त्ता गरेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

मुलुकी अपराध संहिता २०७४ अनुसार कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानुनी अधिकार नभएको स्थानमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका र शारीरिक रुपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यस्तो गर्न नहुने उल्लेख छ । त्यस्तो गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा १० हजार जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको छ ।

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully